भोलि बेलुकी गठबन्धनको बैठक बसेर भागबन्डा टुंग्याउने शीर्ष नेताबीच सहमति – Nepal Press

भोलि बेलुकी गठबन्धनको बैठक बसेर भागबन्डा टुंग्याउने शीर्ष नेताबीच सहमति

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए ।

तीन शीर्ष नेताबीच भोलि बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।

सरकारलाई पूर्णता दिन प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेर गठबन्धनको बैठक राखेर टुंग्याउन लागेका हुन् । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने ११ दललाई समेटेर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ र माओवादीले प्रधानमन्त्रीसहित ५ मन्त्रालय लिने लगभग सहमति भइरहेको छ । तर, नेकपा एस र जसपाले ३/३ मन्त्रालय दाबी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एस र जसपालाई दुई-दुई मन्त्रालय दिन तयार छन् । तर, नेकपा एसले त्यतिमा चित्त नबुझाउने संकेत अध्यक्ष नेपालले आइतबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गरिसकेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको मुख्यमन्त्री दिने आश्वासन दिएर भएपनि नेपाललाई मनाउने प्रयास जारी राखेका छन् ।

जसपा यसअघि सात दलीय गठबन्धनमा हुँदा पनि दुई मन्त्रालय दिएपछि असन्तुष्ट जनाउँदै सरकारमा सहभागी भएको थिएन । तर, अहिले उपराष्ट्रपति पाइसकेकाले दुई मन्त्रालयमा चित्त बुझाउने सम्भावना छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलाई पनि प्रधानमन्त्रीले एक-एक मन्त्रालयसहित सरकारमा सहभागी गराउने गृहकार्य भइरहेको छ । तर, जनमत, लोसपा र नाउपाले एक मन्त्रालयमा चित्त बुझाउन नसक्ने अडानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर