मोदीलाई प्रियंका गान्धीको प्रश्न- एउटा व्यक्तिलाई कति अपमान गर्छौ ? के भगवान् राम र पाण्डव परिवारवादी थिए ? – Nepal Press

मोदीलाई प्रियंका गान्धीको प्रश्न- एउटा व्यक्तिलाई कति अपमान गर्छौ ? के भगवान् राम र पाण्डव परिवारवादी थिए ?

‘भारतको झन्डा र धर्तीमा हाम्रा पुर्खाको रगत छ’

काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाइएपछि उनको परिवार आक्रोशित बनेको छ ।

राहुलकी दिदी प्रियंकाले उत्तर प्रदेशमा एक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारले एउटै व्यक्ति र परिवारको पटकपटक अपमान गरिरहेको आरोप लगाएकी छन् ।

सन् १९९१ मा आफ्ना पिता राजिव गान्धीको हत्यापछि भएको शव ¥यालीमा राहुल गाडीबाट उत्रिएर पैदलै अन्त्येष्टीमा सहभागी भएको स्मरण गर्दै प्रियंकाले भनिन्, ‘शहीद पिताको अपमान संसदमा गरिन्छ । ती शहीद पिताका छोरालाई तपाईं देशद्रोही भन्नुहुन्छ । मिर जाफर भन्नुहुन्छ । उसकी आमाको अपमान गर्नुहुन्छ । मन्त्रीहरु संसदमा आमाको अपमान गर्छन् । मुख्यमन्त्री नै भन्छन्– राहुल गान्धीलाई थाहा छैन उनका बुबा को हुन् ?’

त्यसपछि प्रधानमन्त्री मोदी पनि आफ्नो परिवारको पछि लागेको उनले उल्लेख गरिन् । ‘प्रधानमन्त्री नेहरु नामलाई हाम्रो परिवार किन प्रयोग गर्दैन भनेर संसदमा बोल्छन् । पुरा पुरा परिवारको, कश्मिरी पन्डित संस्कारको अपमान निरन्तर हुन्छ’, उनले भनिन्, ‘त्यस्ता व्यक्तिलाई २ वर्षदेखि कुनै सजाय हुँदैन । जेलको सजाय हुँदैन । संसदबाट कसैले निकाल्दैन । ८ वर्षसम्म चुनाव लडंन पाइदैन भनेर प्रतिबन्ध लगाईदैन ।’

उनले अगाडि थपेकी छन्, ‘हाम्रो परिवारका सदस्य शहीद भएका थिए भनेर सम्झन लाज मान्नुपर्ने हो ? हामीलाई परिवारवाद भनेर आरोप लगाइन्छ । यो देशको झन्डामा हाम्रा पुर्खाको रगत छ, धर्तीमा उनीहरुको रगत छ । देशको लोकतन्त्रलाई हाम्रो परिवारको बलिदानीले सिन्चित गरेको छ ।’

प्रियंकाका अनुसार राहुलले संसदमा प्रधानमन्त्री मोदीको नजिक गएर उनलाई दुईजनाको विचार नमिलेपनि आफूले कसैलाई घृणा नगर्ने गरेको बताएको पनि उल्लेख गरेकी छन् । उनले अपमान गरेर डराउने कसैको योजना भए त्यो सोचाई गलत हुने पनि बताएकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *