लिङ्देनको आरोप – राप्रपा सरकारमै हुँदा सहिदको सूची ल्याएर प्रचण्डले अपमान गरे – Nepal Press

लिङ्देनको आरोप – राप्रपा सरकारमै हुँदा सहिदको सूची ल्याएर प्रचण्डले अपमान गरे

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले आफै सरकारमा सहभागी भएको बेला प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीको एकल सरकारजस्तै गरी हतारमा सशस्त्र युद्धमा मृत्यु भएकाहरुको नाम सहिदको सूचिमा राखेर सबैको अपमान गरेको बताएका छन् ।

शुक्रबार भैरहवामा पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, रुपन्देहीको जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले तत्कालीन सरकारले हतारहतारमा सशस्त्र युद्धमा ज्यान गुमाएका व्यक्तिहरुको नाम राजपत्रमा प्रकाशित गरेको र त्यो सूचीमा जीवित मानिसको नामसमेत राखेको भन्दै आलोचना गरेका हुन् ।

प्रचण्ड नेतत्वको सरकार माओवादी केन्द्रको मात्रै हो भनेझै गरी ज्युँदा मानिसको नाम पनि सहिदको सूचिमा प्रकाशित गर्नु मुलुक र जनताका लागि सही सन्देश नभएको र वास्तविक सहिदप्रति पनि अपमान भएको आरोप लगाएका छन् ।

लिङ्देनले माओवादीलाई देशको अवस्थाको बारेमा भन्दा पार्टीका बारेमा चिन्ता बढी भएको बताउँदै भने, ‘उहाँहरुलाई देशको होइन, आफ्नो र पार्टीकाबारेमा चिन्ता छ, यसैले मनलाग्दी निर्णय गर्दै जानुभएको छ ।’

उनले द्वन्द्वका बेला अनाहकमा मारिएका परिवार र आफन्तको पीडामा वर्तमान सरकारले मल्हम लगाउनु सट्टा उल्टै नुनचुक छर्कने काम गरेको आरोप लगाए ।

‘कति परिवारले आफन्त गुमाए, धेरै दिदीबहिनी विधुवा भए, बाउ गुमाए, पति गुमाए, सम्पत्ति गुमाए’, उनले भने, ‘त्यस्ता परिवारलाई अहिलेको सरकारले हेर्दैन, उहाँहरुको घाउमा मल्हम् लगाउने प्रयास हुँदैन, उल्टै नुनचुक छर्कने काम भइरहेको छ, यसविरुद्ध राप्रपाले सशक्त प्रतिवाद गर्छ ।’ उनले अब राप्रपाले ती मुद्दाहरु उठान गरेर अघि बढ्ने जनाए ।

देशलाई दुर्घटनाबाट बचाउन राजनीतिलाई सुधार गर्नुपर्नेमा जोड दिँदै उनले राजनीतिमा महिलाको हस्तक्षेपकारी भूमिका हुनुपर्ने बताए । उनले नेपालको राजनीतिमा इमान्दारिता र नैतिकता जीवित छ भन्ने उदाहरण प्रस्तुत गर्दै राप्रपा सरकारबाट बाहिरिएको बताए ।

अब राप्रपा सशक्त ढंगले सदन र सडकबाट अघि बढ्ने उनले जनाए । अध्यक्ष लिङ्देनले राष्ट्र बैंक र सरकारको उदासिनताका कारण मुलुकमा आर्थिक संकट उत्पन्न भएको आरोप लगाए ।

पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले महिला अधिकारका लागि राप्रपा अघि बढेको बताए । उनले नारी र पुरुष अन्याय अत्याचारविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

राष्टिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय अध्यक्ष अञ्जना शाह रावल, राप्रपा केन्द्रीय सदस्य स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणाले राप्रपाले जित्दा र यो पार्टीको एजेण्डा स्थापित हुँदा मात्र मुलुकको विकास हुने दावी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर