मधेशमा चैती छठको रमझम (तस्बिरहरु/भिडिओ) – Nepal Press

मधेशमा चैती छठको रमझम (तस्बिरहरु/भिडिओ)

जनकपुरधाम । जनकपुरधामको पोखरीहरुमा वासन्ती छठ (चैती छठ)को रकमझम देखिएको छ । श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ तराई मधेशका जिल्लाका केहि स्थानमा मनाइँदैछ ।

चैत्र शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व मनाइन्छ । आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ चढाउन ब्रतालुहरु पोखरी घाट पुगेका छन् ।

जनकपुरधामको गंगासागर पोखरी यतिबेला रंगीचंगी देखिएको छ । अब केहिबेरमा ब्रतालुहरु अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारीमा छन् । ठकुवा, भुसुवा (कसार)सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री व्रतालुले सूर्यतर्फ देखाउनुलाई अर्घ दिनु भनिन्छ ।

सप्तमीका दिन अर्थात् भोलि बिहान उदाउँदा सूर्यलाई घाटमै अर्घ चढाएपछि यो पर्व सम्पन्न हुन्छ । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत्र शुक्ल चौथीदेखि सप्तमीसम्म यो पर्व सम्पन्न गरिन्छ ।

तराई मधेशका लगभग हरेक परिवारले शारदीय छठ मनाउँछन् । पछिल्लो समय काठमाडौंमा समेत उक्त छठ मनाउन थालिएको छ । तर चैती छठ तराई मधेशका थोरै परिवारले मनाउदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर