राष्ट्रपतिका सल्लाहकारमा धमाधम ‘हाइप्रोफाइल’ नियुक्ति, सुनिल थापा प्रमुख राजनीतिक सल्लाहकार बन्दै – Nepal Press

राष्ट्रपतिका सल्लाहकारमा धमाधम ‘हाइप्रोफाइल’ नियुक्ति, सुनिल थापा प्रमुख राजनीतिक सल्लाहकार बन्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकार टीममा प्रभावशाली राजनीतिक व्यक्तिहरू समेटिने भएका छन् ।

अमेरिका र बेलायतको राजदूत भइसकेका डा. सुरेशचन्द्र चालिसेलाई प्रमुख स्वकीय सचिव बनाएका पौडेलले पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर र राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्‍जीवी नेपाललाई सल्लाहकार नियुक्त गरिसकेका छन् ।

कुँवर कानूनी सल्लाहकार बनेका छन् भने नेपाल आर्थिक सल्लाहकार भएका छन् । उनीहरू दुवैजना कांग्रेसभित्र हाइ प्रोफाइल ‘प्रोफेसनल’ मानिन्छन् । कुँवर शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता र त्यसपछि प्रदेश प्रमुखसमेत भइसकेका व्यक्ति हुन् ।

उनका भाइ वसन्त कुँवरले पनि देउवाकै जोडबलमा नेपाल प्रहरीको आईजीपी नियुक्ति पाएका छन् । प्रमुख स्वकीय सचिव चालिसे कुनै बेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकार समेत थिए ।

यीभन्दा पनि हाइ प्रोफाइल नेतालाई राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकार नियुक्तिको तयारी भइरहेको शीतल निवास स्रोतले जनाएको छ । ती हाइ प्रोफाइल हुन् कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापा ।

पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा सुनिल राप्रपाबाट कांग्रेस प्रवेशपछि सहमहामन्त्री समेत भएका थिए । गत निर्वाचनमा एमालेका राजेन्द्र राईसँग धनकुटामा पराजित भएपछि राजकीय जिम्मेवारीबाट वञ्चित भएका थापालाई प्रमुख राजनीतिक सल्लाहकार बनाउन कांग्रेस सभापति देउवाले राष्ट्रपति पौडेलमाथि दबाब बढाएका छन् ।

थापाको नियुक्ति नेपाल र कुँवरसँगै बुधबार नै हुने भनेर बनिसकेको नियुक्तिपत्र उनको हातमा भने परेको छैन । राष्ट्रपतिको चाहनाभन्दा पनि देउवाको दबाब र प्रभावका कारण थापाको नियुक्ति हुन लागेपनि तत्कालै सो निर्णय सार्वजनिक नहुने शीतल निवास स्रोतको दाबी छ ।

स्रोतले भन्यो, ‘सभापति देउवाको दबाब र प्रभावलाई शिरोधार्य गर्दै राष्ट्रपतिले सूर्यबहादुर थापाका छोरालाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निश्चित छ तर तत्काल सार्वजनिक नगर्ने भन्ने छ । सायद केही समय अझै लाग्छ होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर