‘सविनयी’ अनु शाहका अन्तरंग – Nepal Press

‘सविनयी’ अनु शाहका अन्तरंग

काठमाडौं । ‘द युगदेखि युगसम्म’ बाट सिने जगतमा एक सुन्दरीको आगमन भयो । पहिलो चलचित्रमा नै ‘महानायक’ राजेश हमालसँग काम गर्ने मौका पाएकी यी भाग्यमानी थिइन् अनु शाह ।

‘द युगदेखि युगसम्म’ खासै चलेन । तर, अनुले राम्रै चर्चा पाइन् । उनलाई आशलाग्दी नायिकाको रुपमा हेरियो । केही समय व्यस्त पनि भइन् । चलचित्रसँगै म्युजिक भिडियोमा पनि उनी डिमान्डेड थिइन् । तर, खेलेका चलचित्रहरु हिट हुन नसक्दा उनको करिअर विस्तारै सिथिल बन्न थाल्यो ।

केही समयको ‘फेम’ पछि अनु लाइमलाइटबाट हराएकी छन् । आजभोलि कामभन्दा पनि प्रेम सम्बन्धका कारण उनी बेलाबखत गसिपहरुमा आउने गर्छिन् । त्यसो त अनुलाई मन पराउनेहरुले टिकटकबाट उनको तलतल मेटाउन पाइरहेका छन् । उनी पहिल्यैबाट टिकटकमा सक्रिय छिन् । म्युजिक भिडियोमा पनि यदाकदा झुल्किन्छिन् ।

अनु चलचित्र क्षेत्रबाट एकाएक गयल किन भइन् त ? ठूला ब्यानर र टीमको वर्चश्व हुँदा आफू जस्ता धेरै कलाकार निष्क्रिय हुनुपरेको उनको दाबी छ ।

उनले खुलेर भनिन्, ‘ठूल्ठूलो ब्यानर र टीमको चलचित्र बनिरहेका छन् । उहाँहरुको आआफ्नो टीम हुन्छ । अन्य प्रोडक्सनबाट पहिलाको जस्तो चलचित्र निर्माण नभएकाले गर्दा ममात्र हैन, अरु धेरै कलाकारहरुले काम नपाउने अवस्था आएको हो ।’

उनले थपिन्, ‘अहिले त एउटै चलचित्रका धेरै सिरिजहरु बनाउने चलन छ । सिक्वेल बनाउँदा पहिलाकै टीमहरु दोहोरिने सम्भावना धेरै हुन्छ । कुनै नयाँ चलचित्रहरु बनाउँदा पनि पहिलेकै टीमहरु सहकार्य भइरहेको हुन्छ । त्यही भएर अनुले चान्स पाउँदैनन् । यसको अर्थ टीममा काम गर्नु नराम्रो चाहिँ भन्न खोजेको होइन ।

सिने क्षेत्रको यात्रामा आफूले कुनै गल्ती गरेको जस्तो नलाग्ने उनको भनाइ छ ।

उनी दार्शनिक तरिकाले भन्छिन्, ‘अगाडि गरेका कुराहरुमा कुनै पछुतो छैन । जे गरें र जे भयो त्यो मेरो भाग्यमा लेखेर आएका कुराहरु थिए । त्यही नै भोगें र त्यही नै भोग्नेछु । लेखेको जति छ त्यति नै सबैले पाउने हो । त्यहाँभन्दा एक सुक्का तलमाथि कसैले पाउँदैन ।’

केही समय काम गरेर हराउँदै जानुपर्ने नगरीमा सफलतालाई कुन हिसाबले मापन गर्ने ? यो आफैंमा कठिन कुरा हो । अनु आफूलाई असफल मान्दिनन् । आजसम्म आइपुग्दा पनि हजारौं दर्शकले माया दर्शाइरहेकोमा उनलाई आत्मसन्तुष्टि छ ।

‘सफलता खासमा केले मापन गर्ने भन्ने ठ्याक्कै भन्न सक्दिनँ । मलाई लाखौंले नचिने पनि हजारौंले चिन्नुभएको छ । जसले चिन्नुहुन्छ, उहाँहरुले सदैव मेरो भलो चिताउनुहुन्छ । यसलाई नै म सफलता मान्छु’, उनी भन्छिन् ।

अनुलाई चिनेकाहरुले उनलाई ‘वातावरणमैत्री’ र ‘ज्ञानी’ भन्ने गर्दछन् । सबैसँग सजिलै घुलमिल हुने र मिल्ने भएकाले उनलाई ‘वातावरणमैत्री’ भनिएको हो । उनी यी नै कुराहरुलाई आफ्नो गुण मान्छिन् । अनि अवगुण ? चाँडै रोइदिने, अरुलाई छिट्टै विश्वास गर्ने, अनि छिटो रिसाउने स्वभावलाई उनले आफ्ना अवगुणका रुपमा चित्रण गरिन् ।

कतै यी आममहिलाका साझा स्वभाव त होइनन् ?

आफूसँग जे छ त्यसमै खुशी भएर बाँच्न चाहन्छिन् अनु । उनीसँग ठूला महत्वाकांक्षाहरु छैनन् ।

‘जिन्दगीमा आफूले गर्न चाहेका धेरै कुराहरु हुन्छन् । कति पुग्छन् त कति पुग्दैनन् । मैले पनि चाहेर धेरै कुरा गर्न पाइनँ होला । तर जति गरें, जे पाएँ, त्यसैमा खुशी छु’, उनले सुनाइन् ।

तर, यदि भगवान उनको अगाडि प्रकट भएर तत्काल तीनवटा बरदान माग भन्नुभयो भने ?

अनुले चलाखीपूर्ण जवाफ दिइन् ।

‘हामी मानवलाई जति जे भए पनि पुग्दैन । रहर सधैं अपूरो झैं लाग्छ । मेरो त्यस्तो ठूलो आकांक्षा केही छैन । बस मेरो परिवार सदैव खुशी हुनुहोस् । मलाई त्यति भए पुग्छ’, उनले भनिन् ।

(परिवार खुशी हुन के-के चाहिन्छ, त्यो त भगवानले पक्कै जान्लान् !)

अनुको विचारमा जिन्दगी एक संघर्ष हो । सुख-दुःखको समिश्रण हो ।

‘प्रत्येक परिस्थितिलाई एउटा परीक्षा सम्झेर त्यसको सामना गर्दै अघि बढ्नु नै जीवनको मर्म हो’, ख्यालख्यालमा अनुले दमदार परिभाषा दिइन् ।

०००

जब मिडियाका पेज थ्रीमा गसिपको कमी हुन्छ, रंग पत्रकारहरुले उप्काउने एउटा विषय हो- अनु र सविन श्रेष्ठको प्रेम सम्बन्ध । जब भ्यालेन्टाइन डेमा फिल्म क्षेत्रका प्रेमिल जोडीहरुको सूची छापिन्छ, उनीहरु छुट्दैनन् । उनीहरु प्रेममा छन् भन्ने खबर अब बासी भइसक्यो । उनीहरुले विवाह गर्नै आँटेको, अदालती विवाह गरिसकेको, लिभिङ टुगेदरमा रहेको जस्ता खबरहरु पनि आउन बाँकी छैनन् ।

सविनको फिल्मी करिअर पनि अनुको जस्तै जस्तै छ । कुनै समय उनी पनि चल्तीको हिरोमा गनिन्थे । तर, अहिले गुमनाम जस्तै छन् । आफ्नै व्यवसायमा व्यस्त रहेका सविन हालै चलचित्र कलाकार संघको महासचिव निर्वाचित भए । अब अभिनयभन्दा पनि कलाकारहरुको हकहितका काममा उनी सक्रिय रहनेछन् ।

लामो समयदेखि घोषित प्रेममा रहेको यो जोडीको अर्को पनि एउटा संयोग मिलेको छ । उनीहरुको जन्मदिन एक दिन अघिपछि पर्छ । तिथिको आधारमा मनाउँदा त कहिलेकाहीँ एकै दिन पनि पर्न जान्छ ।

अनुले अस्ति भर्खर (चैत्र ९ मा) जन्मदिन मनाएकी हुन् भने त्यसको अघिल्लो दिन (चैत्र ८ मा) सविनको जन्मदिन थियो । घोडेजात्राको दिन जन्मिएका सविन तिथिअनुसार जन्मदिन मनाउने गर्दछन् । कहिलेकाहीँ तिथिहरु तलमाथि भइदिँदा यी दुईको जन्मदिन एकैदिन पर्न जान्छ ।

यसपालि सविनले कलाकार संघको महासचिव भएको खुशीयाली र आफ्नो जन्मदिन एकैपटक सेलिब्रेट गरे । अनुकै घरमा चैत्र ८ गते केक काटेर उत्सव मनाइएको थियो । अघिल्लो दिनमात्रै यसरी रमाइलो गरेपछि भोलिपल्ट फेरि केक काटेर आफ्नो जन्मदिन मनाउन अनुलाई जाँगर चलेन ।

अनु हाँस्दै भन्छिन्, ‘हामी दुवै चैतमा जन्मेका चैते बाँदर हौं । अघिल्लो दिन उहाँको जन्मदिनमा रमाइलो गरेकाले भोलिपल्ट मैले मनाइनँ ।’

जन्मदिन आउँदा विशेष खुशी र रमाइलो लाग्ने भए पनि वर्षैपिच्छे आउने जन्मदिनले बढ्दो उमेरको आभास गराउने बताउँछिन् अनु । तर, यो प्राकृतिक नियम भएकाले सरल हिसाबले लिनुपर्ने उनको भनाइ छ । भर्खरै विवाह गरेका भाइ र उनकी पत्नीले अनुलाई जन्मदिनमा पहिलो ‘विश’ गरेका थिए । उनीहरुबाट ‘वान पिस’ गिफ्ट पनि पाउँदा अनु दंग परिन् । फेसबुकमा पहिलोे पोस्ट चाहिँ अरु कसैको नभएर सविनकै आयो । उनले गिफ्ट चाहिँ उधारो राखेका छन् ।

तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण मान्छे को हो ? अनुलाई अप्ठेरोमा पार्ने नियतले सोधियो । उनी पनि के कम ? चतुर जवाफ दिँदै भनिन्– मेरो परिवार ।

अनि सविनजी ?

‘ऊ पनि मेरो परिवारकै सदस्य हो नि !’

लुकिछिपी विवाह पनि गरिसक्नुभएको त होइन ?

‘होइन होइन । लुकाएर के पाइन्छ ? आखिरमा एक दिन विवाह गर्ने नै हो । जुन दिन विवाह गर्छु, झ्याली पिटेरै गर्छु नि !’

गोप्य स्रोतका अनुसार अनु र सविन अर्को वर्ष झ्याली पिट्ने तरखरमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *