क्षयरोगमा निःशुल्क उपचार सरकारको लगानीः जानेबुझेकाले गर्छन् बेइमानी – Nepal Press

क्षयरोगमा निःशुल्क उपचार सरकारको लगानीः जानेबुझेकाले गर्छन् बेइमानी

रुपन्देही । सरकारले क्षयरोगीको उपचारका लागि देशभरका सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गरेको छ ।  तर सर्वसाधारण मात्र होइन स्वास्थ्यको विषयमा सचेतना भएकाहरु पनि यस्तो सेवा लिन सरकारी स्वास्थ्य संस्थामा गएका छैनन् ।

रुपन्देहीमा गरिएका विभिन्न सर्भेक्षणहरुमा करिब ३० प्रतिशत क्षयरोगी उपचारका लागि नआएको गम्भीर तथ्यांक सार्वजनिक भएपछि स्वास्थ्य संस्थाहरुलाई नै चुनौती थपिएको हो । लुम्बिनी प्रदेशमा यसका रोगी बढिरहेका छन् ।

आर्थिक वर्ष २०७८–०७९ मा प्रदेशमा ८ हजार ९० जना क्षयरोगी भेटिएका छन् । प्रदेशमा प्रतिएक लाख बराबर १५७ जनामा क्षयरोग हुने गरेको तथ्यांक भेटिएको छ । स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्शन रामप्रसाद भट्टरााईका अनुसार प्रदेशका १२ जिल्लामा सबैभन्दा धेरै रुपन्देही र कम रुकुम पश्चिममा रहेका छन् । रुपन्देहीमा १ हजार ७०५ जना र रुकुम पश्च्मिमा ५७ जना क्षयरोगी भेटिएको थिए ।

रुपन्देहीमा प्रदेशमा सबैभन्दा धेरै क्षयरोगि रहे पनि प्रतिएक लाखमा क्षयरोगीहरुको दर भने दाङमा धेरै भेटिएका थिए । रुपन्देहीमा प्रतिएक लाख बराबर १५७ र दाङमा प्रतिएक लाख बराबर २१४ जना क्षयरोग भेटिएको उनको भनाइ छ । समुदायमा नै गएर परीक्षण गरिएकाले आर्थिक वर्ष २०७७–०७८ मा क्षयरोगीहरु धेरै भेटिएको उनले बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले रुपन्देहीका पालिकाहरुमध्ये बुटवल उपमहानगरपालिकामा २३४ जना क्षयरोगी भेटिएको बताए । क्षयरोगको उपचार निःशुल्क हुने गरेता पनि अहिले पनि धेरै नै क्षयरोगीहरु उपचारभन्दा बाहिर रहने गरेको बताए । यसकारण लुकेर रहेका धेरैभन्दा धेरै पहिचान गर्ने गरी आफूहरु लागिरहेको उनको भनाइ छ ।

उनले सीमापारीबाट पनि क्षयरोगका बिरामीहरु डट्स उपचारको लागि नेपाली स्वास्थ्य चौकीमा आउने गरेका छन् । यसरी उपचारका लागि आउने बिरामीहरुले नेपालकै ठेगाना लेखाउने गरेको र पछि नियमित रुपमा औषधिसमेत सेवन नगरेको कारण नियन्त्रणमा कठिनाई आइरहेको बताए ।

यस्तै अझै पनि समाजमा क्षयरोगबारे जनचेतनामा कमी रहेको कारण बिरामीहरु खुलेर चेकजाँचको लागि आउन नसकेको ढकालको भनाइ छ । सेभ द चिल्डेनका कार्यक्रम ब्यबस्थापक मिमबहादुर सिहले लुम्बिनी प्रदेशको अबस्थाबारे जानकारी गराउँदै स्वास्थ्य शिक्षा, जनचेतना जगाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए ।

स्वास्थ्यकर्मीका अनुसार तीव्र सहरीकरण, बसाइँसराइ, उच्च जनघनत्व, कुपोषण, वायु प्रदूषण, नसर्ने रोग (मधुमेह) को बढ्दो प्रकोप र स्वास्थ्य सेवाबाट आम नागरिकको सहुच नपुग्दा नेपालमा क्षयरोगको जोखिम उच्च हुने गरेको छ । क्षयरोगबाट बच्न लगानी बढाउनुको साथै सेवाग्राहीको पहुँच बढाउने योजना बनाउन उनीहरुको आग्रह छ ।

स्वास्थ्य कार्यालय प्रमुख ढकालका अनुसार क्षयरोग कुनै पनि वर्ग, उमेर समूह, धर्म, लिङ्ग, समाज, भूगोलमा बस्ने मानिसलाई लाग्नसक्ने सरुवा रोग भएकाले समयमै पहिचान र उपचार भएन भने यसले गम्भीर प्रकृतिको बन्नसक्छ । सबैको सहकार्यमा यो रोगप्रति सबै सजग, सचेत र सावधान बनेर नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *