एआईजीमा सिफारिस मीरा सम्झिन्छिन्- मलाई त प्रहरी बन्नु थियो, युनिफर्म लगाउनु थियो – Nepal Press

एआईजीमा सिफारिस मीरा सम्झिन्छिन्- मलाई त प्रहरी बन्नु थियो, युनिफर्म लगाउनु थियो

काठमाडौं । त्यतिबेला नेपाली राष्ट्रिय महिला फुटबल टोलीका महत्वपूर्ण सदस्य थिए- मीरा चौधरी, किरण बज्राचार्य र किरण राणा ।

घरेलु फुटबल प्रतियोगितामा मीरा नारायणीबाट, किरण बज्राचार्य लुम्बिनीबाट र किरण राणा बागमतीबाट खेल्ने गर्थिन् । तीनै जना खेलाडी भएकाले शारीरिकरुपमा पनि फुर्तिला । ‘तर हामी सल्लाह गरेर प्रहरी निरिक्षकमा भर्ना हुन गएका भने थिएनौँ’, सोमबार नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक- एआईजीमा सिफारिस मीरा भन्छिन् । तीनै जना चर्चित खेलाडीले पढाईलाई पनि सँगसँगै अगाडि बढाएका थिए ।

मिरा भन्छिन्, ‘हाम्रो पढाई पनि राम्रै थियो । तीनै जनाले स्नातक उत्तीर्ण गरेका थियौँ ।’ तर प्रहरीमा अहिलेजस्तो महिला आरक्षण थिएन । पुरुषहरुसँग भिडेर नाम निकाल्नु पर्ने । २०५० सालमा खुलाइएको त्यस विज्ञापन नेपाल प्रहरीको इतिहासमा ऐतिहासिक रह्यो, एकैपटक चारजना महिलाले प्रहरी निरीक्षकमा नाम निकाले । ४८ वैकल्पिकसहित १०० जना छनोट गरिएको थियो । ५२ जनाले सुरुमा नियुक्ति पाएकामा उनीहरु तीनजना बाहेक दुर्गा सिंह पनि थिइन् ।

‘सायद हामी खेलाडी भएकाले पुरुषहरुसँग भिड्न सजिलो भयो । त्यतिबेला ककसले नाम निकालेभन्दा पनि आफ्नो नाम निस्कियो त्यत्तिमै खुशी भइयो’, मीरा भन्छिन् । उनको परिवारमा प्रहरी पृष्ठभूमिको कोही थिएन । तर खेलाडी नबन्दै उनलाई प्रहरीप्रति विशेष लगाव थियो ।

‘मलाई त प्रहरी बन्नु थियो । प्रहरीको युनिफर्म लगाउनु थियो । मलाई अहिले पनि अरु कपडा भन्दा प्रहरीको युनिफर्म नै मनपर्छ । प्रहरीको युनिफर्मले नै बढी सुहाँउछ जस्तो लाग्छ’, मीरा भन्छिन्, ‘त्यसैले प्रहरीमा सेवा सुरु गर्दा मैले यहाँसम्म पुग्छु भनेर सोचेकै थिइन् ।’

२०५१ चैतमा भर्ना भएका उनीहरु चारैजना लगभग सँगसँगै बढुवा भए । गत असारमा डीआईजीमा उनीहरु चारै जना एकसाथ सिफारिस भएका थिए । एसएसपीमा भने दुर्गा सिंह र किरण राणा दोस्रो लटमा बढुवा भएका थिए । तर डीआईजीमा बढुवा हुँदा चौधरी र बज्राचार्यसँगै उनिहरु पनि बढुवा भए। वरियतामा बज्राचार्य र चौधरी शीर्ष १० भित्र थिए ।

नेपाल प्रहरीको जनपदतर्फ एकै ब्याच मात्र होइन एउटै समयमा भने पनि चार जना महिलाहरु डीआईजी यसअघि थिएनन् । डीआईजी बनेसँगै उनीहरु संगठनको नेतृत्व गर्ने होडमा देखिएका थिए । सरकारले तीन साताअघि एआईजीमा रिक्त ५ दरबन्दीमा सिफारिस गर्दा बज्राचार्यबाहेक अन्यको आईजिपी बन्न सक्ने सम्भावना सकिएको थियो ।

बलियो समर्थनसहित बज्राचार्य आईजीपी बन्ने होडमा थिइन् तर सरकारले बसन्त कुँवरलाई बढुवा गरेर प्रहरी नेतृत्व सुम्पिएको छ । सोमबार ४ रिक्त एआईजीका लागि निकालिएको सिफारिसमा मीरा पनि परेकी हुन् ।

यसले नेपाल प्रहरीको इतिहासमा जनपदतर्फ एकैपटक दुई महिला एआईजी हुने अवस्था बनेको छ । यसअघि यसै वर्ष मात्र पुजा सिंहले जनपदतर्फ पहिलो महिला एआईजीको कीर्तिमान बनाएकी थिइन् । यसले सुरक्षा निकायका नीतिगत तहमा महिला उपस्थिति उदाहरणीय बनेको छ ।

 


प्रतिक्रिया

One thought on “एआईजीमा सिफारिस मीरा सम्झिन्छिन्- मलाई त प्रहरी बन्नु थियो, युनिफर्म लगाउनु थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर