अर्घाखाँचीबाट ओलीले भने- ४५ सालमा ‘अबिराम’ नामले मोर्चा सम्हालेको थिएँ, सकेसम्म पुराना साथीहरुलाई भेट्छु – Nepal Press

अर्घाखाँचीबाट ओलीले भने- ४५ सालमा ‘अबिराम’ नामले मोर्चा सम्हालेको थिएँ, सकेसम्म पुराना साथीहरुलाई भेट्छु

रुपन्देही । हरेक पटकका कार्यक्रममा आउँदा हतारमा देखिने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समय तालिका र अहिले जिल्लाका भ्रमण कार्यक्रम हेर्दा कार्यकर्तालाई नै आश्चर्य लागेको छ । ५ दिनको मिसन ग्रासरुट अभियान लिएर लुम्बिनीका ५ जिल्लामा ५ दिन बिताउने योजना अनुरुप उनी आइतबार अर्घाखाँचीमा बसेका छन् ।

बिहान कपिलवस्तुमा भेटघाट सकाएर नेताहरुका साथ अर्घाखाँची निस्केका नेता ओली पत्नी राधिका शाक्यका साथ हरेक जिल्लामा रहेका मुख्य पर्यटकीय स्थलको भ्रमण गर्नसमेत भ्याएका छन् । आइतबार पनि उनी जिल्लाको मुख्य प्रशिक्षण कार्यक्रम सकाएर त्यहाँ रहेका अर्घा दरबारमा पुगेर अवलोकन गरे र पूजाआजा पनि गरे ।

दिउँसोको मन्ततव्यमा कपिलवस्तुको कपिलधाम र अर्घाखाँचीको पाणिनी तपोभूमिको इतिहास, महर्षि ऋषिहरुले सुरु गरेको अभियानका विषयमा फेहरिस्त सुनाउँदा नेता कार्यकर्तालाई आश्चर्यमा पारे ।

त्यति मात्रै होइन उनले आफ्नो मन्तव्यमा अर्घाखाँचीको पुरानो बलियो साइनोलाई स्मरण गर्दा धेरैलाई अचम्मित बनायो । अध्यक्ष ओलीले ४५/४६ सालमा जिल्लामा बसेर पन्चायतविरुद्धको आन्दोलनमा यो क्षेत्रको मोर्चा सम्हालेको र त्यतिबेला आफू केपी ओलीका नाममा नभएर अबिरामका नामले काम गरेको सुनाए ।

मलाई यो जिल्लासँग अचम्मको माया छ, कति घरमा, कति गाउँमा कसरी दिन दिन बिताएको थिएँ, ४५ सालमा म केपी ओलीको नामले होइन अबिरामको नामले चिनिन्थेँ, मेरो लबजले यहाँका धेरै स्थानीयले यहाँको होइन भन्ने त पत्ता लगाउँथे तर असाध्यै माया र स्नेह दिन्थे- ओलीले स्मरण गर्दै भने ।

पन्चायतविरुको आन्दोलनपछि पार्टीमा लागेका नेता कार्यकर्तालाई हत्या गर्ने, धरपकड गर्ने अनेकन दुःख दिने गर्न थालेपछि केही समयपछि केपी ओलीकै नाममा तत्कालीन समयमा जिल्लामा बसेको उनले बताए ।

अहिलेका हरेक दिन उनले पुराना पार्टीका नेताकार्यकर्ताको भेटघाट, पर्यटकीय क्षेत्रको वर्णन, समृद्धिका लागि अबको योजना र पार्टी संगठन बलियो बनाउनका लागि नेता कार्यकर्तालाई ऊर्जा दिनमै खर्चिएका छन् ।

आइतबारको सम्बोधनमा पनि ओलीले एमालेलाई अहिले चारैतर्फबाट घेराबन्दी भएको र त्यसको कारण बताएका छन् । एमाले अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्र र राष्ट्रियताको पक्षमा एमाले खरो रुपमा प्रस्तुत भएकाले सबैले घेराबन्दी गरेको बताए ।

‘हामीविरुद्ध घेराबन्दी गरिएको छ । एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो त्यो बेला नै राम्रो काम गरेकाले अहिले पाटीलाई घेराबन्दीमा पारिएको छ ,’ उनले भने, ‘अब अरु दलहरु एकातिर र एमाले अर्कोतिर भए पनि आउँदो चुनावमा जनताको रोजाईको पार्टी एमाले नै बन्ने छ, तल्लो तहसम्मको जनता सम्म पुग्न पार्टीले ग्रासरुट अभियान संचालन गरेको छ ।’

ओलीले एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीको चलखेल हुन सक्ने भन्दै सचेत रहन पनि कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले मिसन ग्रासरुटमार्फत एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे । हरेक वडा, हरेक पालिका हरेक प्रदेश र संघमा सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले संगठन निर्माणमा लागेको उनले बताए । त्यसका लागि पार्टी भित्रको अन्तरविरोध हटाउनुपर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै ओलीले भने, ’झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन ।’ साथै सरकार ‘बनाइदिएको’ भोलिपल्टबाटै चालामाल ठीक नभएको र सरकार ढाल्न लागि परेको उनको भनाई थियो ।

समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन अन्तरविरोध गरेर भोट नदिने कार्य नगर्न कार्यकर्तालाई उनले आग्रह गरे । अहिले सिङ कस्का बलिया भनेर जोरी खोज्ने समय नभएको बताउँदै उनले मानवीय समाजको सभ्यतालाई बुझेर कम्युनिष्ट पाटीका नेता र अरू पाटीका नेता कार्ड छुट्ट्याउन नहुने बताए ।

ओलीले सरकार ढाल्ने खेल खेलेपछि आफूहरूले देशलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउने संकल्प गर्नैपर्ने बताए । अध्यक्ष ओली सोमबार बिहान खन, खनदह, डाँडाकटेरीमा नेता कार्यकर्ता भेट्दै गुल्मीमा आयोजित कार्यक्रम सम्बोधन गर्न जाने कार्यतालिका छ ।

हरेक ठाउँमा नेताकार्यकर्ताको उल्लेख्य सहभागिताले ओली झनै उत्साहित भएको एमाले नेता तथा अर्घाखाँचीका इन्चार्ज चेतनारायण आचार्यले बताए ।

अर्घाखाँचीमा पार्टी सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, नेताहरु राजन भट्टराई, सूर्य थापासहितको टोली रहेको छ । ओलीले चौतर्फी घेराबन्दीको समयमा पार्टीले जिल्लामा निकालेको नतिजाको प्रशंसा गर्दै त्यसलाई कायम राख्न जिल्लाको नेतृत्वलाई आग्रह गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर