संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो: मन्त्री मोदी


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री मोदीले भने, ‘धेरै वर्षदेखि संघीय निजामती ऐन आउन सकेको थिएन, मैले पदभार ग्रहणको दिन नै संघीय निजामती ऐन ल्याउँछु भनेको थिएँ । अहिले सहमतिका लागि कानून र अर्थमा गइसकेको छ ।’
मन्त्री मोदीले संसदको जारी अधिवेशनमा नै ऐन टेबुल हुनेसमेत बताए । ‘संघीय निजामती ऐन अगाडि बढिसक्यो, संसदको यही अधिवेशनमा ऐन टेबुल गर्ने मेरो तयारी छ’, उनले भने ।
मन्त्री मोदीले ऐनमा सबैका भावना र सुझावलाई समेट्ने उद्देश्यले सरोकारवाला पक्षसँग छलफल गरेकोसमेत बताए ।
मन्त्री मोदीले सुशासन कायम गर्ने विषय नै आफ्नो मुख्य प्राथमिकताको विषय भएकोसमेत बताए । आफू मन्त्री भएपछि कुनै पनि स्थानीय तहलाई निमित्त कार्यकारी अधिकृत दिने निर्णय नगरेको बताउँदै उनले भने, ‘अहिले जहाँ जहाँ निमित्त छन्, उनीहरुलाई पनि हामी हटाइरहेका छौं ।’
मन्त्री मोदीले सेवाग्राहीले प्रश्न उठाउन नपर्ने गरी सेवा प्रवाह दिनसमेत कर्मचारीहरुलाई निर्देशन दिए ।