गठबन्धनको बैठक बस्दै, बन्ला त मन्त्रालयको भागबन्डामा सहमति ? – Nepal Press

गठबन्धनको बैठक बस्दै, बन्ला त मन्त्रालयको भागबन्डामा सहमति ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।

आज बेलुका बस्नेगरी प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए । उनले भने, ‘आज बेलुका मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न बैठक बस्छ । तर, अहिलेसम्म समय तय भइसकेको छैन ।’

प्रधानमन्त्री प्रचण्डले बेलुका सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न लागेका हुन् । आजको बैठकमा प्रधानमन्त्रीले गठबन्धनमा सहमति जुटाउने प्रयास गर्ने जनाइएको छ ।

आज शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । शनिबार बसेको माओवादीको पदाधिकारी बैठकले सोमबारसम्ममा सरकारलाई पूर्णता दिनुपर्ने सुझाव दिएको थियो । पार्टीको सुझावअनुसार प्रधानमन्त्रीले गृहकार्य अघि बढाएका हुन् ।

गठबन्धनमा कांग्रेसले ८, माओवादीले प्रधानमन्त्रीसहित ५ मन्त्रालय पाउने लगभग सहमति भएको छ । तर, नेकपा एस र जसपाले ३–३ मन्त्रालय दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेकपा एस र जसपालाई दुई–दुई मन्त्रालय दिन तयार छन् । आफूले राष्ट्रपतिदेखि सभामुखसम्म कुनै ठूला पदमा दाबी नगरेकाले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने नेकपा एसको अडान छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि तीन मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी छ । जनमत, लोसपा, नागरिक उन्मुक्ति, आम जनता, नेपाल समाजवादी पार्टीलाई एकएक मन्त्रालय दिने तयारी छ ।

तर, लोसपा र जनमतले एक मन्त्रालयमा चित्त नबुझाउने संकेत गरिसकेका छन् । त्यही विषयमा प्रधानमन्त्री प्रचण्डले सबै दलका शीर्ष नेताहरुसँग एक्लाएक्लै छलफल गरिसकेपछि मात्रै संयुक्त बैठक राख्न लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर