त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुखमाथि अनेरास्ववियूका विद्यार्थीको आक्रमण – Nepal Press

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुखमाथि अनेरास्ववियूका विद्यार्थीको आक्रमण

प्राध्यापक संघ र अनेरास्ववियुले गरे कारबाहीको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीमाथि आक्रमण गरेका छन् ।

बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले आयोजना गरेको उच्च स्तरीय बैठकमा पूर्व निर्धारित मितिमा स्ववियू निर्वाचन सम्पन्न हुन नसकेका त्रिविका क्याम्पसमा निर्वाचन गर्न छलफल गर्ने क्रममा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा रहेको समूहले विद्यार्थी कल्याण तथा खेलकुद निर्देशक तथा स्ववियू निर्वाचन समितिका सदस्य सचिव प्रा.अधिकारीमाथि गरेको आक्रमण गरेको हो ।

त्रिविको स्ववियु निर्वाचन गर्न बाँकी आङ्गिक तथा सामुदायिक क्याम्पसहरुमा निर्वाचन सम्पन्न गर्न सहजीकरण गर्नका लागि अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको नेतृत्वले छलफल गरेको थियो ।

छलफलपश्चात स्थगित भएको क्याम्पसहरुमा विश्वविद्यालयको निर्वाचन निर्देशिका बमोजिम १० दिनभित्र निर्वाचन सम्पन्न गर्न आवश्यक सहजीकरण गर्न त्रिवि उपकुलपति समक्ष भेटेर अनुरोध गर्न समय माग गरिएको थियो ।

अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको अध्यक्षहरुसहित त्रिवि उपकुलपति प्रा .डा. धर्मकान्त बास्कोटासँग बैठक बसिरहेको बेला एक्कासी अनेरास्ववियूका अध्यक्ष पराजुलीको नेतृत्वमा आएको समूहले बैठक हल भित्र प्रवेश गरी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख अधिकारीमाथि अपशब्द बोल्दै पानीको बोतल, सिसाका गिलास र कुर्सी प्रहार गरी दुर्व्यवहार गरेको गरेको हो ।

यस्तै नेपाल प्राध्यापक संघले विश्वविद्यालय जस्तो गरिमामय संस्थामा यस्ता अभद्र र अमर्यादित आक्रमण भइरहनु निन्दनीय कार्य भएको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै यस्ता आपराधिक क्रियाकलापमा संलग्न दोषी उपर प्रचलित कानून बमोजिमको आवश्यक कारबाही अगाडि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,‘ शैक्षिक संस्थाभित्र विविध समस्याहरूलाई शान्तिपूर्ण तरिकाले वार्ता र समझदारीको माध्यमबाट समाधानको उपाय खोजिनु पर्नेमा प्राज्ञिक क्षेत्रमा संलग्न आफ्ना गुरूवर्गमाथि नै यसरी भौतिक रूपबाट आक्रमण गर्नु दुःखद विषय हो । यस्ता आपराधिक क्रियाकलापमा संलग्न दोषी उपर प्रचलित कानुन बमोजिमको आवश्यक कार्यवाही अगाडि बढाउन सम्बन्धित निकायसँग जोडदार माग समेत गर्दछ ।’

यसैगरी एमाले निकट अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र मुलधारका मुख्य विद्यार्थी संगठनको नेतृत्वको सामुन्ने स्ववियु निर्वाचन सम्पन्न गर्न विश्वविद्यालयको दायित्व बोकेको प्राध्यापकमाथि दुर्व्यवहारको घटनाले दु:खित बनाएको बताएको छ ।

पराजित मानसिकताबाट गरिएका यस्ता हर्कतले उक्त संगठनको निर्वाचन प्रतिको असलियत नाङ्गिएको अनेरास्ववियुका अध्यक्ष समिक बडालको भनाइ छ ।

अनेरास्ववियुले दोषीलाई तत्काल पक्राउ गर्न र आवश्यक सुरक्षा प्रबन्ध सहित निर्वाचन हुन बाँकी क्याम्पस रुमा निर्वाचन सम्पन्न गराउन सरकार समक्ष माग गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘राज्य संरक्षित भएर यस्ता खाले कानून हातमा लिने हर्कत कायम रहे विश्वबिद्यालय जोगाउन अनेरास्ववियु अप्रिय कदम उठाउन बाध्य हुनेछ, परिस्थितिले सिर्जित परिणामको जिम्मेवार स्वयम नेपाल सरकार हुनेछ ।’

त्रिभुवन विश्वविद्यालयको ६२ आंगिक क्याम्पसहरूमध्ये ४५ आगिक क्याम्पसहरु र करिब ३०० सामुदायिक क्याम्पसहरुमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । विश्वविद्यालयको घोषित मत परिणामबाट अनेरास्ववियु पहिलो भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर