रास्वपालाई गजुरेलको सुझाव- गृह नपाए पनि सरकारमा आउनुपर्छ – Nepal Press

रास्वपालाई गजुरेलको सुझाव- गृह नपाए पनि सरकारमा आउनुपर्छ

‘परिवर्तनविरोधीसँग जोडिएर उहाँरूको राजनीति बन्दैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने आशा व्यक्त गरेका छन् । यद्यपि, सो पार्टीले माग गरेबमोजिम गृहमन्त्रालय भने नपाउने उनको भनाइ छ ।

सत्तारुढ गठबन्धनभित्र गृहमन्त्रालय माओवादीले र अर्थमन्त्रालय कांग्रेसले लिने समझदारी रहेको गजुरेलले उल्लेख गरे ।

‘गृहमन्त्रालय प्रधानमन्त्रीकै पार्टीले राख्ने पहिलेदेखिको अभ्यास हो । यसअघिको राजनीति परिस्थिति अलि भिन्न भएकाले हामीले गृह छोडेका थियौं । तर, अब माओवादीसँगै रहन्छ,’ उनले भने ।

रास्वपाले प्रचण्ड नेतृत्वमा सहभागी हुनका लागि साबिककै मन्त्रालयहरू पाउनुपर्ने अडान लिएको छ । यसअघि रास्वपालाई उपप्रधान तथा गृहसहित, शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालय दिइएको थियो । तर, छोटो समयमै पार्टी सरकारबाट बाहिरिएको थियो । फेरि सरकारमा फर्किनका लागि गृहसहितका चारवटै मन्त्रालय चाहिने रास्वपाको शर्त छ । तर, प्रधानमन्त्रीले रास्वपाको भागमा ३ वटा मन्त्रालय राखेका छन् । गृह माओवादीसँगै राख्ने उनको तयारी छ ।

गजुरेलले रास्वपालाई गृहको साटो अर्को मन्त्रालय लिएर सरकारमा सहभागी हुन सुझाव दिए । यतिबेला सरकारबाट बाहिर बस्नु सो पार्टीका लागि हितकर नहुने समेत उनको दाबी छ ।

‘प्रधानमन्त्रीज्यू आफूलाई विश्वासको मत दिने सबै दलहरुलाई समेटेर लैजाने मनस्थितिमा हुनुहुन्छ । रास्वपा पनि आओस भन्ने हो,’ गजुरेलले थपे ।

रास्वपा अहिलेसम्म सत्तारुढ गठबन्धनमा भने नजोडिएको उनले बताए ।

‘उहाँहरूले विश्वासको मत दिएको भए पनि गठबन्धनभित्र हुनुहुन्न । आफ्नै तरिकाले चलिरहनुभएको छ । गठबन्धन बैठकमा आउनुभएको छैन । उपचुनावमा पनि आफ्नै उम्मेदवारहरू उठाउने भन्नुभएको छ । अरू पार्टीभन्दा उहाँहरूको शैली फरक छ,’ गजुरेलले भने ।

यदि आफूलाई परिवर्तनकारी शक्तिको रूपमा चिनाउन चाहने हो भने रास्वपा यही गठबन्धनसँग मिल्नुको विकल्प नहुने उनले बताए ।

‘परिवर्तनविरोधीसँग जोडिएर उहाँहरूको राजनीति बन्छ त ?’ गजुरेलले प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर