स्ववियु सभापति पुस्करको योजना- राजनीतिमा विज्ञ पनि हुन्छन् भन्ने भाष्य स्थापना – Nepal Press

स्ववियु सभापति पुस्करको योजना- राजनीतिमा विज्ञ पनि हुन्छन् भन्ने भाष्य स्थापना

काठमाडौं । पूर्ण छात्रवृत्तिमा सिभिल इन्जिनियरिङ गर्न थापाथली क्याम्पस छिर्दै गर्दा कैलालीका पुष्करविक्रम शाहीले सोचेकै थिएनन्, एक दिन उनी स्ववियु सभापति हुनेछन् । साढे १७ सय विद्यार्थीले आफूलाई सभापतिमा चुन्छन् भनेर उनले कल्पेकै थिएनन् । तर, गएको चैत ५ गते भएको निर्वाचनमा उनी सभापतिमा निर्वाचित भए ।

क्याम्पसमा छिरेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा सक्रिय शाहीको परिवारको राजनीतिमा कुनै साइनो र सम्बन्ध थिएन । तर, उनका पिता भने थोरबहुत राजनीतिप्रति चासो राख्थे । देश, काल र परिस्थितिसँग अपडेट रहने शाहीका पिता घरमा पनि राजनीतिका कुरा गरिरहन्थे । त्यसले शाहीमा सानैदेखि राजनीतिप्रति थोरबहुत चासो राख्थे । तर, सक्रिय विद्यार्थी राजनीति गर्नेबारे उनले कुनै योजना बनाएका थिएनन् ।

उनलाई मात्र इन्जिनियर बन्नु थियो र इन्जिनियरिङ क्षेत्रमै आफ्नो करियर बनाउनु थियो । इन्जिनियरिङको नेपालभर भएको प्रवेश परीक्षामा उनले ३५९ औं स्थानमा नाम निकाले । लगत्तै थापाथली क्याम्पसमा सिभिल इन्जिनियरिङको नियमिततर्फ पूर्ण छात्रवृत्तिमा पनि नाम निकाले ।

२०७५ सालमा क्याम्पस छिरेका शाहीमा राजनीतिप्रति चासो र लगाव त थियो । तर, उनलाई राजनीति कसरी गर्ने भन्ने ज्ञान भने थिएन । तर, क्याम्पस छिरेलगत्तै स्ववियु निर्वाचन हुने हल्ला र माहोलमा शाही जोडिएपछि विद्यार्थी राजनीतिको रङ उनमा पनि मिसियो ।

पढाइ सँगसँगै विद्यार्थी राजनीतिलाई सक्रिय रुपमा अघि बढाएका शाही अन्ततोगत्वा गएको जनवरीमा क्याम्पस एकाई कमिटीको सभापति चुनिए । ऊर्जा, जोश र नेतृत्व क्षमता भएका कारण आफूलाई संगठनको सभापति बनाइएको शाहीको भनाइ छ ।

उनी भन्छन्, ‘मेरो मुख्य प्राथमिकता पढाइ नै हो । तर, परिस्थितिले संगठनको नेतृत्व हाँक्ने जिम्मेवारी पनि आइलाग्यो । त्यसका लागि म तयार पनि थिएँ ।’

राजनीतिभन्दा ज्यादा इन्जिनियरिङ क्षेत्रबाटै देशको सेवा गर्ने चाहना थियो शाहीको । त्यसैको परिणति हो, अहिले सातौं सेमेस्टरसम्म आइपुग्दा पनि उनले दोहो¥याएर परीक्षा दिनुपरेको छैन र विद्यार्थी राजनीतिमा उनी निरन्तर सक्रिय रुपमा अगाडि बढिरहेका छन् ।

थापाथली क्याम्पसमा गएको स्ववियु निर्वाचनमा कुल १,७३८ मध्ये १,५५० मत खसेको थियो । शाही ६१९ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका प्रवीण थापा थिए ।

आफूले निर्वाचन जित्नुको कारणबारे शाही भन्छन्, ‘मलाई मतदाताले निर्वाचित गर्नुको एकै कारण हो, मैले गरेका कामहरु । ग्राउण्डमै राम्रो काम गरेकाले पनि विद्यार्थी साथीहरुले मलाई चुन्नुभएको हो ।’

अब आउने दुई वर्षे कार्यकालमा आफूले गरेका वाचा पूरा गर्ने बताउँछन् शाही । आफ्नो कार्यकालभरि यही नै केही प्रयास गर्दाखेरी धेरैथोक हुने रहेछ भन्ने प्रमाणित गर्ने पनि बताउँछन् । तर, क्याम्पसमा राजनीति हुने कुरालाई पनि उनी खासै राम्रो मान्दैनन् ।

शाही भन्छन्, ‘सबै कुरा व्यवस्थित छ भने क्याम्पसमा राजनीति हुनु हुँदैन भन्ने मेरो मान्यता हो । किनभने राजनीतिले पढाइमा राम्रो नतिजा दिँदैन । प्राविधिक क्याम्पस विज्ञ जनशक्ति उत्पादन गर्ने थलो भएकाले राजनीति नहुनुपर्ने हो । प्रशासन, कर्मचारीदेखि सबै व्यवस्थापन गर्न चाहिँ स्ववियु चाहिने रहेछ । त्यसैका लागि म निर्वाचित भएको हो ।’

यस विषयलाई आफ्नो कार्यकालमा जोडतोडका साथ उठाउने र समीक्षा गर्ने शाहीको योजना छ । २०७३ सालमा अखिल क्रान्तिकारीका प्रज्वल खत्रीले सभापति जितेका थिए । अखिलको हातबाट नेविसंघले नेतृत्व खोस्न सफल भएको दाबी शाहीको छ ।

अब शाहीको एकै योजना छ, राजनीतिमा राम्रा र शिक्षित अनि विज्ञ मान्छे पनि हुन्छन् भन्ने भाष्य स्थापित गर्ने । त्यसैका लागि पनि आफूले राजनीतिमा हात हालेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर