ठमेलमा चैत १७ गते गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले प्रस्तुति दिने – Nepal Press

ठमेलमा चैत १७ गते गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले प्रस्तुति दिने

काठमाडौं । गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा २०२३ कै पहिलो सांगीतिक कार्यक्रमका रुपमा ‘स्पेसल नाइट विथ कालीप्रसाद बास्कोटा’मा काठमाडौंका दर्शकमाझ गुञ्जिने भएका छन् ।

पछिल्लो चलचित्र ‘फूलबारी’मा रहेको गीत ‘माया रैछ र’मा स्वर दिएका बास्कोटा ठमेलको सञ्चय कोष चौकमा खुलेको नयाँ क्लब ‘क्लब ओम्निया’मा आगामी चैत १७ गते अर्थात मार्च ३१ गते शुक्रबार गुञ्जिन लागेका हुन् ।

कार्यक्रममा बास्कोटाले नयाँ व्याण्ड ‘साथी भाइ’सँग लाइभ गीत गाउनेछन् । कन्सर्टमा उनले ‘अजम्बरी माया पिरती’, ‘निरा’, ‘ओखती’, ‘बाटुली’, ‘लप्पन छप्पन’, ‘इन्स्टाको फोटो’ र ‘पंक्षी’ लगायतका लोकप्रिय गीत गाउनेछन् । उनले ‘साथीभाइ’ व्याण्डसँग ‘माया रैछ र’ गीत पनि पहिलोपटक लाइभ गाउने भएका हुन् ।

कार्यक्रम पीभीइ नेटवर्कको प्रस्तुति र डेभिल्स ग्रुपको सहकार्यमा हुन लागेको हो । कार्यक्रमको टिकट आफ्नोटिकटडटकममा उपलब्ध छ ।

गायक, गीतकार, संगीतकार बास्कोटा पछिल्लो समयमा विशेषत फिल्मी गीतमा रुचाइएका संगीतकारमा पर्छन् । उनी ‘सा रे ग म प’ तथा ‘नेपाल आइडल सिजन १,२,३ का निर्णायक पनि हुन् ।

२० भन्दा बढी गीतको कम्पोज र प्रस्तुती दिएका बास्कोटाका गीत युट्युब च्यानलमा ३ सय ५० मिलियन प्लस स्ट्रिमिङ भएका छन् । उनको गीतको स्ट्रिमिङ हेर्दा नेपाली संगीत उद्योगमा सर्वाधिक स्ट्रिमिङ हुने उत्कृष्ट तीन गायकमा उनी पर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *