स्टार्टअपले ३ प्रतिशत व्याजदरमा २५ लाखसम्म ऋण पाउने, के के छन् मापदण्ड ? – Nepal Press

स्टार्टअपले ३ प्रतिशत व्याजदरमा २५ लाखसम्म ऋण पाउने, के के छन् मापदण्ड ?

काठमाडौं । नवप्रवर्तन (स्टार्टअप)ले अब ३ प्रतिशत ब्याजदरमै विनाधितो २५ लाख रुपैयाँसम्म ऋण पाउने भएको छ । यसका लागि सरकारले यही साताभित्र प्रस्ताव माग गर्ने तयारी गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९ स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको हो । योसँगै नेपालमा पहिलो पटक स्टार्टपले सहुलियतपूर्ण ब्याजमा विनाधितो कर्जा पाउनेछ । यसको कार्यान्वयनको जिम्मा उद्योग विभागले पाएको छ ।

स्टार्टअप कार्यान्वयन समितिको बैठक बसेर आज ऋण चाहिने स्टार्टअपको प्रस्ताव माग गरिने विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपालप्रेसलाई जानकारी दिए ।

स्टार्टअप उद्यम कार्यान्वयन कार्यान्वयन समितिको संयोजक उद्योग विभागकै महानिर्देशक हुन् । उनले भने, ‘यही साताभित्र सूचनामार्फत २१ दिनको समय राखेर स्टार्टअपको प्रस्ताव माग गर्दैछौं । त्यसपछि मूल्यांकन र राष्ट्र बैंकमा खाता खोलेर रकम जम्मा गर्ने काम सँगसँगै हुन्छ । मापदण्ड पूरा भएर छानिएकाले ऋण पाउँछन् ।’

उद्योग मन्त्रालयले सरकारले विनियोजन गरेको रकम नेपाल राष्ट्र बैंकमा स्टार्टअपको छुटटै खातामा राख्ने गरी कार्यविधि बनेको छ । यस्तो ऋण सरकारी स्वामित्वका तीन वाणिज्य बैंकबाट प्रवाह हुनेछ । परियोजना नै धितो मानेर दिइने ऋणको व्याजदर तीन प्रतिशत हुनेछ । व्यवसाय सञ्चालन भएको सात वर्षभन्दा कम समयका व्यवसायीले मात्र यस्तो ऋण पाउनेछन् ।

यस्ता छन् मापदण्ड

चुक्ता पूँजी ५० लाखभन्दा बढी नभएको, उद्यमको कुल आय वार्षिक ५० लाखभन्दा बढी नभएको, स्थिर पूँजी (घरजग्गाको मूल्यबाहेक) २ करोडभन्दा बढी नभएको, उद्यममा पूर्णकालीन कामदारको संख्या १० जनाभन्दा बढी नभएको, वार्षिक रुपमा गर्ने कुल खर्चको ५ प्रतिशत अंश उत्पादन, विकास बजार अनुसन्धान र विकास खर्च गर्ने गरेकोलगायतका मापदण्ड पुगेको उद्यमले ऋण पाउनेछ ।

कृषि तथा पशुपंक्षी र वनमा आधारित उद्यम, पर्यटन, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, मानव स्वास्थ्यसँग सम्बन्धित उद्यमले यस्तो ऋण पाउनेछ । अटोमोबाइलसँग सम्बन्धित, परम्परागत प्रविधि, खानी तथा खनिज अनुसन्धान, खाद्य उत्पादन, फोहोरमैला व्यवस्थापनलगायतका उद्यमले पनि कर्जा पाउनेछ ।

मापदण्ड पुगेका र तोकिएका उद्यमले सरकारले राष्ट्रियस्तरको पत्रिकामा प्रस्ताव माग गर्दै सूचना जारी गरेपछि त्यसमा स्टार्टअपले प्रस्ताव हाल्न सक्नेछ । आवेदन परेकामध्येबाट छनोट गर्न स्टार्टअप कार्यान्वयन समितिले उपसमिति गठन गर्नेछ । उपसमितिले छनोट गरेका उद्यमी ऋणका लागि योग्य हुनेछन् ।

उनीहरुले सरकारी वाणिज्य बैंक (नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक) बाट दुई किस्तामा ऋण पाउनेछन् । पहिलो किस्ता ५० प्रतिशतको हुनेछ । पहिलो किस्ता भुक्तानी भएको ६ महिनाभित्र दोस्रो किस्ता माग गर्न सकिनेछ । यस्तो कर्जाको अवधि सात वर्षको हुनेछ । कर्जा लिएको तेस्रो वर्षबाट सावाँ तथा व्याज फिर्ता गर्दै जानुपर्नेछ ।

साँवा रकम स्टार्टअप कोषमा जम्मा भए पनि व्याज रकम भने सम्बन्धित बैंकले नै राख्न सक्नेछ । बैंकहरुले कर्जा प्रवाह गर्दा कुल कर्जाको ०.१ प्रतिशत प्रशासनिक शुल्कवापत लिन सक्ने व्यवस्था कार्यविधिले गरेको छ ।


प्रतिक्रिया

One thought on “स्टार्टअपले ३ प्रतिशत व्याजदरमा २५ लाखसम्म ऋण पाउने, के के छन् मापदण्ड ?

  1. स्टार्ट अप को नाउँमा उधोग संचालन को समय सिमा तोक्नु उचित हैन। उधोग खोलेको १ वर्ष होस वा १२ वर्ष को होस, कतिपय उधोग हरु आर्थिक अभाव मा वा उपयुक्त मेसिन औजार को अभावमा उधोग विस्तार गर्न सकिरहेका हुँदैनन्, सरकार ले त्यसता उधोग हरु लाई संचालन गर्न टेवा दिने हो। जसले फर्म मात्र दर्ता गरेर अनुदान वा सहुलियत पुर्ण ऋण को दुरुपयोग गर्नेलाई सुविधा दिएर कुनै सकारात्मक नतिजा निस्कदैन। यस कुरा मा बिचार गरोस, सम्बन्धित निकायले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर