बजारमा काजुको माग अचानक बढेको हो त ? – Nepal Press

बजारमा काजुको माग अचानक बढेको हो त ?

काठमाडौं । महंगो ड्राइफ्रुटका रुपमा चिनिने काजु अहिले सामाजिक सञ्जालमा चर्चामा छ । ऋषि धमला र शर्मिला वाइबाको ‘काण्ड’ ले काजुको छवि नै बिग्रिने गरी ट्रोल भइरहँदा बजारमा चाहिं कस्तो असर परेको हुँदो हो त ?

हामीले केही पसलेहरुसँग बुझ्दा उनीहरुले काजुको व्यापार उल्लेख्य बढेको बताए । यद्यपि, कतिपय उपभोक्ता भने काजु किन्न आउँदा धकाउने गरेको उनीहरुको अनुभव छ ।

कलंकीस्थित श्रेष्ठ किराना पसलका सञ्चालक ओम श्रेष्ठले पछिल्ला दिनहरुमा काजुको ‘सर्टेज’ नै हुन थालेको दाबी गरे । होलसेलमा पनि नपाएर उपभोक्तालाई फर्काउनु परेको उनले सुनाए ।

श्रेष्ठले भने, ‘मैले आधा केजीसम्मको प्याकेट बनाएर काजु बिक्री गर्ने गरेको छु । आधी केजीको १ हजार रूपैयाँ पर्छ । तर, केही दिनदेखि काजु नै सकिएको छ । धेरै ग्राहकलाई फर्काउनुपरेको छ । काजु ल्याउने पार्टीलाई फोन गर्दा पनि बजारमा कमी भएकाले केही दिनमा मात्रै ल्याइदिन्छु भन्ने उत्तर दिइरहेका छन् ।’

माग धेरै भएको कारण अब खुला काजु पनि बिक्री गर्ने श्रेष्ठले बताए ।

मसला भण्डारका सञ्चालक दिनेश अग्रवालले पनि पछिल्लो केही दिनमा काजुको माग निकै बढेको बताए । अग्रवालले भने, ‘पहिले मेरो पसलमा आएका ग्राहकमध्ये ४० देखि ५० प्रतिशतले काजु किन्ने गरेका थिए । केही दिनदेखि ७० प्रतिशत जति ग्राहकले काजु किन्छन् ।’

यसअघि कोरोनाकालमा काजुको बिक्री यसैगरी बढेको उनको अनुभव छ । अहिले चाहिं के कारणले माग बढेको हो भन्ने उनले हेक्का पाएका छैनन् ।

‘काेरोनाको बेला शरीरमा तागत आउँछ भनेर काजुको माग बढेको थियो । तिहारका बेला अत्यधिक माग हुनु स्वाभाविक हो । अहिले खोइ के कारण हो, झण्डै तिहारकै बेलामा जस्तो बिक्री बढेको छ’, अग्रवालले दाबी गरे ।

ज्योति ट्रेडर्सका सञ्चालक रमेश मिश्रले पनि नेपाली बजारमा काजुको माग केही दिनदेखि बढेको उल्लेख गरे । ‘देश आर्थिक मन्दीमा छ भन्छन् । अन्य वस्तुहरुको बिक्री कमजोर छ । तर, काजुको बिक्री भने अचानक बढेको छ’, मिश्रले भने ।

दैनिक ३ देखि ५ केजीसम्म काजु बिक्री हुने ठाउँमा अहिले ८ देखि १२ केजी बिक्री भइरहेको उनको अनुभव छ । पसलमा काजु किन्न आउने कतिपय ग्राहक खितखित हाँस्ने गरेको पनि मिश्र बताउँछन् ।

‘खोइ किन काजुलाई यसरी हाँसोको विषय बनाइएको हो, थाहा छैन । हामी व्यापारीलाई व्यापार भए पुग्यो, अरु चासो नै छैन’, उनले भने ।

बजारमा काजुको अभाव भने नरहेको पसलेहरु बताउँछन् । नेपालमा प्रतिकिलो १ हजार ५ सयदेखि २ हजार ३ सयसम्म मूल्यमा काजु बिक्री हुने गरेको छ ।

कति आयात हुन्छ काजु ?

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा नेपालमा विभिन्न देशबाट ४१ करोड ४५ लाख रुपैयाँ बराबरको ६ लाख ३३ हजार केजी काजु आयात भएको छ ।

नेपालमा चीन, भारत, नाइजेरिया, भियतनाम, सिंगापुरलगायतका देशबाट काजु आयात भएको छ । भारतबाट सबैभन्दा धेरै ५० करोड रुपैयाँको काजु नेपालमा भित्रिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *