पञ्चायतविरुद्ध लुम्बिनी कमाण्ड गरेका ‘कमरेड अविराम’ ले किन रोजे ५ दिने आवासीय भ्रमण ? – Nepal Press

पञ्चायतविरुद्ध लुम्बिनी कमाण्ड गरेका ‘कमरेड अविराम’ ले किन रोजे ५ दिने आवासीय भ्रमण ?

रुपन्देही । पञ्चायतविरुद्धको आन्दोलनमा पार्टीबाट तत्कालीन लुम्बिनी अञ्चलको कमाण्डरमा खटाइएका थिए केपी शर्मा ओली । ०४५।४६ सालमा यो क्षेत्रमा उनले बनाएका सेल्टर, तत्कालीन समयमा उनलाई साथसमर्थन दिने नेता, कार्यकर्ता, शुभेच्छुकहरूलाई अहिले ओलीले विशेष समय दिएर उनीहरूकै जिल्लामा पुगेर भेटघाट थालेका छन् । सधैँ व्यस्त समयतालिकामा रहने उनको भ्रमण अहिले लुम्बिनीका ५ जिल्लामा आवासीयरूपमै बसेर बिताउन थालेपछि पुराना नेताकार्यकर्तामा ऊर्जा थपिएको छ ।

पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान लिएर चैत ११ गते रुपन्देही हुँदै कपिलवस्तुका दुई वटा कार्यक्रम सकेर त्यो राति चन्द्रौटामा बसे । लामो समय सांगठनिक हिसाबले कमजोर मानिएको कपिलवस्तुमा एक वर्षमा उनको तेस्रो भ्रमण हो । तराई केन्द्रित प्रभावशाली नेताहरूलाई पार्टी प्रवेश गराउन यसअघि दुईपटक ठूलो कार्यक्रम लिएर ओली कपिलवस्तु आएका थिए । अहिले पनि विशेष समय दिएर त्यहाँका पुराना नेता कार्यकर्तालाई सम्बोधन गरे र नयाँ नेता कार्यकर्तालाई पार्टीका योजना र आगामी रणनीति सिकाए । कपिलवस्तुमा अहिले आएको नतिजाले आफूलाई हौसला मिलेको उनले सम्बोधनकै क्रममा भनेका थिए ।

१२ गते उनी गोरुसिंगे, पथ्थरकोट हुँदै बाटोमा नेताकार्यकर्तालाई भेट्दै अर्घाखाँचीको सन्धिखर्कमा कार्यक्रम सम्बोधन गर्न पुगे । पुराना नेताकार्यकर्तालाई सम्मान गरे । कार्यक्रमपछि उनले त्यहाँको अर्घादेवी भगवतीको पूजा गरे र राति अबेरसम्म जिल्लाका पुराना नेताहरूलाई भेटे । अर्घाखाँचीमा स्थानीय र संघीय तथा प्रदेशको निर्वाचनको नतिजाप्रति सन्तोष रहेका उनले अन्य जिल्लालाई पनि अर्घाखाँचीबाट सिको गर्न सन्देश दिएका थिए ।

ओली १३ गते खन, खनदह, डाँडाकटेरी, छेडाको डाँटीमा नेताकार्यकर्ताको विशेष सम्मान ग्रहण गर्दै गुल्मीको तम्घासमा कार्यकर्ता भेला तथा प्रशिक्षणमा सम्बोधन गर्न पुगे । उनले त्यहाँ पनि जनआन्दोलनका समयमा पार्टीलाई योगदान दिएका नेता कार्यकर्ता र माओवादी युद्धमा प्रभावित पार्टीका नेता कार्यकर्ताको परिवारलाई सम्मान गरेका छन् ।

उनले हरेक जिल्लाका सम्बोधनमा मिसन ग्रासरुटको उद्देश्य भुत्ते भएको पार्टीको संगठनलाई चलायमान बनाउने र ५१ प्रतिशत पार्टीको बहुमत ल्याउने अबको मिसनमा लाग्न हरेक नेताकार्यकर्तालाई तयारी रहन उत्साहित बनाउँदै लगेका छन् ।

पत्नी राधिका शाक्यसहित उनको भ्रमण टोलीमा प्रदेशबाट पार्टीको विभिन्न जिम्मेवारीमा रहेका नेताहरू पुगेका छन् । अध्यक्ष ओलीले हरेक जिल्लामा रहेका विशेष पर्यटकीय क्षेत्रको अवलोकन गर्ने, स्थानीय व्यवसायीहरुलाई ऊर्जा थप्ने काम गरिरहेका छन् । गुल्मीमा पनि उनले कार्यक्रम सकाएर रेसुङ्गाको अवलोकन गरेका छन् । गुल्मीपछि उनी पाल्पाको आजको कार्यक्रम सम्बेधन गर्न आइपुगेका छन् । पाल्पामा पनि पुराना नेता कार्यकर्ता सम्मान गर्नेछन् । कार्यक्रमपछि रानीमहलको भ्रमण गर्नेछन् । १५ गते रुपन्देहीको कार्यक्रमलाई सम्बोधन गरेर मात्रै काठमाडौं फर्कने कार्यक्रम छ ।

‘म पार्टीको अध्यक्ष हुँ, मेरो हरेक जिल्लामा उत्तिकै जिम्मेवारी हो, तर अहिलेको मिसनमा मैले पञ्चायतविरुद्धको आन्दोलनमा विशेष जिम्मेवारी लिएर पार्टीले इन्चार्ज बनाएको साबिकको लुम्बिनी अञ्चलका जिल्लामा आवासीय हिसाबले यथार्थता बुझ्न आएको हुँ, म कुनै रमाइलो गर्न, घुम्न आएको हैन, पार्टीका जति सदस्य छन् उनीहरुको जिम्मेवारी, क्रियाशीलता चलायमान भएन, अब यसरी भुत्ते भएर पार्टी चल्दैन, विरोधीहरु सबै एकजुट भएको बेला सबै संगठनमा धार लगाउनुपर्ने छ, चलायमान बनाउनुपर्ने छ, अबको मिसन ५१ प्रतिशत एक्लै ल्याउने हो, यसैका लागि लुम्बिनीमा यसरी समय दिएको हुँ’, ओलीले आफ्नो भ्रमणबारे खुलाएका छन् ।

‘जनआन्दोलनअघि अविराम नामले म यहाँको विभिन्न जिल्लामा पुग्थेँ, त्यतिबेला मलाई र पार्टीलाई जोगाउने, संरक्षण गर्नेहरुलाई पनि ऊर्जा थप्ने मेरो उद्देश्य हो’, ओलीले भने ।

साबिक लुम्बिनीमा नेता ओलीले भूमिगत कालमा धेरै समय बिताएको क्षेत्र भएकाले पनि यो समयमा अध्यक्षले तत्कालीन समयमा आफूलाई साथ सहयोग दिने नेता, कार्यकर्ता, शुभेच्छुक तथा उनीहरूको परिवारलाई भेट्न चाहेको एमालेका नेता तथा पार्टी अनुशासन कमिटी उपाध्यक्ष नेत्र पन्थी बताउँछन् ।

‘इतिहासमा आफूले ठूलो संघर्ष गरेको ठाउँमा उहाँले विशेष महत्व दिएर आउनुभएको हो, उहाँको लागि सबै क्षेत्र नै विशेष हुन्छन् तर त्यो समयमा उहाँलाई विशेष साथ दिने व्यक्ति र स्थानमा उहाँले पार्टीलाई थप बलियोबनाउने गरी पार्टीका संगठन र कार्यक्रम अनुगमन गर्न धेरै समय दिनुभएकोजस्तो लाग्छ’, पन्थीले भने ।

नेकपा एमालेका पुराना नेता तथा रुपन्देहीको संस्थापक नेता देवेन्द्र घिमिरेले केपी ओलीमा संगठन निर्माण गर्ने, कार्यकर्ता परिचालन गर्ने अद्भूत क्षमता रहेका स्मरण गर्दै ओलीले लुम्बिनीको इन्चार्ज लिँदा आफू रुपन्देहीको इन्चार्ज भएकाले कार्यकर्ता परिचालन, उनीहरुको परिवारसमेतको संरक्षणमा विशेष ध्यान दिने बानी ओलीमा रहेको स्मरण गर्छन् ।

अहिलेको जस्तो सूचना प्रणाली थिएनन्, दस्तावेजका आधारमा पार्टी निर्माण गर्नुपर्ने थियो, सुरक्षा चुनौती उस्तै थियो, हरेक कार्यकर्ताको परिवारका सदस्यसँग घुलमेल भएर बस्नुपर्ने, संगठन निर्माण गर्नुपर्ने हुन्थ्यो, त्यसमा ओलीको विशेष क्षमता थियो घिमिरेले स्मरण गर्छन् ।

राष्ट्रियसभा सदस्य तथा पुराना नेता गोपाल भट्टराईले ४६ सालको जनआन्दोलनअघि लुम्बिनीको कमाण्डर रहेका नेता ओलीसँग योग्यता, क्षमता बुझेर जिम्मेवारी दिने शैली नै निकै महत्वपूर्ण भएको बताउँछन् ।

‘विरोधीसँग कडाईका साथ प्रस्तुत हुने, कार्यकर्ता र उनको परिवारसँग नरम भएर काम गर्ने गराउने तथा दिएको जिम्मेवारीको नतिजा मागिरहने भएका कारण उहाँको सांगठनिक दक्षता बढेको हो, लुम्बिनीमा उहाँले त्यसरी पार्टीलाई बलियो बनाउने जग बसाल्नुभएको हो, जनआन्दोलनमा बाममोर्चाबाट उहाँले नेतृत्व गर्नुभयो तुलनात्मकरुपमा लुम्बिनीले धेरै राम्रो सन्देश दिएको थियो, कार्यकर्ता परिचालनमा असाध्यै राम्रो रणनीति बनाउनसक्ने नेताको रुपमा मैले बुझेको छु’, नेता भट्टराईले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर