भारतीय संसदमा ‘ब्ल्याक प्रोटेस्ट’को हंगामा- भारतमा लोकतन्त्रको कालो अध्याय सुरु भएको घोषणा – Nepal Press

भारतीय संसदमा ‘ब्ल्याक प्रोटेस्ट’को हंगामा- भारतमा लोकतन्त्रको कालो अध्याय सुरु भएको घोषणा

काठमाडौं । छिमेकी मुलुक भारतको प्रतिपक्षी दल भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेजी प्रकरणलाई लिएर भारतीय संसदमा हंगामा भएको छ ।

भारतीय कांग्रेससहित १७ प्रतिपक्षी दलले विरोधस्वरुप कालो कपडा धारण गर्दै संसदमा नाराबाजी गरेसँगै भारतमा सोमबार दुबै सदनको बैठक स्थगित भएको हो ।

बिहान ११ बजे राज्यसभा तथा लोकसभाको बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरुले नाराबजी गरेका थिए । हाल राज्यसभाको बैठक दिउँसो २ बजेसम्म र लोकसभाको बैठक ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुनले खड्गे प्रधानमन्त्री मोदीले भारतमा लोकतन्त्र सिध्याउन लागेको कुरा उजागर गर्न प्रतिपक्षले कालो वस्त्र धारण गरेको बताएका छन् ।

‘हामी कालो कपडा लगाएर किन आएको ? हामी यो देखाउन चाहन्छौं कि प्रधानमन्त्री मोदीले यो देशको लोकतन्त्र सिध्याइरहेका छन् । पहिले स्वायत्त संस्था खारेज गरे, त्यसपछि जहाँ जसले चुनाव जित्यो, चुनाव जित्नेलाई धम्की दिएर प्रधानमन्त्रीले सरकार बनाए । ईडी र सीबीआईको दुरुपयोग गरे’, खड्गेलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल भारतीय राष्ट्रिय कांग्रेसले सुरु गरेको ‘ब्ल्याक प्रोटेस्ट’मा त्रिनमुल कांग्रेसले पनि सहभागिता जनाएको छ । त्रिनमुल कांग्रेसले यो सत्रमा कुनै पनि मुद्दामा भारतीय राष्ट्रिय कांग्रेसको समर्थन गरेको थिएन ।

भारतीय कांग्रेसले हाल देशभर ‘ब्ल्याक प्रोटेस्ट’को घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर