मिसन ग्रासरुटमा हिँडेका एमाले नेताका हातमा घन, कोदालो र डस्टविन- श्रम शिविरबाटै सडक सञ्चालन (भिडिओ) – Nepal Press

मिसन ग्रासरुटमा हिँडेका एमाले नेताका हातमा घन, कोदालो र डस्टविन- श्रम शिविरबाटै सडक सञ्चालन (भिडिओ)

तेह्रथुम । नेकपा एमालेको पार्टी संगठन सुदृढीकरणका लागि मिसन ग्रासरुट अभियान चलिरहेका बेला तेह्रथुममा भने यहाँका नेता कार्यकर्ता फरक भूमिकामा देखिएका छन् ।

तेह्रथुममा मिसन ग्रासरुटको नेतृत्व गरेर गएका एमाले केन्द्रीय सदस्य तथा संविधानभा सदस्य यज्ञराज सुनुवार आफैं घन र कोदालो बोकेर श्रम शिविरमा निस्किएपछि यहाँका अन्य नेता कार्यकर्ता पनि श्रममा जुटेका छन् ।

शनिबार स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईसमेत श्रम शिविरमा सहभागी भएका छन् । छथर गाउँपालिकाको सिदुवाबाट वडा नम्बर १ को वडा कार्यालय हुँदै शुक्रबारे जोड्ने सडकको अवरोध हटाएर एमालेको मिसन ग्रासरुटले सहज यातायात सञ्चालनको अवस्था बनाएको छ ।

वर्षात र अन्य कारण राम्रोसँग सञ्चालन हुन नसकेको सडकमा एमालेले श्रम शिविरमार्फत अवरोधहरू पन्छाएर यो सातादेखि बस सन्चालन गर्न मिल्नेगरी काम सम्पन्न भएको मिसन ग्रासरुटका लागि तेह्रथुम खटिएका नेता सुनुवारले बताए ।

श्रम शिविरमा पूर्वसांसदहरु लक्ष्मण तिवारी, तेजमान कन्दङ्वा, छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलालगायतका नेता कार्यकर्ता सहभागी छन् । छथर गाउँपालिकाका ६ वटै वडामा मिसन ग्रासरुटको राजनीतिक काममात्र नभएर श्रम शिविर सन्चालन गरिएको सुनुवारले बताए ।

गाउँपालिका कमिटीको आयोजना र वडा कमिटीहरूको व्यवस्थापनमा सबै वडामा श्रम शिविर सन्चालन भएको र ९ किलोमिटर सडकको नाली सरसफाइ तथा मर्मत गरिएको एमालेले जनाएको छ । अस्पतालहरूको सरसफाइमा समेत एमालेका ६४७ जना नेता कार्यकर्ता सहभागी भएको गाउँपालिका कमिटीले जनाएको छ ।

एमालेको मिसन ग्रासरुट अन्तर्गत श्रम शिविर सञ्चालन भएको भने यो पहिलो हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर