बागमती : ६ मन्त्रालयमा कांग्रेसको दाबी, मुख्यमन्त्री जम्कट्टेललाई समस्या – Nepal Press

बागमती : ६ मन्त्रालयमा कांग्रेसको दाबी, मुख्यमन्त्री जम्कट्टेललाई समस्या

हेटाैंडा। नेपाली कांग्रेसले बागमती प्रदेश सरकारमा ६ मन्त्रालय दाबी गरेको छ । नेकपा एमालेले सत्ता छाडेपछि शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको कांग्रेसले महत्त्वपूर्ण मानिएको आर्थिक मामिलासहित ६ वटा मन्त्रालयमा दाबी गरेको हो ।

कुल ११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा हाल माओवादी केन्द्र मात्रै सरकारमा छ । एमाले र राप्रपाले २ महिना सरकार छाडेपछि ७ वटा मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले सम्हालिरहेका छन् ।

नयाँ समीकरणमा माओवादी केन्द्रले कांग्रेस र एकीकृत समाजवादीलाई समेट्ने तयारी गरिरहेको अवस्थामा कांग्रेसले महत्त्वपूर्ण मन्त्रालय सहित ६ वटामा दाबी गरेपछि मुख्यमन्त्री जम्कट्टेललाई समस्या परेको छ ।

बागमतीमा ३७ सिट रहेको कांग्रेस र २१ सिट रहेको माओवादी केन्द्र मिले मात्र पनि सत्ता जोगिने अवस्था छ । तर केन्द्रीय समीकरण अनुसार ७ सीट रहेको एकीकृत समाजवादीलाई पनि सत्ता गठबन्धनमा सहभागिता गराउनुपर्ने बाध्यता माओवादीलाई छ ।

एकीकृत समाजवादीले पनि ३ मन्त्रालयको दाबी गरेपछि जम्कट्टेललाई टाउको दुखाइको विषय बनेको हो ।

नेपाल प्रेससँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता बहादुर लामाले बागमती प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल भएको हैसियतले कम्तीमा ६ वटा मन्त्रालय हुनुपर्ने दाबी गर्नु स्वभाविक भएको बताए ।

उनले भने ‘हामीले बागमतीको मुख्यमन्त्रीमा पनि दाबी पेश गरेका छौँ, तर कुन प्रदेशमा कसको नेतृत्वको सरकार निर्माण गर्ने भन्ने विषय प्रदेश तहको मात्र नभएको र त्यो विषय केन्द्रले टुंगो लगाउने कुरा छ । मुख्यमन्त्री पाएको अवस्थामा मन्त्रालयको संख्यामा लचक हुन सकिएला तर शालिकराम जीकै नेतृत्वमा रहने हो भने कम्तीमा ६ वटा मन्त्रालय हाम्रो बटमलाइन हो ।’

कांग्रेसका मुख्य सचेतक कुन्दनराज काफ्ले भन्छन् ‘हामीले प्रथम दलको हैसियतमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रालय पाउनुपर्छ भनेका छौँ, त्यो वैज्ञानिक पनि छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर