हर्क साम्पाङले फेक आइडीबाट समेत नछाडेपछि सबै दल एक ठाउँमा, माफी मागेर कार्यशैली सच्याउन चेतावनी – Nepal Press

हर्क साम्पाङले फेक आइडीबाट समेत नछाडेपछि सबै दल एक ठाउँमा, माफी मागेर कार्यशैली सच्याउन चेतावनी

विराटनगर । धरानमा क्रियाशील राजनीतिक दलहरूले धरानका नगर प्रमुख हर्कराज राईको स्वेच्छाचारी प्रवृत्ति बढेको भन्दै सच्चिन आग्रह गरेका छन् ।

धरानमा क्रियाशील सात राजनीतिक दलले प्रेस वक्तव्य जारी गर्दै कार्यशैली सच्चिन आग्रह गरेका छन् । कार्यशैली नसच्याए मेयर विरुद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

सात राजनीतिक दलले नगर प्रमुख राईलाई माफी माग्न र जनप्रतिनिधि बीच आपसी एकता, सद्भाव र सहकार्य गरी सबैले ससम्मान काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

धरानका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

दलहरूले मेयर राईका निजी सचिवालयका कर्मचारी मार्फत लेखिएको पत्र फिर्ता लिई सम्बन्धित महाशाखाबाट पत्राचार गरेर भुल सुधार गर्न र गल्ती ’रियलाइज’ गर्न तथा सेवाग्राही सन्तोष लिम्बूमाथि भएको घटनामा निजले माग गरेको सिफारिस दिई आत्मालोचना गर्न र वडाध्यक्ष विवेक राईलाई सोधिएको स्पष्टीकरण फिर्ता लिई आफूबाट भएको भूल स्वीकार गर्दै सम्पूर्ण जनप्रतिनिधिबीच आपसी एकता, सद्भाव र सहकार्य गरी सबैले ससम्मान काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

नगर प्रमुख राईले विगतमा पनि पटक पटक वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूलाई होच्याएर बोलेर र कार्यपालिका सदस्यहरूले राखेका विचारलाई तोडमोड गरी उत्तेजित गराउने र बैठकलाई अमर्यादित बनाउने गरिएको दलहरूले आरोप लगाएका छन् ।

त्यत्ति मात्र होइन केही युट्युब च्यानल तथा सञ्चार माध्यम प्रयोग गरी कार्यपालिका सदस्यहरूको विचारलाई काँटछाँट गरी अतिरञ्जित गराउने तथा प्रोपोगाण्डा गर्ने गरेको’ दलहरूको भनाइ छ ।

दलहरूले विज्ञप्तिमा भनेका छन्,’जनप्रतिनिधिबीच आपसी असमझदारी, बेमेल द्वन्द्व, स्वेच्छाचारी प्रवृत्ति, भ्रष्टाचारका कारण धरानको विकास र समृद्धिमा आँच आएमा दलहरू चुप लागेर नबस्ने समेत प्रष्ट पार्न चाहन्छौं ।’

नगर प्रमुख राईको ’हर्क साम्पाङ ए रिभोलुसन’ नामक फेसबुक पेजमा विगतदेखि नै निरन्तर वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलहरु माथि झुटो, कपोकल्पित र भ्रामक विषयहरू पोष्ट गर्ने र आफ्ना फेक आइडी र फलोअर्सहरुवाट अशिष्ट, अमर्यादित र अश्लील गाली गलौच गर्ने गराउने गरेको तथ्य रहेको दलहरूले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर