आर्मी कलेजमा बाबुराम भट्टराईको मन्तव्य: नेपाली सेनासँग विश्वभरका सैनिक प्रेरित छन् – Nepal Press

आर्मी कलेजमा बाबुराम भट्टराईको मन्तव्य: नेपाली सेनासँग विश्वभरका सैनिक प्रेरित छन्

काठमाडौं । नेपाली सेनाको ‘आर्मी कमान्ड एण्ड स्टाफ कलेज’ले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा सत्ता गठबन्धनका नेता बाबुराम भट्टराईले विश्वका सैनिकहरू नेपाली सेनाबाट प्रेरित भएको बताएका छन् ।

‘अर्थतन्त्र र राष्ट्रिय सुरक्षा’ शीर्षकमा बिचार राख्दै भट्टराईले नेपाली सेनासँग विश्वका विभिन्न सेनाहरू प्रेरित भएर विभिन्न खालका तालिममा आउने गरेको बताएका छन् ।

नेपाली सेनाको व्यावसायिकता र शान्ति मिसनमा नेपाली सेनाले अन्तर्राष्ट्रिय रूपमा सम्मान पाएको बताउँदै भट्टराईले भनेका छन्, ‘हामी सबै तपाइ (नेपाली सेना) सँग गर्व गर्छौ ।’

युद्धको समयमा समेत नेपाली सेनाको भूमिका महत्त्वपूर्ण भएको र सेनाले प्रगतिशील अभियानमा राम्रो भूमिका खेलेको भट्टराईले भनेका छन् ।

‘जनयुद्ध कालताका म अझै सम्झन्छु सन २००३ मा सेना परिचालन भएको समयमा म पूर्व पश्चिम राजमार्ग भएर हिँड्दा नवलपरासीको दाउन्नेमा सेनाबाट सोधपुछमा परेको थिए । त्यहाँ रहेका सैनिक अधिकारीले मेरो अनुहार हेरे । मुस्कुराए र मलाई जान दिए ।’

राष्ट्रिय सुरक्षा र अर्थतन्त्रको निकट सम्बन्ध भएको भन्दै भट्टराईले नेपाल जस्तो आर्थिक रूपमा संकुचन भएको देशमा आर्थिक धक्का, ऊर्जा संकट र विश्वको निर्यात शृङ्खलामा समस्या हुँदा समस्याग्रस्त हुने बताएका छन् ।

नेपालमा जलवायु परिवर्तन, हिउँ पग्लाइ, बाढी जस्ता समस्याहरूसँग जुध्नुपर्ने भट्टराईले बताए ।

विश्वका दुई शक्तिशाली प्रतिस्पर्धी आणविक शक्तिहरूको बिचको नेपालको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षा जोगाउन जटिलता सिर्जना गरेको भट्टराईले बताएका छन् ।

नेपालले भारत, चीन र अमेरिकी शक्तिसँग आर्थिक विकासमा सहकार्य गर्नुपर्ने तर उनीहरूले प्रतिस्पर्धामा कतै लाग्न नहुने भट्टराईले बताए ।

विश्व भू अर्थनीतिको प्रसंगमा भट्टराईले ओबामा कालमा अमेरिकाले चीनसँग नरम नीति लिए पनि ओबामा पछि भने कठोर नीति लिएको भन्दै अमेरिकाले चीनलाई रोक्न भने नसक्ने तर्क गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *