सेल्फी लिँदै ओलीले भने- मृत्युपछि पनि माया अमर रहन्छ भन्ने अनुपम नमूना ‘तेजरानी महल’ – Nepal Press

सेल्फी लिँदै ओलीले भने- मृत्युपछि पनि माया अमर रहन्छ भन्ने अनुपम नमूना ‘तेजरानी महल’

पाल्पा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालिगण्डकीको किनारामा अवस्थित रानीमहलको नाम ‘तेजरानी महल’ हुनुपर्ने भन्दै नयाँ बहस सिर्जना गरेका छन् ।

बुधवार बिहान पाल्पाको रानी महल भ्रमणमा पत्नी राधिका शाक्यसहित गएका ओलीले आफ्नो सेल्फी फेसबुक पेजमा पोस्ट गर्दै ‘तेजरानी महल’ लेखेका छन् ।

उनले त्यहाँ उपस्थित पत्रकार,नेता कार्यकर्ता र सर्वसाधारणसँग पनि उक्त दरबारको नाम तेजरानी महल हुनुपर्थ्यो भने ।

ओलीले भने– वास्तवमा यस दरबारको नाम तेजरानी महल भन्नुपर्ने रहेछ । खड्ग शमशेरले रानी तेजकुमारीको निधनपछि उनकै स्मृति र मायामा बनाएको हुनाले तेजरानी ठिक हो । यो वास्तवमै मृत्युपछि पनि माया अमर रहन्छ भन्ने अनुपम नमूना हो र ज्वलन्त उदाहरण हो । यसलाई हामीले बचाएर राख्नुपर्छ । यसको ऐतिहासिक महत्त्व छ ।

ओलीले तेजरानी महलसँग धार्मिक,सांस्कृतिक र भावनात्मक सम्बन्ध जोडिएको बताए । अरू यस्ता संरचनाहरू राजा महाराजाहरूले उपहारस्वरूप वा रानीहरू जीवित हुँदै बनाउने गरेको भए पनि तेजरानी महल मृत्युपछि माया व्यक्त गर्न बनेको हुनाले प्रेमको उत्कृष्ट नमूना रहेको बताए ।

तत्कालीन श्री ३ वीर शमसेरका भाइ खड्ग शमसेर जसले काका रणद्दीपको हत्यापछि शासनको नेतृत्व गर्न खोज्दा पाल्पा लखेटिएका थिए उनैले रानी तेजकुमारीको स्मृतिमा यो दरबार बनाएका थिए ।

विसं १९५० सालमा शिलान्यास भई ४ वर्षमा बनेको यो रानी महल विशाल चट्टानमाथि पश्चिमा शैलीमा निर्मित छ ।

युयान शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा सो दरबार बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *