लुम्बिनीमा माओवादी र जनमतका मन्त्रीले दिए राजीनामा – Nepal Press

लुम्बिनीमा माओवादी र जनमतका मन्त्रीले दिए राजीनामा

अर्को सरकार बनाउन हस्ताक्षर संकलनको तयारीमा गठबन्धन

रूपन्देही । लुम्बिनी प्रदेशमा माओवादी र जनमतका ४ मन्त्रीले राजीनामा दिएका छन् ।

एमाले नेतृत्वको सरकारमा सहभागी उनीहरूले आइतबार राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री लीला गिरी रूपन्देहीमा भएकाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएको मन्त्री इन्द्रजित चौधरीले बताए । राजीनामा बुझाएसँगै उनीहरू प्रदेश प्रमुखको कार्यालयमा थप प्रकृया बुझ्न गएका छन् ।

माओवादीबाट जाेखबहादुर महरा, इन्द्रजित चाैधरी, कृष्णा केसीले मन्त्रीबाट राजीनामा दिएका छन् । यसैगरी जनमतका मन्त्री सीके गुप्ताले पनि राजीनामा दिएका छन् ।

कांग्रेस सांसद बसिउद्दिन खानले पहिलो अहिले सरकारमा रहेका दलका मन्त्रीले राजीनामा दिएपछि सरकार निर्माणको प्रकृया सुरू हुने बताए ।

माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको बताए ।

माओवादीको समर्थत फिर्तापछि लीला गिरी नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

अहिले माओवादी संसदीय दलका नेता जाेखबहादुर महरा, कांग्रेस संसदीय दलका नेता डिल्ली चाैधरी, माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालसहितका नेता प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

शनिबार कांग्रेससहितका ८ दलले सरकार फेर्ने तयारीका साथ प्रदेश प्रमुखलाई सरकार फेरबदलका लागि हस्ताक्षर बुझाउने निर्णय गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर