बारामा उपेन्द्र रोक्न सीके-महन्थ एकठाउँ, गठबन्धन दलबाटै उम्मेदवार तानेर जित्ने एमालेको दाउ – Nepal Press

बारामा उपेन्द्र रोक्न सीके-महन्थ एकठाउँ, गठबन्धन दलबाटै उम्मेदवार तानेर जित्ने एमालेको दाउ

बारा । सत्ता गठबन्धनबाट बारा २ को उपचुनावमा उपेन्द्र यादवलाई समर्थन गरिए कांग्रेस, माओवादीलगायतका दलमा विद्रोहको चेतावनी फैलिएको छ । सो क्षेत्रबाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त ठाउँमा वैशाख १० गते उपचुनाव हुँदैछ ।

सप्तरी २ मा पराजित भएका जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभामा आउनकै लागि रामसहायलाई उपराष्ट्रपति बनाइएको हो । १० दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर यादव चुनाव लड्न चाहन्छन् ।

यादवलाई सत्ता गठबन्धनले साझा उम्मेदवार बनाउने बारेमा औपचारिक निर्णय गरेको छैन । यद्यपि कांग्रेस, माओवादी, नेकपा एसलगायतका दलले यादवलाई उम्मेदवार बनाउने अनौपचारिक सहमति छ ।
तर, गठबन्धनमै आबद्ध सीके राउत नेतृत्वको जनमत पार्टी र लोकतान्त्रिक समाजवाद पार्टी (लोसपा) ले यादवविरुद्ध उम्मेदवार खडा गर्ने भएका छन् । राउतले महागढीमाईमा पुगेर चुनावी अभियान थाल्दै उपेन्द्रलाई बाहिरी फिरंगी उम्मेदवार भनेका छन् ।

मधेसमा उपेन्द्रविरुद्ध जनमत र लोसपाको गठबन्धन बनिसकेको छ । सम्भवतः लोसपाले बारा २ मा जनमत पार्टीलाई समर्थन गर्ने सो पार्टीका मधेस प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनालले बताएका छन् । सोनाल बाराबाटै निर्वाचित हुन् ।

सो क्षेत्रमा लोसपाभन्दा जनमत पार्टी बलियो भएकाले उपेन्द्रविरुद्ध लोसपाले जनतमलाई सघाउन सक्छ । गत मंसिर ४ मा प्राप्त समानुपातिक मतमा जनमतले ८ हजार ८४६ अर्थात करीव ९ हजार मत पाएको छ भने लोसपाले ४ हजार २३५ मत पाएको छ ।

समानुपातिक मतका आधारमा बारा २ मा जसपा सबैभन्दा बलियो छ । सो क्षेत्रमा जसपाले १३ हजार २४२ मत पाएको थियो भने दोस्रोमा कांग्रेसले ११ हजार १७९ र तेस्रो स्थानमा रहेको एमालेले ९ हजार १९३ मत पाएको थियो । जनमत सो क्षेत्रमा चौथो पार्टी हो ।

मंसिर ४ को चुनावमा एमालेको मत पाएर रामसहायले जितेको यो क्षेत्रमा यसपटक उपेन्द्रले एमालेको मत पाउने सम्भावना छैन । एमाले भने सत्ता गठबन्धनमा आबद्ध दलहरूबीचको विवाद र विद्रोहको आधारमा आफ्नो उम्मेदवार खडा गर्ने तयारीमा छ ।

सो क्षेत्रमा एमालेको मत तेस्रो स्थानमा रहे पनि जित्ने खालका उम्मेदवार बाहिरबाटै आयात गर्न खोजिरहेको छ । एमाले नेता बलवीर चौधरी सो क्षेत्रका सम्भावित उम्मेदवार हुन् । तर, उनी गत चुनावमा प्रदेश सभामा सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवारसँग पराजित भएका थिए ।

एमालेका एक नेताका अनुसार गठबन्धनका कारण टिकट नपाउने प्रभावशाली व्यक्तिलाई तानेर उम्मेदवार बनाउने रणनीति छ । अघिल्लोपटक टिकट नपाएर बागी उठेका रामकिशोर यादवमा एमालेले नजर लगाएको थियो । तर, उनी यसबीचमा जसपामा फर्किसकेका छन् ।

माओवादी नेता शिवचन्द्र कुशवाह एमालेबाट उम्मेदवार बने भने पनि आश्चर्य नहुने यहाँका नेता-कार्यकर्ताबीच चर्चा छ । गत मंसिर ४ गतेको निर्वाचनमा एमालेको समर्थनमा रामसहायले १३ हजार ८२२ मत पाएर जित्दा कांग्रेस समर्थन पाएका कुशवाहले १३ हजार ४६८ मत पाएका थिए ।

जम्मा ३५४ मतले पराजित भएका कुशवाहले आफू पुनः उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । २०६४ सालमा जितेर मन्त्री बनेका कुशवाह यहाँका प्रभावशाली नेता हुन् । एमालेले पनि उनीतिर नजर लगाएको छ । यदि माओवादीले उपेन्द्रलाई समर्थन गरेमा कुशवाह एमालेतिर लाग्ने सम्भावना देखिएको छ ।

बारा २ मा अर्का लोकप्रिय उम्मेदवार हुनसक्छन् कांग्रेस नेता अरुणकुमार ज्ञवाली । अधिवक्तासमेत रहेका ज्ञवालीले मंसिर ४ मा स्वतन्त्र उम्मेदवार बनेर ७ हजार ६९८ मत पाएका थिए । उनी यसपटक पनि उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । ११ हजार मत पाएका रामकिशोर जसपामा फर्किएपछि एमालेले करिब ८ हजार मत होल्ड गर्ने ज्ञवालीतिर पनि नजर लगाएको छ ।

एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले भने अहिलेसम्म पार्टीले उम्मेदवारबारे छलफल नगरेको बताए । मिसन ग्रासरुट चलिरहेको भन्दै उनले सबै अवस्था हेरेर उम्मेदवारको टुंगो पार्टीको माथिल्लो निकायले नै लगाउने बताए ।

मधेसमा पार्टीमात्र नभएर व्यक्तिले चुनाव जित्ने भएकाले पनि सत्ता गठबन्धनले उपेन्द्रलाई उम्मेदवार बनाउँदा ती दल आबद्ध प्रभावशाली नेताहरु एमाले वा स्वतन्त्रबाट उम्मेदवार उठ्ने तयारीमा छन् । एमाले अहिले सबैभन्दा बलियो व्यक्ति खोजिरहेको छ । सत्ता गठबन्धनबाट कम्तीमा दुईजना उम्मेदवार बन्ने भएकाले एमालेले चुनाव जित्नेगरी तेस्रो व्यक्ति खोजेको हो ।

४ वटा निर्वाचन क्षेत्र रहेको बारामा एमाले सबैभन्दा ठूलो दल हो । बारा १ बाट एमालेका अच्युत मैनाली र ३ बाट ज्वालाकुमारी साहले जितेका छन् । ज्वालाको क्षेत्रमा एमाले र जसपा तालमेल नभई उनले एक्लै जितेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर