दीपकको गोलमा भुटानविरुद्ध हारबाट जोगिँदै फाइनल पुग्यो नेपाल – Nepal Press

दीपकको गोलमा भुटानविरुद्ध हारबाट जोगिँदै फाइनल पुग्यो नेपाल

काठमाडौं । सब्सटिच्युट खेलाडी दीपक राजसिंह ठकुरीले इन्जुरी समयमा बराबरी गोल फर्काउँदा नेपाल प्रधानमन्त्री थ्रि नेसन्स कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानसँग हारबाट जोगिँदै फाइनल पुगेको छ ।

फाइनल पुगेसँगै नेपालले उपाधिका लागि लाओससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा सम्पन्न खेलको १९औं मिनेटमा तेन्जिङ नेर्बुले गरेको गोलमा भुटानले अग्रता लिएको थियो । दावा छिरिङको कर्नरमा ६ यार्ड बक्स नजिकै रहेका तेन्जिङले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

खेलको निर्धारित समय १-० गोलको अग्रता लिएको भुटान इन्जुरी समयमा सम्हालिन सकेन । नेपालका सब्सिट्युट खेलाडी दीपक राजसिंह ठकुरीले इन्जुरी समयमा नेपालका लागि बराबरी गोल फर्काएका थिए ।

उनले, निशान खड्काको कर्नरमा अनन्त विष्टले मिलाईदिएको बलमा दीपकले हेडरमार्फत सुन्दर फिनिस गर्दै नेपाललाई हारबाट जोगाएका थिए । दीपक खेलको ५१औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । लाओसविरुद्धको खेलबाट डेब्यू गरेका दीपकको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

यसअघि, १२ खेलमा भुटानविरुद्ध शत प्रतिशत जित निकालेको नेपालले पहिलो पटक बराबरी खेलेको हो ।

त्यसअघि, भुटानका कप्तान चेन्चो ग्याल्जेनले ११औं मिनेटमा पेनाल्टी एरिया भित्र बल नियन्त्रणमा लिएर ६ यार्ड बक्स भित्र कट् इन गर्दा अनन्त तामाङले बल खोसेर क्लियर गरेका थिए ।

भुटानका निमा वाङ्दीले ३१औं मिनेटमा बाँयातर्फबाट गरेको प्रहार विकाश खवासलाई लागेर गोल्लाइन नजिकै पुगेको बल किरण चेम्जोङले बचाएका थिए ।

अनन्त तामाङले ३५औंं मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहार क्रसबार माथिबार बाहिरिएको थियो ।

एरिक विष्टले ७०औं मिनेटमा दिएको क्रसमा दीपक राजसिंह ठकुरीले पेनाल्टी एरियाभित्रबाट गरेको प्रहार क्रसबार माथि बाट बाहिरिदा नेपालले बराबरी गोल फर्काउने उत्कृष्ट मैका खेर फालेको थियो ।

रोहित चन्दको पासमा मनिष डाँगीले ७७औं मिनेटमा ६ यार्ड बक्स नजिकै बाट गरेको प्रहार फ्रेममा परेन ।

पहिलो खेलमा लाओसलाई २-० गोलको नतिजामा पराजित गरेको नेपाल दुई खेलमा चार अंकसहित शिर्ष स्थानमा रहेर फाइनल पुगेको हो । भुटानले यदी नेपाललाई हराएको भए लाओेसलाई गोल अन्तरले पछि पार्दै फाइनलमा स्थान बनाउने पक्का थियो ।

तर, अन्तिम समयमा सम्हालिन नसक्दा पहिलो पटक नेपालाई पराजित गर्ने अवसर भुटानले खेर फालेको थियो ।

तस्बिरहरु : गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *