विराटनगरका नालामा शाैचालयको मल मूत्र – Nepal Press

विराटनगरका नालामा शाैचालयको मल मूत्र

विराटनगर । वर्षायाममा डुबान नहोस् भनेर नाली सफाई अभियानमा लागेको विराटनगर महानगरले सफाइको क्रममा नालामा सिधै मल मूत्र मिसाएको भेटिएको छ ।

घरबाट निस्कने सौचालयको फोहोर नालामा मिसाएको भेट्टाएपछि महानगरले धरधनीलाई कारबाहीको प्रक्रिया समेत अगाडि बढाएको छ ।

विराटनगर महानगर बजार क्षेत्र वर्षा याममा नाला जाम हुँदा डुबानमा पर्ने गरेको छ ।

डुबान समस्या समाधान गर्न सफाइ गर्ने क्रममा शाैचालयको फोहोर नालामा हाल्ने गरेको भेटिएको महानगरले जनाएको छ ।

विराटनगर रोडशेषस्थित श्रीकृष्ण गौ सदनले शौचालयको मलमूत्र सिधै नालीमा मिसाएको पाइएको छ ।

महानगरको सरसफाई टोलीले नाला सफा गर्ने क्रममा शौचालयको मलमूत्र नालीमा मिसाइएको भेटिएको हो ।

सरसफाई शाखा प्रमुख पुनम दाहालले महानगरले ५ सयदेखि ५० हजार रुपैयाँसम्मको कारबाहीको अधिकार आफूलाई दिएको बताए । उनले शौचालयको मलमूत्र नालामा मिसाउने गौ सदनका घरधनीलाई कानुनअनुसार कारबाही गरिने जानकारी दिए ।

गौ सदनका घरधनी प्रेमप्रकाश उप्रेतीले आफूबाट गल्ती भएको स्वीकारे । उनले मलमूत्र भएको नाला सरसफाईकर्मीलाई लगाएर सफा गर्ने बताए । उनले अबदेखि यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

‘म आज नै मान्छे बोलाएर नाला सफा गर्न लगाउँछु’, उप्रेतीले भने, ‘गल्ती भयो अबदेखि यस्तो गल्ती हुँदैन ।’ शौचालयको मलमूत्र नालामा मिसाउने व्यक्तिलाई ५ सयदेखि १ लाख रुपैयाँसम्म कारबाही हुने कानूनी व्यवस्था छ ।

महानगरपालिकाले वर्षाको समयमा हुने डुबान समस्या समाधानका लागि नाला सफाईलाई तीव्रता दिएको छ । वर्षायाम सुरु भएपछि नाला सफा गर्दा प्रभावकारी नहुने भएकाले हिउँदमै सफा गरिएको दाहालले बताए ।

उनले वर्षा सुरु हुनु अगाडि नै महानगर क्षेत्रभित्रका सबैजसो नाला सफा गरिसक्ने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *