बारा २ मा उपेन्द्रलाई देउवाको बचन, उपनिर्वाचनमा माओवादी दाबी कति ? – Nepal Press

बारा २ मा उपेन्द्रलाई देउवाको बचन, उपनिर्वाचनमा माओवादी दाबी कति ?

देव गुरुङ भन्छन्- गठबन्धन दलमा सहमतिको आधारमा टुंग्याउँछौं

काठमाडौं । दलहरुले वैशाख १० गते हुने उपनिर्वाचनको तयारी आन्तरिक रुपमा थालिसकेका छन् । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा, बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा र चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो ।

अहिले पुस १० गते बनेको सात दलीय गठबन्धन भत्किएर चुनावअघिकै गठबन्धन व्युँतिएको छ । गठबन्धनमा साना दलहरु पनि थपिएर अहिले दश दल भएको छ । यही गठबन्धनलाई चुनावमा पनि लान गृहकार्य भइरहेको छ । तर, अहिलेसम्म औपचारिक सहमति भएको छैन ।

दलहरु अहिले मन्त्रिपरिषद् विस्तारमा लागेकाले उपनिर्वाचनबारे थप छलफल गरेका छैनन् । उपनिर्वाचनको उम्मेदवारी दर्ता गर्न अब एक सातामात्रै बाँकी छ ।

उपनिर्वाचनमा गठबन्धन नै कायम रहने भन्ने विषयमा छलफल भइरहेको माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए । उनले भने, ‘मंसिरको चुनावमा पनि यही गठबन्धनबाट गएका हौं । अहिले पनि यसलाई निरन्तरता दिनुपर्छ भन्नेमा छौं अब बस्ने गठबन्धनमा छलफल हुन्छ ।’

यस्तै माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि गठबन्धन दलमा सहमतिको आधारमा अघि बढ्ने बताउँछन् ।

तीन क्षेत्रमध्ये कुनै एक क्षेत्रमा माओवादीले दाबी गर्छ कि गर्दैन भन्ने प्रश्नमा उनले भने, ‘हामी गठबन्धन दलबीच छलफल गर्छौं । सहमतिको आधारमा तय हुन्छ । अहिले भन्न सक्ने अवस्था छैन ।’

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत पनि उपनिर्वाचनमा गठबन्धन दलबीच सहमतिको आधारमा उम्मेदवार तय हुने बताउँछन् । उनले त्यसबारेमा थप छलफल नभएको बताए ।

कांग्रेसको कार्यसम्पादन समितिको बैठक भोलि बस्दैछ । उपनिर्वाचनका लागि उम्मेदवारको विषयमा पनि छलफल हुने जनाइएको छ ।

गठबन्धनमा सामेल नेकपा एकीकृत समाजवादीले उपनिर्वाचन हुने तीन क्षेत्रमध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ । शुक्रबार पाँचथरमा भएको एक कार्यक्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले तीन ठाउँको उपनिर्वाचनमा एक ठाउँ आफ्नो पार्टीले पाउनुपर्ने बताएका थिए ।

तर, उपनिर्वाचन हुने क्षेत्रमा यसअघि जुन पार्टीले जितेको छ, उसैलाई दिनुपर्ने नेताहरु बताउँछन्।

रवि बन्लान् साझा उम्मेदवार ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार हुने भएकाले चितवन २ को चर्चा धेरै छ । यसअघि पनि त्यो क्षेत्रमा लामिछाने ४९ हजार २६४ मत ल्याएर विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठ १४ हजार ९८३ मतमै सीमित रहे भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत ल्याएका थिए ।

नागरिकता मुद्दामा पदमुक्त भएर अहिले पुनः नागरिकता पाएपछि लामिछानेले त्यही क्षेत्रमा उपनिर्वाचनको तयारी थालिसकेका छन् । त्यहाँ लामिछानेको प्रतिस्पर्धी को बन्छ ? भन्ने अझैसम्म कुनै दलहरुले उम्मेदवार टुंग्याउन सकेका छैनन् ।

त्यहाँ कांग्रेसबाट चितवन सभापति राजेश्वर खनाल र पूर्वसभापति जीतनारायण श्रेष्ठ मुख्य दावेदार छन् । एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्य तिलचन्द्र भट्टराई, कालिका नगरपालिकाका निवर्तमान मेयर गोपी श्रेष्ठको नाम चर्चामा छ ।

त्यहाँ गठबन्धनबाट कांग्रेसको उम्मेदवार हुने सम्भावना छ । माओवादी र नेकपा एसले पनि कुनै क्षेत्रको दाबी गरेपछि जनाधार बलियो नभएकाले कांग्रेसले नै पाउने सम्भावना छ ।

सरकारमा सामेल हुन लचक देखिए पनि रास्वपा प्रवक्ता आफूहरु अहिले गठबन्धनमा नभएको दाबी गर्छन् । चितवन २ मा पार्टी सभापतिलाई गठबन्धनको साझा उम्मेदवार बनाउन पहल गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि हामी गठबन्धनमा छैनौं । हामीले अहिले कुनै क्षेत्रमा पनि तालमेल नगर्ने निर्णय गरिसकेका छौं । उहाँहरुले बुझेर छाड्दिनुभयो भने राम्रो नै हुन्छ ।’

तर, रास्वपाले उपनिर्वाचन हुने तीनै क्षेत्रमा आफ्नो उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

उपेन्द्रलाई देउवाको बचन, सीके चुनौती

चितवनपछि बारा २ मा पनि उपनिर्वाचनको चर्चा छ । गत मंसिर ४ को निर्वाचनमा सप्तरीबाट पराजित जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा छ। तर, गठबन्धनबाट साझा उम्मेदवार बन्ने प्रयास गरिरहेका यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउत चुनौती बनेका छन् ।

मंसिरको निर्वाचनमा यादवलाई हराएका राउतले बारा २ मा लोसपा र नागरिक उन्मुक्तिसँग कार्यगत एकता गरेर चुनावको तयारी थालिसकेका छन् । उनले उपेन्द्रप्रति लक्षित गर्दै बाहिरी फिरंगी उम्मेदवारको कुनै गुञ्जायस नरहेको भन्दै कडा टिप्पणी गर्दै आइरहेका छन् ।

राउतले भनेका छन्, ‘माताको यो दरवारमा स्वाभीमानी वीर योद्धाहरूको यो भूमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुञ्जायस छैन । यहाँ हरेक हालतमा जनमत पार्टी हर्न छाप नै विजयी हुनेछ ।’

तर, त्यहाँ गठबन्धनको साथ उपेन्द्रलाई नै हुने कांग्रेस सभापति देउवाले बचन दिइसकेको कांग्रेसका एक नेताले बताए । देउवाले शनिबार बसेको पदाधिकारी बैठकमा बारा २ मा उपेन्द्रलाई सहयोग गर्ने ब्रिफिङ गरेको ती नेताको भनाइ छ ।

कांग्रेसमात्रै नभएर प्रचण्ड र माधव नेपाल पनि उपेन्द्र यादवप्रति सकारात्मक छन् । तर, त्यहाँ गत निर्वाचनमा रामसहाय यादवसँग पराजित माओवादीका शिवचन्द्र कुशवाह नै चुनौती बन्नसक्ने देखिएको छ ।

लोसपाले जनमत पार्टीलाई समर्थन गर्ने संकेत देखाइसकेको छ । सो क्षेत्रमा लोसपाभन्दा जनमत पार्टी बलियो भएकाले उपेन्द्रविरुद्ध लोसपाले जनतमलाई सघाउनसक्छ । समानुपातिक मतका आधारमा बारा २ मा जसपा सबैभन्दा बलियो छ ।

मंसिर ४ को चुनावमा एमालेको मत पाएर रामसहायले जितेको यो क्षेत्रमा यसपटक उपेन्द्रले एमालेको मत पाउने सम्भावना छैन । एमाले भने सत्ता गठबन्धनमा आबद्ध दलहरूबीचको विवाद र विद्रोहको आधारमा आफ्नो उम्मेदवार खडा गर्ने तयारीमा छ ।

सो क्षेत्रमा एमालेको मत तेस्रो स्थानमा रहे पनि जित्ने खालका उम्मेदवार बाहिरबाटै आयात गर्न खोजिरहेको छ । एमाले नेता बलवीर चौधरी सो क्षेत्रका सम्भावित उम्मेदवार हुन् । तर, उनी गत चुनावमा प्रदेशसभामा सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवारसँग पराजित भएका थिए ।

एमालेका एक नेताका अनुसार गठबन्धनका कारण टिकट नपाउने प्रभावशाली व्यक्तिलाई तानेर उम्मेदवार बनाउने रणनीति छ । एमालेले माओवादी नेता शिवचन्द्र कुशवाह एमालेबाट उम्मेदवार बने भने पनि आश्चर्य नहुने नेता-कार्यकर्ताबीच चर्चा छ ।

गत मंसिर ४ गतेको निर्वाचनमा एमालेको समर्थनमा रामसहायले १३ हजार ८२२ मत पाएर जित्दा कांग्रेसको समर्थन पाएका कुशवाहले १३ हजार ४६८ मत पाएका थिए । जम्मा ३५४ मतले पराजित कुशवाहले आफू पुनः उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

२०६४ सालमा जितेर मन्त्री बनेका कुशवाह यहाँका प्रभावशाली नेता हुन् । एमालेले पनि उनीतिर नजर लगाएको छ । यदि माओवादीले उपेन्द्रलाई समर्थन गरेमा कुशवाह एमालेतिर लाग्ने सम्भावना देखिएको छ ।

तर, उपनिर्वाचन लड्न आफूलाई दबाब रहे पनि अहिलेसम्म कुनै निर्णय गरिनसकेको बताउँदै आइरहेका छन् । तर, जसपा नेता प्रदीप यादवले पार्टी अध्यक्ष उपेन्द्र सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने सम्भावनालाई नकारेनन् ।

तनहुँमा कांग्रेसकै सम्भावना

तनहुँ १ मा उपनिर्वाचनमा पनि कांग्रेसको उम्मेदवारलाई नै गठबन्धनको साझा उम्मेदवार बनाउने प्रयास जारी छ । त्यहाँ कांग्रेस सभापति देउवाले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने संकेत गरिसकेका छन् ।

तर, कांग्रेस तनहुँ क्षेत्रीय कार्यसमितिले माग गरेअनुसार उपनिर्वाचन लड्न भट्टराईसहित १३ जना आकांक्षीले आवेदन दिएका छन् । देउवाको बचनपछि भट्टराईले सचिवालय नै खोलेर चुनावी अभियान थालिसकेका छन् ।

यस्तै एमालेबाट गत निर्वाचनमा काठमाडौं ६ मा पराजित सर्वेन्द्र खनालसहित किरण गुरूङ, रामबहादुर गुरूङ र पूर्णबहादुर गुरुङको चर्चा छ ।

तनहुँ खनालको गृहजिल्ला पनि हो । तर, एमालेले गठबन्धनको तय भइसकेपछि मात्रै आफ्नो उम्मेदवार अघि सार्ने रणनीतिक दाउ हेरेर बसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर