पोखरामा दुर्घटना भएको यतीका चालक दलका परिवारले सामाजिक सुरक्षा कोषबाट पाए पेन्सन सुविधा – Nepal Press

पोखरामा दुर्घटना भएको यतीका चालक दलका परिवारले सामाजिक सुरक्षा कोषबाट पाए पेन्सन सुविधा

काठमाडौं । दुई महिनाअघि पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका चारै जना चालक दलका सदस्यका परिवारले सामाजिक सुरक्षा कोषबाट पेन्सन रकम पाएका छन् ।

कोषले सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध चालक दलका चारै जना सदस्यका परिवारले पेन्सन रकम पाएको कोषले जनाएको छ ।

यती एयरलाइन्सको एटीआर-७२ विमानका क्याप्टेन कमल केसी र अञ्जु खतिवडा, विमान परिचारिका आशिन आलेमगर र सृजना हुन्चुङको दुर्घटनामा निधन भएको थियो । दुई जना क्याप्टेन विवाहित हुन् भने दुई जना परिचारिका अविवाहित ।

माघ १ गते भएको दुर्घटनामा निधन भएका क्याप्टेन केसीले यतिमा आधारतभूत पारिश्रमिक ४२ हजार ५०० पाउँदै आएका थिए । उनकी श्रीमती सिलु थापा क्षेत्रीले केसीले खाइपाइ आएको आधारतभूत तलबको ६० प्रतिशतका दरले हुने २५ हजार ५०० रुपैयाँ मासिक रुपमा पेन्सन पाएकी हुन् । क्षेत्रीले उक्त पेन्सन रकम बाचुञ्जेल पाउनेछिन् ।

त्यस्तै केसीका छोरा आर्यनले बाबुले खाइपाइ आएको आधारभूत तलबको ४० प्रतिशतका दरले हुने १७ हजार रुपैयाँ मासिक पाएका छन् । आर्यनले भने १८ वर्षसम्म यो सुविधा पाउनेछन् । उनले आफ्नो अध्ययनलाई २२ वर्षसम्म निरन्तरता दिए भने त्यो सुविधा २२ वर्षसम्मै पाउनेछन् ।

यस्तै क्याप्टेन अञ्जु केसीले निधनका क्रममा आधारतभूत मासिक ३५ हजार पारिश्रमिक पाएकी थिइन् । उनका श्रीमान सुवासले अञ्जुले खाइपाइ आएको मासिक तलबको ६० प्रतिशतले हुने २१ हजार पेन्सन जीवनभर पाएका छन् ।

यसैगरी अञ्जुका छोरा श्रेयानले पनि आमाले पाएको मासिक पारिश्रमिकको ४० प्रतिशतले हुने १४ हजार रकम १८ वर्षसम्म पाउनेछन् । श्रेयानले पनि २२ वर्षसम्म आफ्नो अध्ययनलाई निरन्तरता दिए यो सुविधा सोही वर्षसम्म पाउनेछन् ।

विमान परिचारिका सिर्जना हुन्चुङले मासिक आधारभूत पारिश्रमिक १२ हजार पाएकी थिइन् । उनी अविवाहित भएकाले उनका बुवा रिमबहादुर र आमा खिमसराले दामासाहीमा छोरीले पाएको आधारभूत मासिक पारिश्रमिकको ६० प्रतिशतले हुने ७ हजार २०० रुपैयाँ बाचुञ्जेल पाउनेछन् ।

त्यस्तै विमान परिचारिका ओसिन आलेमगरले निधनका क्रममा आधारभूत पारिश्रमिक १० हजार ४०८ रुपैयाँ पाएकी थिइन् । उनी पनि अविवाहित भएकाले उनले पाउने आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुने ६ हजार २४४ रुपैयाँ उनका बुवा मोहनकुमार लामा र आमा सवनम आलेमगरले दामासायीमा जीवनभर पाउनेछन् ।

यतीका सबै कर्मचारी सामाजिक सुरक्षा कोषमा

यती एयरलाइन्समा कार्यरत सबै ७५० जना कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध रहेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार यसअघि जोमसोममा दुर्घटना भएको तारा विमानका चालक दलका ३ जना सदस्य, कोभिड १९ का कारण निधन भएका एक जना कर्मचारी र एक जना सवारी दुर्घटनामा परेर निधन भएका गरेर ४ जनाका परिवारका सदस्यले पनि सामाजिक सुरक्षा कोषबाट पाउने पेन्सन सुविधा पाइरहेका छन् ।

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तार एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका- २ कोवाङको सिरानमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी निधन भएका चालक दलका ३ जना सदस्यले पनि सामाजिक सुरक्षा कोषबाट पेन्सन सुविधा लिइरहेका छन् ।

जसमा पाइलट प्रभाकरप्रसाद घिमिरे र को-पाइलट उत्सव पोखरेल तथा विमान परिचारिका किस्मी थापाको परिवारले कोषबाट पेन्सन सुविधा पाएका हुन् ।

पाइलट घिमिरेले मासिक आधारभूत पारिश्रमिक ५० हजार पाएका थिए । उनकी श्रीमती संगीता घिमिरेले प्रभाकरले पाएको मासिक आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुने ३० हजार बाँचुञ्जेल पाउनेछिन् । को-पाइलट उत्सव पोखरेलले भने मासिक आधारभूत पारिश्रमिक १५ हजार पाएका थिए । उनका बुवा मणिराम पोखरेल र आमा उषा आचार्यले छोराले प्राप्त गर्दै आएको मासिक आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुने ९ हजार रुपैयाँ दामासायीमा जीवनभर पाउनेछन् ।

विमान परिचारिका किश्मी थापाले मासिक आधारभूत पारिश्रमिक १२ हजार ६७३ पाएकी थिइन् । उनी अविवाहित भएकाले उनका आमा विष्णुदेवी विश्वकर्माले छोरीले पाएको मासिक आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुने ७ हजार ६०३ रुपैयाँ जीवनभर पाउनेछन् ।

यतीमै कार्यरत वसन्त लामाको कोभिड १९ संक्रमणबाट निधन भएको थियो । निधनका क्रममा उनले मासिक ४० हजार आधारभूत पारिश्रमिक पाउँदै आएका थिए । उनकी श्रीमती प्रवीनाले श्रीमानले पाउने मासिक आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुने २४ हजार रुपैयाँ जीवनभर पेन्सन पाउनछिन् ।

त्यस्तै वसन्तका छोरा प्रवलले बाबुले पाउने मासिक आधारभूत पारिश्रमिकको ४० प्रतिशतले हुने १६ हजार रुपैयाँ १८ वर्षसम्म पाउनेछन् । प्रवलले २२ वर्षसम्म अध्ययनलाई निरन्तरता दिए यो सुविधा त्यतिबेलासम्मै पाउनेछन् ।

यतीले कर्मचारीको १० लाखको बीमासमेत गरेको छ । सोहीअनुसार निधन भएका कर्मचारीका परिवारले २० लाख रुपैयाँ बीमावापतको रकम पनि पाएको यतीका प्रवक्ता बर्तौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

कोषमा आवद्ध व्यक्तिको निधनपछि परिवारले के सुविधा पाउँछन् ?

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को परिच्छेद ४ मा आश्रित परिवार सुरक्षा योजनासम्बन्धी व्यवस्था छ । परिच्छेद ४ को दफा १४ मा योगदानकर्ताको मृत्यु भएमा पति वा पत्नी निवृत्तिभरण, सन्ततिले शैक्षिक वृत्ति, आश्रित आमाबाबुले सुविधा र अन्तिम संस्कार खर्च पाउने व्यवस्था छ ।

आश्रित परिवार सुरक्षा योजना सुविधा सामाजिक सुरक्षा कोषमा सूचीकरण भई कोषले योगदान लिन सुरु गरेको मितिबाटै प्रदान गरिन्छ र योगदानकर्ताले योगदान गर्न छोडेपछि यो सुविधा प्रदान नगरिने व्यवस्था छ । जसमा जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा उसको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारतभूत पारिश्रमिकको ६० प्रतिशतको दरले उसले जीवनभर निवृत्तिभरण पाउनेछन् ।

तर, योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा उसको वैकल्पिक रोजगार रहेको अवस्थामा भने यो सुविधा दिइनेछैन । त्यस्तो व्यक्तिको रोजगारी समाप्त भई वृद्धावस्थाअन्तर्गतको निवृत्तिभरण प्राप्त गर्ने अवस्था नरहेमा कोषमा निवदेन दिई निवृत्तिभरण सुविधा माग गर्न सकिनेछ । निवृत्तिभरण रकममा बीमाङ्कीको प्रतिवेदनको आधारमा सञ्चालक समितिले निर्धारण गरेबमोजिमको रकमले मुद्रास्फीति समायोजन गरिने व्यवस्था छ ।

यस्तै योगदानकर्ताको मृत्यु भएको अवस्थामा उनको सन्ततिलाई १८ वर्ष पूरा नभएसम्म शैक्षिक वृत्तिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा दिइन्छ । तर, एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा बढीमा दुई सन्ततिलाई आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकमलाई दामासाहीले प्रदान गरिनेछ ।

यदि कुनै सन्तति निरन्तर अध्ययनरत रहेमा त्यस्तो सुविधा २१ वर्षको उमेर पूरा नभएसम्म प्रदान गरिनेछ । तर, उसको विवाह भएमा वा अध्ययन पूरा भएमा त्यस्तो सुविधा प्रदान गरिनेछैन । यदि कुनै सन्तति शारीरिक वा मानसिक रुपमा काम गर्न असक्षम भएमा त्यस्तो सन्ततिको हकमा उमेरको हद लागू हुनेछैन ।

योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर उससँग आश्रित बाबुआमा छन् भने उनीहरुलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम उनीहरुको जीवनकालभर मासिक रुपमा प्रदान गरिन्छ । तर, बाबुआमा दुवै जीवित भएमा दुवैलाई दामासाहीले सुविधा प्रदान गरिन्छ । उनीहरुको वैकल्पिक रोजगार रहेको वा उनीहरुले अन्यत्रबाट यसमा उल्लेख गरिएको भन्दा बढी सुविधा पाउने रहेछ भने यो सुविधा दिइनेछैन ।

कार्यविधिअनुसार जुनसुकै कारणले योगदानकर्ताको मृत्यु भएमा वा कुनै योगदानकर्ता स्थायी वा अस्थायी असक्षम भई लामो समय सुविधा पाएपछि मृत्यु भएमा उसको अन्तिम संस्कारका लागि उसको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई २५ हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराइन्छ ।


प्रतिक्रिया

One thought on “पोखरामा दुर्घटना भएको यतीका चालक दलका परिवारले सामाजिक सुरक्षा कोषबाट पाए पेन्सन सुविधा

  1. वैदेशिक रोजगारीमा गएका हरुले मासिक 2002 सामाजिक सुरक्षा कोष मा जम्मा गर्दै जाँदा भवितव्य कुनै दुर्घटना भय मा 60% ,40% भन्ने कुरा छ अनि आधारभूत तलबको भन्नु भयो कसरी हिसाब गर्ने होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर