बाबुरामको विश्लेषण- कांग्रेस र एमाले मिल्ने सम्भावना छैन, उनीहरूको विकल्प राजावादी हुन सक्दैनन् (भिडिओ) – Nepal Press
नेपाल टक

बाबुरामको विश्लेषण- कांग्रेस र एमाले मिल्ने सम्भावना छैन, उनीहरूको विकल्प राजावादी हुन सक्दैनन् (भिडिओ)

‘हाम्रो जोड माओवादी वा कुनै एउटा पार्टीसँग एकता गर्ने भन्दा पनि विचार मिल्ने दलहरूको समाजवादी केन्द्र बनाउनेमा छ’

सुर्खेत । नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको पहल गरिरहेका पूर्व माओवादी नेता डा.बाबुराम भट्टराईले कांग्रेस एमालेजस्ता दलहरूको विकल्प राजावादी हुन नसक्ने भन्दै वैकल्पिक शक्तिहरू आवश्यक रहेको बताएका छन् ।

पार्टी कामको सिलसिलामा सुर्खेत पुगेका नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री भट्टराईले नेपाल प्रेसकर्मी अप्सरा विष्टसँग कुरा गर्दै कांग्रेस र एमाले मिलेर सरकार दिने खालको राजनीतिक परिस्थिति पनि नरहेको बताए ।

प्रस्तुत छ माओवादीसँगको एकता प्रक्रियालगायत विषयमा भट्टराईसँग गरिएको कुराकानी नेपाल टकमा ।

कर्णालीका राजधानीमा के–कति कामले आइपुग्नु भयो ?

अहिले म हाम्रो पार्टीको आन्तरिक कामले आएको हुँ ।नेपाल समाजवादी पार्टी नेपालमा नयाँ समाजवादी धार हो । समाजवादी केन्द्र निर्माण गरौँ भन्ने लक्ष्यका साथ हामीले केही वर्षदेखि प्रयत्न गरेका छौँ । यसै क्रममा पार्टीको प्रदेशस्तरीय भेलाको निमित्त म यहाँ आएको हुँ ।

यो गठबन्धन बनेपछि तपाईँले सामाजिक सञ्जालमा असन्तुष्टि जनाउनु भएको थियो नि ?

मैले त सुरु देखि के भनेको छु भने,नेपालको संविधान बनाउने क्रममा म नै त्यसको संवैधानिक समितिको सभापति थिएँ । त्यति बेला काँग्रेस र एमालेको बहुमत भएको कारणले गर्दा हामीले चाहेजस्तो शासकीय प्रणाली र निर्वाचन प्रणाली बनाउन सकिएन ।

त्यसले जुन खालको निर्वाचन प्रणाली र अल्लि सुधारिएको संसदीय व्यवस्थाको हामीले अभ्यास गरेका छौँ,त्यसले अहिले कुनै पनि पार्टीलाई बहुमत दिँदैन । संविधान निर्माणपछि २ पटक निर्वाचन भइसक्यो । कसैको पनि बहुमत आएन ।

देशमा राजनीतिक स्थिरता नभएसम्म आर्थिक विकास र समृद्धि हुँदैन । म एउटा राजनीति अर्थशास्त्र पढेको नाताले म यो ठोकेरै भन्न सक्छु । यस्तो अस्थिरता निम्त्याउने शासकीय प्रणालीलाई बदलेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानपर्छ । त्यसैले गठबन्धनको बाध्यताको विरोधी म होइन ।

१० दलीय गठबन्धन बन्यो सबैलाई भागबन्डा मिलाउन पर्दा त्यति सहज त देखिन्न नि ?

गठबन्धन भनेकै यस्तै हुन्छ । त्यसैले एउटै दलको बहुमत हुने प्रणाली अपनाउनु पर्‍यो । त्यो नगरेसम्म त यस्तो समस्या भइरहन्छ । त्यसैले,हामीले धेरै समय अल्झिएर बस्नु हुँदैन । छिटोभन्दा छिटो यसलाई टुङ्गाएर एउटा स्थिर सरकार दिनुपर्छ ।

गठबन्धन दलहरुकाबीचमा कुराकानी हुँदा हामी हाम्रो सत्ताको भागबन्डामा धेरै अल्झिनु हुँदैन । मुद्दा केन्द्रित हुनुपर्छ । नीति कार्यक्रममा केन्द्रित हुनुपर्छ । त्यसका मूल एजेन्डा ४ वटा छन् । जसमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, संविधानमा अपूर्णता रहेका कामलाई पूर्णता दिएर सबैको सहभागिता जुटाउने र देशभित्र राष्ट्रिय एकता कायम गर्ने ।

भारत, चीन र अमेरिकाको जुन द्वन्द्व बढ्दै छ, त्यसको समाधान गर्नका लागि राष्ट्रिय समझदारी र तीव्र आर्थिक विकास र समृद्धि रहेका छन् । र यस्ता विषयमा हामी केन्द्रित हुनुपर्छ भनेर मैले बारम्बार भन्ने गरेको छु । मेरो जोड नै त्यसैमा छ । मैले राजनीतिक भागबन्डामा कहिले पनि असन्तुष्टि व्यक्ति गर्दिन । र त्यस विषयमा मलाई नमुछ्दा पनि हुन्छ ।

माओवादीसँगको तपाईँहरूको पार्टी एकता केमा रोकियो  ?

माओवादीसँग पार्टी एकता होइन,नयाँ समाजवादी ध्रुव निर्माण गर्नुपर्छ भन्ने विषयमा पहिलेदेखि नै छलफल चलिरहेको छ । नेपाल समाजवादी पार्टी नेपालमा पुँजीवादी र साम्यवादी दुई वटा धारहरू छन्,त्यसले नेपालको अहिलेको वस्तुस्थितिको सम्बोधन गर्न सक्दैन भन्ने मान्यता राख्छ ।

त्यसैले, लोकतन्त्रको मूल्यमान्यतामा आधारित र समावेशी तथा सहभागीतामुलुक लोकतन्त्र सहितको नयाँ एउटा समाजवादी धार नेपालमा चाहिन्छ र आर्थिक हिसाबले पनि बजार र राज्यको सन्तुलित भूमिका हुने प्रणाली नै समाजवादी आर्थिक नीति हो ।

त्यसैले राजनीतिक रूपमा पनि लोकतन्त्र सहितको र सामाजिक न्यायसहितको प्रणाली, आर्थिक रूपमा पनि बजार र राज्यको दुई वटाको नै उचित भूमिका भएको प्रणाली । यसलाई उन्नत प्रकारको समाजवाद भन्ने परिभाषित गर्ने समाजवादी धार निर्माण गरौँ भन्नेमा हाम्रो जोड हो । हाम्रो कुनै एउटा दलसँगको एकता भन्दा पनि समाजवादी नयाँ धार निर्माण गर्ने र केन्द्र निर्माण गरौँ भन्ने बहस हो ।

नेपाल समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी मर्ज हुने भन्ने थियो, यो सत्य हो  ?

दुईवटा पार्टी मर्ज हुने कुरा गरेका छैनौँ । नेपाल समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, आमजनता पार्टी लगायतका पार्टीहरूले जुन समाजवादी कार्यक्रममा विश्वास गर्छन्, तिनीहरूको बिचमा छलफल गरेर हामीले सकिन्छ एउटै पार्टी बनाउने, सकिँदैन भने एउटा मोर्चा बनाएर जाने भन्ने विषयमा छलफल भइरहेको छ ।

वाम एकताको कुरा गर्नुहुन्छ, सत्ताका लागि कांग्रेससँग घाँटी जोड्न किन तयार भएका कम्युनिस्टहरू ?

यो दुर्भाग्य र बाध्यता हो । दलको बहुमत नहुँदा चुनावी लाभले गर्दा कहिले कसैसँग मिल्ने, कहिले कसैसँग मिल्नुपर्ने बाध्यता भयो । तर त्यसले पार्टी र देशलाई हित गर्दैन । बिचार मिल्ने शक्तिहरूको बिचमा नै हामीले एउटा धु्रविकरण गरेर काँग्रेस र कम्युनिस्टको दीर्घकालीन रूपमा विकल्प दिने प्रयत्न गर्नुपर्छ । त्यो नभएसम्म जो प्रगतिशील वामपन्थी, लोकतान्त्रिक सोच राख्ने शक्ति हो,उनीहरूले बृहत् मोर्चा बनाएर सहकार्य गर्ने र बिचार मिल्ने सक्तीहरूबिच पार्टी एकता पनि गर्दै जाने त्यो तरिका ठिक हुन्छ भन्ने मलाई लाग्छ ।

यो गठबन्धनको भविष्य कति लामो देख्नुहुन्छ ?

भविष्यवाणी गर्ने कुरा त होइन । तर, पटक पटक अस्थिरतामा मात्रै अल्झायो भने देश गरिबी, बेरोजगारीमा पर्छ । यस चरणमा आर्थिक संकट छ । भूराजनीतिक जटिलता झन् बढ्दै गएको छ । छरछिमेकमा जुन प्रकारका धारहरू मुखरित भइरहेका छन्,त्यसले गर्दा ठिक ढङ्गले राष्ट्रिय एकता कायम गर्न सकिएन भने राष्ट्रिय स्वाधीनतामाथि नै ठुलो संकट आउने खतरा बढी छ ।

दलहरूले सत्ता र शक्तिको भागबन्डामा समय खेर फाल्नुभन्दा यो ५ वर्ष सम्म स्थिरताको सरकार दिनुपर्छ । शासकीय स्वरूपमा सुधार, शान्ति प्रक्रियाको पूर्णता र आर्थिक विकास सम्बन्धी नीतिमा राष्ट्रिय सहमति जुटाउने प्रयत्न गर्नुपर्छ ।

यसबीचमा कांग्रेस–एमाले मिल्ने सम्भावना कति होला ?

काँग्रेस एमाले ३०/३५ वर्ष देखि नै अस्तित्वमा छन् । बहुदलमा अलग अलग दलहरू हुन्छन् । मिल्ने भन्नाले सहकार्य हुनसक्छ । तर, बिचार फरक हुनाले काँग्रेस एमाले एक ठाउँमा मिल्ने म देख्दिन । मिल्ने सम्भावना पनि देखिन्न र आवश्यकता पनि छैन । आवश्यकता के हो भने काँग्रेस र एमालेको विकल्पमा अग्रगामी प्रगतिशील वामपन्थी सोच राख्ने जो शक्तिहरू छन् तिनीहरुबीच एकता हुनुपर्छ ।

जसले तीव्र रूपमा आर्थिक विकास र समृद्धि चाहन्छ । देशको राष्ट्रिय स्वाधीनता बलियो पार्न चाहन्छ । त्यस्ता शक्तिहरू एक ठाउँमा आएर विकल्प दिनपर्याे । विकल्प नहुँदा त्यही काँग्रेस र एमाले आइराख्छ । त्यसको आवश्यकतामा अर्को अग्रगामी प्रगतिशील धार आउनुपर्‍यो । अब, कोही राजावादी आउनु त्यसको विकल्प नै होइन । देख पछाडि फर्किने राम्रो विकल्प नै होइन । त्यसले देश झन् द्वन्द्वमा जान्छ

यसको मतलब १० दलीय गठबन्धनको भएपछि कांग्रेस एमाले मिल्न पर्दैन भन्ने हो ?

एमालेसहित यो शान्ति प्रक्रिया टुङ्गाउनमा भूमिका छ । अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नहरू छन्,विवादका कुराहरू छन् । यसको हल गर्न एकैठाउँमा आएर सहकार्य गर्नपर्छ भनेर मैले भनेको छु । माओवादी काँग्रेस र हामी एक ठाउँमा आउनुको कारण शान्ति प्रक्रिया टुङ्गाउनका लागि हो । शान्ति प्रक्रियामा हस्ताक्षर गर्दा माओवादी,एमाले र काँग्रेस दलहरू हुन् । उनको सहयोग विना शान्ति प्रक्रिया टुङ्गिँदैन ।

मध्यावधिको सम्भावना कत्तिको देख्नुहुन्छ ?

भरखरै बच्चा जन्मिएको छ । त्यहिबच्चा मर्छ के हुन्छ भन्ने कुरा गर्नु हुँदैन । भर्खरै निर्वाचन सम्पन्न भएको छ । यतापट्टी अहिले सोच्ने बेला छैन र सोच्नु हुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर