कपिलधाममा केपी ओलीको प्रवचन, गुरुकुल र कपिलमुनि आश्रमलाई दिए ५ लाखको अक्षयकोष – Nepal Press

कपिलधाममा केपी ओलीको प्रवचन, गुरुकुल र कपिलमुनि आश्रमलाई दिए ५ लाखको अक्षयकोष

रुपन्देही । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बेलाबेलामा राजनीतिक भन्दा अध्यात्मिक प्रवचनमा अझ प्रष्ट खुल्छन् । संस्कृतका प्रकाण्ड विद्वानहरुलाई माथ गर्ने ओलीले केही वर्षअघि अयोध्या नेपालमा थियो भन्दा सिंगो भारतमा समेत खैलाबैला भएको थियो ।

एमालेको मिसन ग्रासरुट चलिरहेका बेला शनिबार कपिलवस्तु पुगेका ओली अचानक कपिलमुनि (ऋषि)को आश्रममा पुगे । कपिल ऋषिले तपस्या गरेको र ज्ञान बाँडेको ठाउँका रुपमा लिइने यो ठाउँ वाणगंगा नगरपालिका वडा नम्बर ९ मा कपिलधामका रुपमा अवस्थित छ ।

ओली शनिबार साँझ कपिलधाममा पुग्दा त्यहाँ बटुकहरुले स्वागत गरे । कपिलमुनि वैदिक संस्कृति विद्यापीठ गुरुकुलमा करीव २० मिनेट उनले प्रवचन दिए । ओलीले मानव जातिको इतिहासमा महर्षी शिव र बेद तथा मन्त्रहरुको पनि महामन्त्र अर्थात गायत्री मन्त्रका रचियता विश्वासमित्रपछिका महान विद्धान कपिल ऋषि भएको सुनाए ।

त्रेता युगको अन्ततिर जन्मिएका कपिल ऋषि असाधारण दार्शनिक रहेको भन्दै ओलीले सांख्य दर्शन र योग उनैले व्यवस्थित गरेको बताए । कपिलमुनिले योगमा ठूलो योगदान गरेको भन्दै पछिल्लो समय भारतको गंगासागरमा कपिलको आश्रम बनाइएको भए पनि त्यो नक्कली कपिलधाम रहेको ओलीले प्रष्ट पारे ।

कपिल ऋषि कपिलवस्तुमै जन्मिएको र उनले ज्ञान आर्जन तथा दर्शनको प्रादुर्भाव पनि यहीँबाट गरेको भन्दै ओलीले कपिलधामको विकासमा सक्दो सहयोग गर्ने बताए । उनले आश्रमको व्यवस्थापन र गुरुकुलमा पढ्ने बटुकहरुको पोशाकलाई सहयोग भन्दै ५ लाखको अक्षयकोष स्थापना समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *