‘चुनावमा पहिचान पक्षधरलाई हराउने, अहिले पहिचानकै आधारमा प्रदेशको नाम राख्नुपर्छ भन्दै सडकमा उफ्रने ?’ – Nepal Press
नेपाल टक

‘चुनावमा पहिचान पक्षधरलाई हराउने, अहिले पहिचानकै आधारमा प्रदेशको नाम राख्नुपर्छ भन्दै सडकमा उफ्रने ?’

माओवादी काेशी प्रदेश सचिव उप्रेती भन्छन्- हामीले सडकमा हेरिरहेका छौं । त्यहाँ आउनेमध्ये ९० प्रतिशत त कांग्रेस र एमालेलाई भोट हाल्ने छन्

विराटनगर । माओवादीले सशस्त्र आन्दोलन गर्दा जातीय राज्यको परिकल्पना गरेको थियो । जातीय पहिचानका आधारमा राज्यको संरचना बनाइ तत्कालीन राज्य सत्ताविरुद्ध समानान्तर हुने गरी जनसरकारहरू घोषणा गरियो । कोशी प्रदेशभित्रै लिम्बूवान, खम्बूवान, कोचिला जस्ता राज्यमा माओवादीले आफ्नो पार्टीको संरचना बनायो ।

माओवादीले जातीय मोर्चाहरूको निर्माण पनि गर्‍यो । अघिल्लो प्रदेशसभामा माओवादीले प्रदेशको नाम जातीय पहिचानको आधारमा हुनुपर्छ भन्ने माग कडा रूपमा राख्यो । जसका कारण अघिल्लो प्रदेशसभाले प्रदेशको नामकरण गर्न सकेन ।

यस पटक भने माओवादीले जातीय पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्छ भन्न सक्ने हैसियतमा प्रदेशसभामा उपस्थिति जनाउन सकेन । प्रदेशसभामा जम्मा १३ सदस्य जितेको माओवादी अन्ततः प्रदेशको नाम कोशी राख्नेमा सहमत हुन बाध्य भयो ।

संसदभित्र र बाहिर जातीय पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्छ भनेर उग्र कुरा गर्ने माओवादी कोशीमा सहमत भएपछि गएको फागुन १७ गते प्रदेशसभाले प्रदेशको नामकरण गर्न सक्यो । प्रदेशको नामकरणपछि अहिले पहिचान पक्षधरहरू आन्दोलनमा छन् । आन्दोलनमा रहेकाहरूले सबैभन्दा बढी माओवादी नेताहरूलाई गाली गरिरहेका छन् ।

पहिचानको कुरा गर्ने अनि पहिचानविरोधी नाम राख्ने भन्दै आलोचना खेपिरहेको माओवादी केन्द्रका कोशी प्रदेश सचिव एवं कोशी प्रदेशसभा सदस्य गणेश उप्रेती सुशीलसँग नेपाल प्रेसले गरेको कुराकानीः

– प्रदेश सरकारको भविष्य के छ ?

सुरुमा एउटा समीकरण बन्यो । अहिले पहिलेको समीकरण फेरिएको छ । केन्द्रमा पहिलेको समीकरण भत्किएर नेपाली कांग्रेससँगको समीकरण बनेको छ । तर, कोशी प्रदेशसभाभित्र रहेको अङ्क गणितलाई हेर्दा यो सरकारलाई परिवतर्न गर्न सक्ने अवस्था छैन । यो सरकार हटाउने बित्तिकै अर्को सरकार बन्न सक्ने अवस्था छैन । प्रदेशसभामा रहेको राप्रपा कोशी प्रदेशसभामा निर्णायक छ । ऊ अहिले कांग्रेससँग बनेको समीकरणमा छैन । ऊ अहिले पनि एमालेसँगकै समीकरणमा छ । यसो हुँदा राप्रपा र एमालेको ४६ सीट छ ।

नयाँ गठबन्धन बनाउँदा बहुमत पुग्ने अवस्था छैन । यस्तो अवस्थामा कोशी प्रदेशमा नयाँ समीकरणको सरकार बन्न सक्ने अवस्था छैन । यो सरकार फेरिन राप्रपा कांग्रेससहितको समीकरणमा आउनुपर्छ । नयाँ समीकरणमा राप्रपा आउने सम्भावना नभएका कारण तत्काललाई यही सरकारले निरन्तरता पाउँछ । नयाँ सरकार बन्न सक्ने सम्भावना छैन । माओवादी, कांग्रेस जसपा र एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा जानुपर्ने निर्देशन छ । तर, केन्द्रले भन्दैमा हामी नयाँ समीकरण बनाएर अहिलेको सरकार परिवर्तन गर्न सक्ने अवस्थामा छैनौं ।

– यही सरकारले निरन्तरता पाउँछ त त्यो भए ?

अहिले नै सबै कुरा भन्न सकिँदैन । पहिला केन्द्रको सरकार विस्तार होस् । राप्रपाले आफ्नो पोजिसन क्लियर गरोस् । राप्रपाको पोजिसनले अबको सरकारको भविष्य निर्धारण गर्छ ।

– माओवादीले सभामुखलाई राजीनामा गराउन लाउने अनि कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीका प्रदेशसभाका बहुमत सदस्यको हस्ताक्षर लिएर नयाँ सरकार गठनमा जाने भन्ने तयारी छ भन्ने हल्ला छ नि ?

सभामुखले राजीनामा दिँदा बहुमत पुग्छ ? यसरी बनेको सरकारले विश्वासको मत पाउँछ ? यो सम्भावना पनि छैन । पहिलो कुरा त सभामुखले राजीनामा कसलाई बुझाउने ? यी प्रश्नहरू पनि छन् । यी प्रश्नहरूको हल खोजी नयाँ सरकार बन्ने सुनिश्चित नभएसम्म यो सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौं ।

– प्रदेशको नामकरणपछि उत्पन्न परिस्थितिलाई कसरी हेर्नुभएको छ ?

माओवादीलाई दुईतिहाइ नदिएका कारण कोशी नाम राखिएको हो । हामीलाई बहुमत दिएको भए हामी कोशी नाम राख्दैनयौं । हामी र हाम्रो पार्टीले प्रदेशको नाम किराँत राख्थ्यो । किराँत प्रदेश हाम्रो आधिकारिक लाइन हो । हाम्रो अहिले पनि हो । तर, किराँत प्रदेश दर्ता गरेर स्वीकृत नै हुने अवस्था थिएन । टेबुल नै हुने अवस्था थिएन । स्वीकृत नै हुन नसक्ने अङ्क गणित भएपछि हामीले नाम किन अड्काउनु ? नाम त चाहियो नि ! संसदीय व्यवस्था भनेको त बहुमतले शासन गर्ने व्यवस्था हो नि त हैन ? यसमा हल्ला गरेर, कराएर, रोएर त हुँदैन होला ।

अझै पनि तपाईंसँग दम छ भने माओवादीलाई बहुमत दिएर पठाउनुस् त हामी तत्काल पहिचानका आधारमा प्रदेशको नामकरण गर्छौं ।

बहुमतले राजनीति गर्ने, विधेयक पास गर्ने, कानून बनाउने, बजेट पास गर्ने व्यवस्थामा आउने अनि सडकको कुरा सुनेर भो ? सडकमा त हिजो माओवादीले जति पहिचानको कुरा कसले गर्‍यो ? पहिचानको पक्षमा सडकमा को बोल्यो ? हामीले त रगत बगायौं । पसिना बगायौं । त्यति बेला चाहिँ पहिचान भन्नेहरू न्यानो मानेर पहिचानको विपक्षमा लाग्नेहरूसँग बस्ने । अहिले चाहिँ माओवादी संसदीय दलका नेताको गाडीमा ढुङ्गा हान्ने, माओवादीका सांसदहरूलाई गाली गर्ने ? यो त मिलेन । यो त उहाँहरुको चरित्र नै भएन नि !

उहाँहरूलाई पहिचानको माया थियो भने त अस्ति भोट हालेर पठाउनुपर्दैन ? उहाँहरूले माओवादीका उम्मेदवारहरुलाई जिताउनुपर्थ्यो नि ! हामी त रोक्न सक्ने अवस्थामै थिएनौं । थियो त माओवादीका १३ जना प्रदेशसभा सदस्यले भोट नहाल्दा दुईतिहाइ नपुग्ने थियो र ? थिएन नि ! ती नक्कली पहिचानवादी भन्नेहरूले जवाफ दिऊन् त ? अनि माओवादीलाई पहिचानविरोधी भनेर सडकमा गाली गर्ने ! यो त उल्टो कुरा भयो नि !

– तर, सबैभन्दा बढी विश्वास यहाँहरूमाथि नै थियो नि ?

अहिले पनि हामीले पहिचान कहाँ छाडेका छौं ? १३ जना सांसदले पहिचानको पक्षमा नाम राखौं भन्दा राख्न सक्यौं त ? किराँत प्रदेश नाम दर्ता गर्दा टेबल हुन्थ्यो ? टेबुल नै हुन सक्ने अवस्था थिएन ।

हामीलाई संसदमा टेबुल गर्न सक्ने आकारसमेत नदिने, निर्वाचनमा भोट नहाल्ने, भोट चाहिँ कांग्रेस-एमालेलाई हाल्ने अनि हामीलाई गाली गर्ने ? किराँत पक्षधरहरूलाई भोट दिन पर्थ्यो नि ! चुनावमा कुलप्रसाद साम्बा, जयराम यादवहरूलाई हराउने अनि पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्छ भन्दै सडकमा उफ्रने ? अनि अर्को साथीबाट किराँत प्रदेशको अपेक्षा गर्नुहुन्छ । त्यति बेला तपाईं कहाँ हुनुहुन्थ्यो ? तपाईंका प्रतिनिधिहरुलाई जिताएर पठाउनुभयो ? त्यति बेला तपाईं कहाँ हुनुहुन्थ्यो ? अहिले सडकमा आएर ढुङ्गा उचालेर गाली गरिरहनुभएको छ । त्यो बेला तपाईं कता हुनुहुन्थ्यो ? हामीले सडकमा हेरिरहेका छौं । त्यहाँ आउनेमध्ये ९० प्रतिशत त कांग्रेस र एमालेलाई भोट हाल्नेछन् । पहिचानको पक्षधरहरूलाई हिजो चुनावमा किन सहयोग नगरेको ? आफ्ना नेताहरूलाई सोध्नु न ?

तपाईंले प्रतिनिधिहरू को पठाउनुभयो ? अहिले आएर इन्द्र आङ्वोसँग मात्रै पहिचान खोज्ने ? त्यो मिलेन । यो त तपाईंले आफ्नो पसल चलाउने कुरा हो । अरू केही होइन तपाईं पसल चलाइरहनुभएको छ । अझै पनि तपाईंसँग दम छ भने माओवादीलाई बहुमत दिएर पठाउनुस् त हामी तत्काल पहिचानका आधारमा प्रदेशको नामकरण गर्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर