विष्णु पौडेलको दाबी- एमालेले चाहँदा यो गठबन्धन एक साताभित्र ढाल्न सक्छ (भिडिओ) – Nepal Press
नेपाल टक

विष्णु पौडेलको दाबी- एमालेले चाहँदा यो गठबन्धन एक साताभित्र ढाल्न सक्छ (भिडिओ)

'देशको अर्थतन्त्र ट्रयाकमा ल्याउन एमालेबाहेक अरुले सक्दैनन्'

सुर्खेत । पार्टी कामको सिलसिलामा नेकपा एमालेका उपाध्यक्ष एवं निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज कर्णाली आइपुगेका छन् । सुर्खेतमा पत्रकार सम्मेलनको क्रममा सत्ता गठबन्धनको तमासा अहिले जनताले हेरिरहेको टिप्पणी गरे ।

गठबन्धनमा दलहरूबाट धेरै उपप्रधानमन्त्री दाबी भइरहेको तथा प्रधानमन्त्रीले छोटो समयमै दोस्रो पटक विश्वासको मत लिनुपरेको भन्दै उनले मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरिरहेको आलोचना गरे ।

उपाध्यक्ष पौडेल सुर्खेत आएको मेसो पारेर समसामयिक राजनीति विषयमा गरिएको कुराकानी नेपाल टकमा

– एमालेले एकाएक संघदेखि प्रदेशससम्मका सत्ता गुमाउनुपर्‍यो ? अब ५ वर्ष प्रतिपक्षमै बस्ने हो ?

सत्ताका स्रोत जनता हो । त्यसकारण नेकपा एमाले जनताको समर्थन र साथ गुमाएको छैन । आज पनि सबैभन्दा देशको बलियो पार्टी नेकपा एमाले हो । हामीले केही गुमायौं भन्ठानेका छैनौं । जनताको साथ गुमाएको भए चिन्ताको विषय हुन्थ्यो । सत्ताको समीकरणमा आउने पनि हुन्छ, गुम्ने पनि हुन्छ । यो ठूलो कुरा होइन् ।

– तर, जनताका काम गर्न त सरकारमा हुँदा नै सहज हुन्थ्यो नि हैन र ? योजना, नीति, नियम आफूले चाहेजसरी ल्याउन सकिन्थ्यो नि ?

यो सरकारले जनताको पक्षमा राष्ट्रका पक्षमा कुनै राम्रो काम गर्न सक्दैन भन्ने कुरा सुरुका दिनमा नै छर्लङ्ग भइसकेको छ । हामी अर्को निर्वाचनको तयारीमा छौं । अर्को निर्वाचनको तयारीमा आजबाट नै लागेका छौं । आम जनताको साथ समर्थन जुटाएर आउने निर्वाचनमा शानदार बहुमत प्राप्त गर्ने । प्रदेशलाई अगाडि बढाउने हिसाबले अगाडि बढ्छौं ।

– त्यसो भए अब एमाले के मा केन्द्रित हुन्छ ? पार्टी संगठन अभियानमा मात्र ?

संसदमा हामी सशक्त प्रतिपक्षको भूमिकामा रहन्छौं । जनताका राष्ट्रका माग मुद्दामा केन्द्रित रहेर काम गर्छौं, आवाज उठाउछौं । आवश्यकताअनुसार सडकबाट पनि जनताका माग बुलन्द पार्छौं । मुख्यगरी पार्टीको संगठन निर्माणका काममा, पार्टीको जनाधार विस्तारको काममा लागि पर्छौं । एमाले प्रदेशसभामा पनि छ । एमाले स्थानीय तहहरूमा पनि छ । प्रदेश, स्थानीय तहमा हाम्रो पार्टीका जनप्रतिनिधिले जनता र राष्ट्रका पक्षमा प्रभावकारी ढंगले काम गर्नुहुन्छ ।

– कांग्रेस र एमाले मिल्नसक्ने चर्चा पनि हुँदै आएको छ नि, सम्भावना कत्तिको देख्नुहुन्छ ?

अहिले हामी कोही कसैसँग मिल्ने, नमिल्ने ढंगले लागेका छैनौं । हामी प्रतिपक्षमा छौं । तर, म एउटा स्पष्ट गर्न चाहन्छु- यदि नेकपा एमालेले चाह्यो भने यो गठबन्धन हप्ता दिनमा टुट्छ । हामी अहिले गठबन्धनमा तोड्ने, अर्को गठबन्धन बनाउने त्यो धन्दामा लागिहालेका छैनौं । यदि एमालेले चाहँदा एक हप्तामै टुट्छ ।

– एकाएक पुस १० मा नयाँ गठबन्धन बन्यो, दुई महिना पनि टिक्न पाएन यसमा कमजोरी चाहिँ कसको रह्यो ?

देशबासीले छर्लङ्गरूपमा बुझिसकेका छन् । सबैलाई थाहा छ । हाम्रो समर्थनमा प्रचण्डले सरकारको नेतृत्वमा गर्नुभयो । उहाँले नै बीचमा धोका दिएर जानुभयो । खासगरी नेकपा माओवादी नेतृत्वको धोकापूर्ण व्यवहारले गर्दा सहयात्रा टुटेको हो ।

– तर, प्रचण्डले त तपाईँहरूको अध्यक्षलाई नै दोष देखाउनु भयो नि राष्ट्रिय सहमतिमा नमानेको, संसद विघटनलाई जबर्जस्ती सही साबित गराउने प्रयास गरियो भन्नुभो ?

त्यो बेकारको कुरा हो । यो संविधानमा संसद विघटन चर्चा नै छैन, कुनै उल्लेख नै छैन । संसद विघटन कस्तो परिस्थितिमा हुन्छ भने कुरा संविधानमा उल्लेख गरिएको छ । र, यो संसद विघटन गरिएको सन्दर्भमा कुन सन्दर्भमा विघटन गरियो भन्ने कुरा उहाँले राख्नुभएको हो । त्यो प्रचण्डको बहाना हो । हामीसँगको सहयात्रा तोडेर कांग्रेससँग जानका निम्ति बनाइएको बाहाना हो । गरिएको बहाना हो । त्यो आधारहीन कुरा हो ।

– फेरि, एमालेविरुद्ध अहिले सबै एकठाउँमा उभिए । एमाले पनि १० दलको गठबन्धन फुटाउन लाग्ने होला । एकले अर्कोलाई रिस फेराफेर गरेर बित्ने भयो है ?

रिस फेराफेरको प्रश्न होइन । नेकपा एमाले एक्लै छैन । नेकपा एमालेसँग देशको जनसंख्याको अत्यधिक ठूलो हिस्सा छ । यही ठूलो जनसमर्थन प्राप्त पार्टी कहिले पनि एक्लै हुँदैन । यस्तो पार्टीलाई एक्लै मानिँदैन । दलहरूको संख्याको आधारमा हुँदैन । जनताको समर्थनको आधारमा हुन्छ राजनीति दलको मूल्यांकन ।

– अहिले नेकपा ब्यूँताउने कुरा, खासगरी माधव नेपालले उठाइरहनुभएको छ । सुरूमा एमाले-माओवादी जोड्नेमध्ये प्रमुख सूत्रधारको श्रेय तपाईँ हुनुन्थ्यो । सम्भावना कत्तिको छ ?

अहिले हामी खासगरी विभिन्न ढङ्गले छरिएर रहेका वामपन्थी आन्दोलनका इमानदार कार्यकताहरूलाई नेकपा एमालेमा गोलबन्द गर्ने पक्षमा छौं । त्यो अभियानमा छौं । अहिले कसैसँग पार्टी एकताको कुरा होइन । अहिले हामी इमानदार वामपन्थीहरूलाई नेकपा एमालेमा समाहित गर्ने, एकताबद्ध गर्ने, उनीहरूलाई एमालेमा गोलबोन्द गर्ने अभियानमा छौँ ।

– सबै एकैठाउँ आउँदा त कम्युनिष्टहरू आखिर झन् बलियो होलान् नि । केले रोक्छ र ?

नेपालमा बलियो कम्युनिष्ट पार्टी निर्माणको अभियानमा छौं । नेकपा एमाले नै बलियो पार्टी हो । यसलाई अझै बलियो बनाउँछौ । नेकपा एमाले एउटा बलियो राष्ट्रिय शक्तिका रूपमा देशलाई नेतृत्व गर्ने हैसियतमा आजै पनि छ । आउने दिनमा हामीले यसलाई बलियो बनाएर लिएर जान्छौं । त्यसकारण विभिन्न समूहमा छरिएर रहेका इमानदार वामपन्थीहरूलाई एमालेमा आमन्त्रण गर्छौं । उहाँलाई एमालेमा भित्र्याउँछौं । स्वागत गर्छौं । अहिले कसैसँग पार्टी एकताको कुरा हामीले सोचेका छैनौं ।

– फरक प्रसंग, फेरि अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गर्न थालिएको छ यो बीचमा तपाईँले दुई महिनाजति देशको अर्थमन्त्री सम्हाल्नुभयो । वास्तविक अवस्था चाहिँ के हो त । गम्भीर नै हो ?

मैले अर्थतन्त्रको अवस्थाको बारेमा धेरै फोरमहरूमा बताउने गरेको छु । आर्थिकरूपमा मुलुक अत्यन्त समस्याग्रस्त बन्दै गइरहेको छ । यो समस्याग्रस्त बन्दै गइरहेको अर्थतन्त्रलाई लयमा फर्काउनमा निम्ति अहिलेको सरकार सफल हुने कुनै लक्षण छैन ।

कसरी ट्रयाकमा ल्याउन सकिएला ?

नेकपा एमाले चाहिन्छ । मुलुकलाई आर्थिकरूपमा, समाजिकरूपमा, संस्कृतिकरूपमा विकासका समृद्धिको अभियानलाई अगाडि बढाउने हिसाबले देशलाई ठीक बाटोमा लानका निम्ति एमालेको नेतृत्व चाहिन्छ । अरुले गर्न सक्दैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर