लुम्बिनी माओवादीको विवाद उत्कर्षमा, दलको नेताबाट महरालाई हटाउन अघि बढे मास्की – Nepal Press

लुम्बिनी माओवादीको विवाद उत्कर्षमा, दलको नेताबाट महरालाई हटाउन अघि बढे मास्की

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिन आज संसदीय दलको बैठक बोलाएपनि कुनै निर्णय लिन सकेन ।

माओवादी संसदीय दलका नेता जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले केन्द्रको निर्णय कुरेर थप निर्णय गर्ने भन्दै आज कुनै निर्णय नभएको उनको सचिवालयले जनाएको छ ।

‘समर्थन फिर्ताबारे कुनै निर्णय भएको छैन, केन्द्रको निर्देशनअनुसार पछि बस्ने सल्लाह भएर उहाँहरु उठ्नुभयो, आज नै प्रदेश सभाको लुम्बिनीमा सबै सांसदहरुलाई दिने अभिमुखिकरण कार्यक्रममा बस्नुभएको छ’ उनका निजी सचिव भरत नेपालीले नेपाल प्रेसलाई भने ।

त्यसअघि माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बिहीबार दिउसो बस्ने माओवादी संसदीय दलको बैठकबाट एमाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने जानकारी दिएका थिए ।

केही सांसदहरुले तत्काल नयाँ सरकार बनाउँदा पनि आफूहरुले मुख्यमन्त्री नपाउने अवस्थामा अहिलेकै सरकारलाई निरन्तरता दिने आवाज उठेको छ । माओवादीका ११ सांसदमध्ये ४ जनाले अहिलेकै सरकार निरन्तरता दिनुपर्ने पक्षमा रहेको एक सांसदले बताए ।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता भन्दापनि माओवादीभित्रैकै विवादका विषय बढी उठेका छन् । लुम्बिनीमा संसदीय दलका नेता नै फेर्नेगरी असन्तुष्ट सांसदहरुले पार्टी केन्द्र र प्रदेश अध्यक्षलाई पत्र बुझाएको स्रोतले जनाएको छ ।

अहिले प्रदेशमा १० सांसद रहेकोमा एक सभामुख भइसकेका छन् । वुधबार मात्रै माओवादीबाट विद्रोह गरेर स्वतन्त्र रुपमा जितेका सरुल पुनले पुनः माओवादी रोजेका छन् तर प्रदेशसभामा त्यो आधिकारिक छैन । महराविरुद्ध ६ सांसद एकजुट भएकाले पनि उनलाई त्यो विवाद मिलाउन चुनौती थपिएको छ ।

महराले यसअघि गरेको एकलौटी निर्णय अस्वीकार गरी मन्त्री बनेकी बाँकेबाट निर्वाचित सांसद कृष्णा केसीले पदभार नै ग्रहण गरेकी छैनन् दाङबाट निर्वाचित सांसदले नेता धनबहादुर मास्कीले जसरी पनि दलको नेता परिवर्तन गर्नुपर्ने भन्दै आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । विवादकै कारण अहिलेसम्म दलको उपनेता तथा प्रमुख सचेतक र सचेतक चयन गर्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर