माओवादीमा अन्तरघातको कारण हारेँ, उपेन्द्रलाई हराउन जनमतमा आएको हुँ : कुशवाह (भिडिओ) – Nepal Press

माओवादीमा अन्तरघातको कारण हारेँ, उपेन्द्रलाई हराउन जनमतमा आएको हुँ : कुशवाह (भिडिओ)

सीके राउत मधेसी जनताको मुक्तिका लागि नयाँ विचारसहित उदाएको भनाइ

काठमाडौं । बारा २ मा उपेन्द्रसँग चुनाव लड्ने तयारीका साथ माओवादी छाडेर जनमत प्रवेश गरेका पूर्वमन्त्री शिवचन्द्र कुशवाहले सीके राउत मधेसी जनताको मुक्तिका लागि नयाँ विचारसहित उदाएको बताएका छन् ।

माओवादीभित्रको अन्तरघातको कारण मंसिर ४ मा आफूले थोरै भोटले चुनाव हारेको उनको भनाइ थियो । वैशाख १० को उपचुनावमा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि पार्टी परित्याग गर्न बाध्य भएको कुशवाहले बताए ।

गत निर्वाचनमा गठबन्धनबाट माओवादी उम्मेदवार बनेका कुशवाह करिब ३ सय मतान्तरमा जसपाका रामसहाय यादवसँग पराजित भएका थिए ।

‘पार्टीभित्र जनतालाई अधिकार र जनवाद दिने कुरा जति भयो, त्यत्ति नै गुट र अन्तरघात भयो । त्यो अन्तरघातकै कारण मैले त्यहाँ चुनाव जित्न सकिन,’ उनले भने ।

‘सीके राउतजी मधेसको मुक्तिका लागि नयाँ विचारसहित आइसकेपछि सप्तरीका जनताले उहाँलाई सम्मान गर्नुभयो र उपेन्द्र यादव पराजित हुनुभयो । बारा-२ मा उपनिर्वाचन हुँदैछ । त्यहाँका जनताको भावनाविपरीत सत्ताविना बाँच्नै नसक्ने उहाँको व्यवहार हामीले देखेका छौं । त्यसको सामनामात्रै होइन, त्यहाँबाट हराएर पठाउनका लागि म जनमत पार्टीमा प्रवेश गरेको छु,’, उनले भने ।

स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेपनि जनताको चाहना र आग्रहअनुसार जनमत रोजेको नेता कुशवाहको भनाई थियो ।

‘पार्टीभित्र ममाथि षड्यन्त्र र जालझेल भयो । हामीजस्तो क्षमतावानको कदर नगरेर हाम्रो पार्टीले अहिले उपेन्द्र यादवजीलाई नै समर्थन गरेर मलाई चुनावबाट वञ्चित गरेको छ । जनताको भावनाबाट वञ्चित गरेको छ । मैले स्वतन्त्रबाट लड्न खोजेको थिए तर, मेरो जनताले स्वतन्त्रबाट नलड्नु, कुनै पार्टी समात्नुस भनेपछि मैले जनताको भावना अनुरुप जनमत रोजे,’ रिपोर्टस क्लबमा उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर