मिटरब्याज पीडितको आन्दोलनमा राजनीतिक घुसपैठ ! ‘राजावादी’ भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी (भिडिओ) – Nepal Press

मिटरब्याज पीडितको आन्दोलनमा राजनीतिक घुसपैठ ! ‘राजावादी’ भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी (भिडिओ)

काठमाडौं । विभिन्न माग राखेर धर्ना बसिरहेका मिटरब्याजीहरुप्रति ऐक्यवद्धता जनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही आज मध्यान्न माइतीघर पुगे । तर, उनीहरुले त्यहाँ शाही धर्नास्थलमा पुग्दा धर्नामा बसेकाहरूमध्ये केहीले उनीविरुद्ध नाराबाजी र होहल्ला गरेका थिए । उनीहरूले शाहीलाई ‘राजावादी’ र ‘सामन्तवादी’ भन्दै विरोध गरे ।

‘हामीलाई राजावादीको समर्थन चाहिँदैन’ भन्दै नाराबाजी भएपछि शाहीले आफ्नो भनाइ राखेका थिए । उनले आफू जनप्रतिनिधि भएको नाताले पीडितहरूको समस्या सुन्न र ऐक्यबद्धता प्रकट गर्न आएको बताए । यो राजनीतिक मुद्दा नभएकाले राजनीतिकरण नगर्न पनि उनले आग्रह गरे । तर, भिडमा रहेका केही उत्तेजक व्यक्तिहरूले झन् चर्को नाराबाजी गरेपछि शाही त्यहाँबाट पन्छिए ।

शाही भिडबाट निस्केपछि केही वास्तविक पीडितहरू उनीसँग पुगेर दु:ख व्यक्त गरेका थिए । ‘हामीलाई राजनीति मतलब छैन, तपाईँ समर्थन गर्न आउँदा नाराबाजी भएकोमा दुखी छौँ,’ एक पीडितले भनेका थिए ।

यस विषयमा नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै शाहीले आफूविरुद्ध नाराबाजी गर्नेहरू वास्तविक पीडित नभएको बताए ।

‘पीडितहरूले नाराबाजी गरेकै होइनन्, जसले गरे उनीहरू राजनीतिक कार्यकर्ता थिए,’ उनले भने, ‘मिटर ब्याज पीडितहरूको धर्नामा माओवादी कार्यकर्ताको घुसपैठ भएको रहेछ ।’

शाहीको आरोपबारे हामीले क्रस चेक गर्दा माओवादी केन्द्र तथा वैद्य र विप्लवनिकट माओवादी कार्यकर्ताहरूले यो आन्दोलनको अगुवाइ गरिरहेको पाइएको छ । साथै, नेकपा एकीकृत समाजवादीका व्यक्तिहरू पनि धर्नामा देखिएका छन् । शाहीविरुद्ध उनीहरूले नै आक्रामक नाराबाजी गरेका हुन् ।वास्तविक मिटरव्याज पीडितलाई ज्ञानेन्द्र शाही कुन पार्टीका हुन् भन्ने पनि सायदै थाहा होला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर