मिटरब्याज पीडितको दोस्रो खेमाद्वारा सरकारको निर्णयप्रति खेद, २० गतेबाट माइतीघरमा बस्ने – Nepal Press

मिटरब्याज पीडितको दोस्रो खेमाद्वारा सरकारको निर्णयप्रति खेद, २० गतेबाट माइतीघरमा बस्ने

काठमाडौं । मिटरब्याजलाई ‘अपराध’ मान्ने गरी सरकारले गरेको निर्णयप्रति मिटरब्याजपीडितको दोस्रो खेमाले खेद प्रकट गरेको छ । ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति’ को नाममा विज्ञप्ति जारी गर्दै सरकारको निर्णयमा आपत्ति जनाएको हो ।

मिटरब्याजको मुद्दामा सामाजिक अभियन्ता र राजनीतिक कार्यकर्ताका दुई बेग्लाबेग्लै समूह सक्रिय छन् । एउटा समूहले केही मिटरब्याजीलाई पैदल हिँडाएर काठमाडौं ल्याएको छ । काठमाडौं ल्याइएका पीडितलाई खुलामञ्चमा शिविर बनाएर राख्न खोजिए पनि यो समूह सफल भएन । अहिले माइतीघरमा उनीहरुलाई धर्नामा राखिएको छ ।

मिटरव्याजीको आन्दोलनले राष्ट्रिय मिडियामा चर्चा पाएपछि मन्त्रीपरिषद बैठकले हिजो मिटरब्याजमा ऋण दिनुलाई अपराध घोषित गरेर मुलुकी अपराध संहितामा सम्बोधन गर्ने निर्णय गरेको थियो । सरकारको यो निर्णयलाई मिटरब्याज पीडितको अर्को समूहले भर्त्र्सना गरेको हो ।

सो समूहको संघर्ष समितिका तर्फबाट जारी विज्ञप्तिमा अध्यक्ष अवधेश कुसवाहले हस्ताक्षर गरेका छन् । सरकारको झूटो आश्वासनमा नपरी मिटरव्याजविरुद्धको निर्णायक आन्दोलनमा जुट्न विज्ञप्तिमा आह्वान गरिएको छ ।

‘मिटरब्याज केवल ठगी मात्र होइन, नेपालको असमान अर्थराजनीतिक संकटले निम्त्याएका विकराल समस्यालाई ठगीका रुपमा खुम्च्याएर प्राविधिक समाधान खोज्ने सरकारको रवैयाप्रति खेद प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

मिटरब्याजको प्राविधिकभन्दा कानूनी र राजनीतिक समाधान चाहिने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तत्काल आन्दोलनकारीसँग बारम्बार गर्ने राज्यस्तरीय बेइमानीको भण्डाफोर गर्दै तथाकथित मन्त्रिस्तरीय भन्दै निर्देशन तथा निर्णयको हौवा खडा नगरी किसानको जमिन फिर्ता गर्न, तमसुक खारेज गर्न साथै अन्यायपूर्ण ब्याज लिनेलाई कारबाही गरी व्यवहारिक रुपमा समस्या समाधान गरेको प्रमाण पेश गर्न हामी सरकारलाई चुनौति दिन चाहन्छौं ।’

समितिले ‘वास्तविक समाधानका लागि’ आगामी चैत २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा निर्णायक धर्नामा बस्ने घोषणा गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर