चैतभित्र पूँजी वृद्धि नगर्ने बीमा कम्पनी कारबाहीमा पर्ने – Nepal Press

चैतभित्र पूँजी वृद्धि नगर्ने बीमा कम्पनी कारबाहीमा पर्ने

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पूँजी वृद्धि गर्न दिएको समय सीमा यो चैतमा सकिँदैछ । तर, कतिपय बीमा कम्पनीहरुले तोकिएको चुक्ता पूँजी पुर्‍याउन सकेका छैनन् ।

निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई चैत मसान्तभित्र पाँच अर्ब चुक्ता पूँजी पुर्‍याउन प्राधिकरणले गत वर्षको चैतमै निर्देशन दिएको थियो ।

प्राधिकरणको निर्देशनपछि २१ बीमा कम्पनी मर्ज भई १० वटामा झरेको छ । तर पनि केहीको मर्जपछि पनि चुक्ता पूँजी पुगेको छैन । मर्जमा गएर पनि पूँजी वृद्धि गर्न नसकेको बीमा कम्पनीलाई भने ३० प्रतिशतसम्म हकप्रद जारी गर्न दिइने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

तर, पूँजी वृद्धिका लागि कुनै पनि कसरत नगर्ने र पूँजी पनि नपुर्‍याउने कम्पनीका लागि भने ऐनबमोजिम कारबाही गरिने सिलवालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार विदेशी लगानीका बीमा कम्पनीले हकप्रद शेयरको माग गरेको अवस्थामा मात्रै प्राधिकरणले स्वीकृति दिनेछ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानको पूँजी पनि कम छ । तिनीहरुले अर्थ मन्त्रालयमा पूँजी वृद्धिको प्रस्ताव पेश गरेका छन् । यी कम्पनीहरुले पनि समयमै पूँजी नपुर्‍याए कारबाहीमा पर्ने प्राधिकरणले भनेको छ । विदेशी लगानीका नेशनल लाइफ इन्सुरेन्स, मेटलाइफ र ओरियन्टल इन्सुरेन्स रहेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी रहेका छन् । बाँकी निजी बीमा कम्पनी हुन् ।

मर्जरपछि कस्तो छ बीमा कम्पनीको स्थिति ?

हिमालयन जनरल र एभरेष्ट इन्सुरेन्स कम्पनी मर्ज भएर हिमालयन एभरेष्ट इन्सुरेन्स बनेको छ । मर्ज भएको कम्पनीले साउनमै एकीकृत कारोबार सुरु गरेको थियो । यसको चुक्ता पूँजी दुई अर्ब २८ करोड रुपैयाँ छ । पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणमा हिमालयन एभरेष्टले चुक्ता पूँजी पुर्‍याएको देखिन्छ । किनभने निर्जीवन बीमा कम्पनीको साढे दुई अर्ब पूँजी हुनुपर्ने व्यवस्था छ ।

यस्तै तीनवटा जीवन बीमा कम्पनी एभरेष्ट इन्सुरेन्स, गुराँस लाइफ र युनियन लाइफ मिसिएर हिमालयन लाइफ इन्सुरेन्स बनेको छ । मर्जपछि यसको चुक्ता पूँजी करिब ८ अर्ब छ । यसको पनि तोकिएको पूँजी पुर्‍याएको छ

सूर्यलाइफ र ज्योति लाइफ मिलेर सूर्यज्योति लाइफ इन्सुरेन्स बनेको छ । मर्ज भएको कम्पनीले पुस ७ गते एकीकृत कारोबार सुरु गरेको थियो । हाल यसको चुक्ता पूँजी चार अर्ब ५४ करोड रुपैयाँ छ । मर्जरबाट नपुगेको पूँजी अब हकप्रद शेयर जारी गरेर पुर्‍याउन सक्नेछ ।

यस्तै रिलायन्स लाइफ र सानिमा लाइफ इन्सुरेन्स मिलेर सानिमा रिलायन्स लाइफ बनेको छ । मर्ज भएको कम्पनीले चैत ९ गते एकीकृत कारोबार सुरु गरेको छ । सानिमाको चुक्ता पूँजी दुई अर्ब र रिलायन्स लाइफको दुई अर्ब १० करोड रुपैयाँ छ । जसले गर्दा मर्जरपछि पनि चुक्ता पूँजी पुगेको छैन ।

महालक्ष्मी लाइफ र प्रभु लाइफ पनि मर्ज भएर यही चैत ३० गते एकीकृत कारोबार हुँदैछ । प्रिमियर र सिद्धार्थ इन्सुरेन्स गाभिएर सिद्धार्थ प्रिमियर बनेको छ । यी दुई कम्पनीको चुक्ता पूँजी दुई अर्ब ८० करोड रुपैयाँ छ । हाल सिद्धार्थको चुक्ता पूँजी एक अर्ब ४० करोड र प्रिमियर इन्सुरेन्सको एक अर्ब ४० करोड रुपैयाँ छ । मर्ज भएको यसले फागुन १७ गते एकीकृत कारोबार गरेको थियो ।

सगरमाथा इन्सुरेन्स र लुम्बिनी जनरल इन्सुरेन्स गाभिएर सगरमाथा लुम्बिनी इन्सुरेन्सको नाममा फागुन २९ गते एकीकृत कारोबार सुरु गरेको थियो । यसको पूँजी पुग्ने देखिन्छ ।

सानिमा जनरल इन्सुरेन्स र जनरल इन्सुरेन्स मिलेर सानिमा जीआईसी बनेको छ । यी निर्जीवन बीमा कम्पनीले कात्तिक ७ गते एकीकृत कारोबार गरेको थियो ।

युनाइटेड इन्सुरेन्स र अजोड इन्सुरेन्स गाभिएर युनाइटेड अजोड बनेको छ । युनाइटेडको एक अर्ब दुई करोड र अजोडको एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्सलाई बीमा प्राधिकरणले फागुन २७ गते मर्जको अन्तिम स्वीकृति दिएको छ । यी दुई निर्जीवन बीमा कम्पनी गाभिएर आइजीआई प्रुडेन्सियलको नामबाट कारोबार हुने सम्झौता भइसकेको छ । यिनीहरुले चैत २२ गते विशेष साधारणसभा गर्दैछन् ।

कस्तो छ मर्जरमा नगएका बीमा कम्पनीको अवस्था ?

नेपाल लाइफ इन्सुरेन्सको पूँजी पुगिसकेको छ । यसको चुक्ता पूँजी ८ अर्बभन्दा बढी छ । एलआईसी विदेशी लगानीको बीमा कम्पनी हो । एशियन लाइफ इन्सुरेन्सको दुई अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी छ । यसको पनि पूँजी पुगेको छैन ।

त्यस्तै सिटिजन लाइफ इन्सुरेन्सले भने संस्थापकले नै थप गरेर पूँजी वृद्धि गर्ने जानकारी प्राधिकरणलाई गराएको छ । हाल यसको चुक्ता पूँजी दुई अर्ब ६२ करोड रुपैयाँ रहेको पुस मसान्तसम्मको वित्तीय अवस्थाले देखाउँछ । सननेपाल, रिलायबल, एनएलजी इन्सुरेन्सको पनि संस्थापकले नै थप गरेर पूँजी वृद्धि गर्ने योजना छ ।

नेशनल लाइफ, नेको इन्सुरेन्सको भने पूँजी पुगेको छ । विदेशी लगानीको नेशनल लाइफ इन्सुरेन्स र ओरियन्टल रहेका छन् । नेशनल लाइफको ४ अर्ब ६४ करोड रुपैयाँ पूँजी छ । ओरियन्टलले भने आफ्नो वित्तीय विवरणमा पूँजी उल्लेख गरेको छैन । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको पूँजी २६ करोड रुपैयाँमात्र छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर