कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला बढ्योः भुवन केसी (भिडिओ) – Nepal Press

कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला बढ्योः भुवन केसी (भिडिओ)

काठमाडौं । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुने क्रम बढेको बताएका छन् ।

चलचित्र विकास बोर्डले मंगलबार काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटी डेस्कबारे अन्तरक्रिया कार्यक्रममा उनले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढिरहेको बताएका हुन् ।

उनले प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौती थपेको बताए । कार्यकारी अध्यक्ष केसीले साइबर हमलाको समस्या समाधान गर्न विकास बोर्डले चलचित्र साइबर सेक्युरिटीसम्बन्धी डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको स्पष्ट पारे ।

साइबर सुरक्षालाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतीलाई सम्बोधन गर्न बोर्ड प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

‘हामीले नेपाली चलचित्रहरु अनलाइन लिक भएका प्रशस्त उदाहरण देखेका छौं । यसले चलचित्र उद्योगलाई ठूलो नोक्सान भएको छ । यसलाई हामीले बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने हुन्छ । नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतीलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिबद्ध छ’, उनले भने ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रुपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाए ।

उनले अनैतिक रुपमा भिडियो पोस्ट गर्नेहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने बताए ।

त्यस्तै सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले चलचित्रसम्बन्धी कानूनलाई नै बलियो बनाएर साइबर क्राइमका घटना कम गर्नुपर्नेमा जोड दिए ।

‘देशको कानूनलाई नै मजबुत पारेर अघि बढ्यो भने साइबर क्राइमका घटनाहरु सहज रुपमा समाधान गर्न सकिन्छ’, उनले भने, ‘नेपालमा जति पनि फिल्म बन्छन्, त्यो स्वीकृतिको मापदण्ड बनाएर अघि बढ्नसके अझै राम्रो हुन्छ ।’

कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले प्रत्यक्ष असर परेका चलचित्रकर्मीहरुले उजुरी दिन कञ्जुस्याइँ गर्नु नहुने बताए ।

साइबर अपराध कम गर्न दर्शकहरुमा सचेतना जगाउन आवश्यक रहेको बताउँदै उनले भने, ‘प्रो-एक्टिभ काम तपाईंहरुले गर्नुहोस् । हामी रि-एक्टिभ काम गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर