राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासीमा सम्मान – Nepal Press

राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासीमा सम्मान

रूपन्देही । क्रिकेट खेलमार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टीमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को बर्दघाटमा सम्मान गरिएको छ ।

बर्दघाटमा आयोजित एक कार्यक्रमबीच कप्तान पौडेललाई संघीय सांसद विनोद चौधरीले सम्मान गरे । सम्मान कार्यक्रममा सांसद चौधरीले कप्तान पौडेलले क्रिकेट खेलमार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भएको भन्दै प्रशंसा व्यक्त गरे ।

उनले क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धिले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने काम भएको बताए । उनले आफूले पनि खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कप्तान पौडेलले सम्पूर्ण नेपालीहरूको मायाले नेपाली क्रिकेट क्षेत्र र खेलाडी उत्साहित भएको बताए । उनले आफूहरूको अबको लक्ष्य विश्वकप छनोट भएको उल्लेख गरे । ‘अब हाम्रो एउटा मात्रै लक्ष्य जिम्बाबेमा हुने विश्वकप छनोट हो । त्यसमा पनि उत्कृष्ट प्रदर्शन गरेर विश्वकप खेल्ने नै हो’, उनले भने ।

उक्त अवसरमा स्थानीय युवा क्लबले पनि कप्तान पौडेललाई सम्मान गरेको हो । नवलपरासी बर्दघाट –१४ निवासी पौडेललाई यसअघि बर्दघाट नगरपालिकाले पनि सम्मान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर