काभ्रे पुगेर आरजुको टिप्पणी- घण्टी कांग्रेस सुनेकी थिएँ, यहाँ त सूर्यमुखी कांग्रेस रहेछन् (भिडिओ) – Nepal Press

काभ्रे पुगेर आरजुको टिप्पणी- घण्टी कांग्रेस सुनेकी थिएँ, यहाँ त सूर्यमुखी कांग्रेस रहेछन् (भिडिओ)

बनेपा । नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले चुनावमा आफ्ना उम्मेदवार हराउन सूर्यमुखी र घण्टी कांग्रेसहरु उब्जिएको टिप्पणी गरेकी छन् ।

नेपाल तरुण दल काभ्रेले बनेपामा आयोजना गरेको कार्यक्रममा आरजुले आफूलाई पनि अघिल्लो चुनावमा कांग्रेसीहरुले नै हराएको बताइन् ।

राणाले भनिन्– अचेल कांग्रेसका उम्मेदवारले चुनावमा जाँदा २०/२५ प्रतिशत कार्यकर्ताले भोट हाल्दैनन् भन्ने अवस्था छ । यसपालि पनि हामीले ११० सीट जित्ने निश्चित थियो तर ८९ सीटमा सीमित भयौँ । पहिले त सूर्य मात्र थियो अहिले त घण्टी आयो । मैले घण्टी कांग्रेस त धेरै सुनेकी थिएँ तर यहाँ त सूर्यमुखी कांग्रेस पनि रहेछन् भन्ने थाहा पाएँ ।

कांग्रेसका आधा दर्जन केन्द्रीय नेता र सांसदहरूसहित काभ्रे पुगेकी राणासमक्ष स्थानीय केही कांग्रेस नेताले सूर्यमुखी कांग्रेसहरुले एमालेका गोकुल बास्कोटालाई जिताएको आरोप लगाएका थिए ।

बास्कोटासँग चुनावमा पराजित भएका शिव हुमागाईँलगायत उनीसमक्ष अन्तर्घातको विवरण सुनाएपछि राणाले घण्टी कांग्रेसजस्तै सूर्यमुखी कांग्रेसहरु फैलिएको बताएकी हुन् ।

राणाभन्दा अगाडि बोल्ने कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले घण्टी कांग्रेसको चर्चा गर्दै काभ्रेमा गोकुल बास्कोटालाई भोट दिने सूर्यमुखी कांग्रेसलाई माफ दिन नसकिने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर