ग्लोबल मनी विकमा ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता प्रवर्द्धन सम्पन्न – Nepal Press

ग्लोबल मनी विकमा ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता प्रवर्द्धन सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा-विद्यार्थीहरूमाझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरेको ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिकाअनुरुप हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको एघारौं संस्करण ग्लोबल आइएमई बैंकले चैत्र ६ देखि १२ गतेसम्म सप्ताहव्यापी प्लान योर मनी, प्लान्ट योर फ्युचरको नारासहित सम्पन्न गरेको हो ।

ग्लोबल आइएमई बैंकले विभिन्न स्कूल तथा कलेजका हजारौं विद्यार्थीको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।

यस अभियानअन्तर्गत बैंकले बैंकिङ सेवा तथा वित्तीय बजारलगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । जसअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन भएका छन् ।

साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृश्य सामग्रीहरु पनि प्रसारण गरेको छ ।

युवा-विद्यार्थीहरुलाई बैंकका शाखा कार्यालयहरुको अवलोकन एवम् साक्षात्कार गराउने कार्यक्रमसमेत विभिन्न ठाउँमा आयोजना गरिएको छ । सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलतः किशोरकिशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ थालिएको अभियान हो ।

तसर्थ बैंकले पनि यो अभियान सुरु भएदेखि नै प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकको संयोजकत्वमा वित्तीय चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी बैंकिङ शिक्षाको प्रचारप्रसार गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर