रास्वपाका मुकुल भन्छन्- छलफल भएको छैन, उपप्रधानसहित गृह मन्त्रालय पाए सोच्न सक्छौं – Nepal Press

रास्वपाका मुकुल भन्छन्- छलफल भएको छैन, उपप्रधानसहित गृह मन्त्रालय पाए सोच्न सक्छौं

‘हामी गठबन्धनमा छैनौँ तर चितवन २ रवि लामिछानेलाई छाडे राम्रै हुन्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर सरकारलाई पूर्णता दिने गृहकार्य अघि बढाएका छन् ।

मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।

चैत ६ गते प्रधानमन्त्री प्रचण्डलाई गठबन्धनमा सामेल नभएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिएको थियो । एमाले नेतृत्वको सात दलीय गठबन्धनमा हुँदा गृह मन्त्रालय नपाएर सरकारबाट बाहिरिएको रास्वपा अहिले सरकारमा जान सकारात्मक छ ।

नागरिकता सम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय नदिएपछि ४२ दिनमै रास्वपा सरकारबाट बाहिरिएको थियो । तर, अहिले पनि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

त्यसबेला रास्वपा उपप्रधानसहित गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री लिएर सहभागी भएको थियो । अहिले प्रधानमन्त्री प्रचण्डको प्रारम्भिक प्रस्तावमा रास्वपा सरकारमा सहभागी भएको अवस्थामा तीन मन्त्रालयको प्रस्ताव छ ।

तर, अहिलेसम्म आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि सरकारमा सहभागीताबारे अहिलेसम्म कुनै छलफल नभएको रास्वपा प्रवक्ता मुकुल ढकाल बताउँछन् ।

उनले भने, ‘अहिलेसम्म प्रधानमन्त्रीको तर्फबाट हामीलाई सरकारमा आउनुपर्छ भनेर कुनै प्रस्ताव आएको छैन। त्यसैले हामीले अहिलेसम्म कुनै छलफल गरेको छैनौँ ।’

रास्वपाको सरकारमा जाने वा नजाने भन्ने बिषयमा कस्तो धारणा छ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘हामीले अहिले पुस १० गते जुन स्थितीमा थियो अहिले त्यही छौं भन्ने बुझेका छौं । त्यतिबेला हामीले सेवा प्रवाहको मन्त्रालय लिएका थियौं । अहिले पनि साविकको स्थिती भयो भने हामी सोच्नसक्छौं । नत्र हामी आफ्नै ठाउँमा ठिक छौं ।’

साविकको भनेको उपप्रधानसहित गृहमन्त्रालय पाएको अवस्थामा जाने भन्न खोज्नुभएको हो ? भन्ने प्रश्नमा उनले थपे, ‘हामीले साविकको भनेका छौं । त्यसैले उहाँहरुले अहिलेसम्म कुरा गर्नुभएको पनि छैन । साविकको स्थितीभन्दा दाँयाबाँया भयो भने हाम्रो दाबी पनि रहँदैन । त्यो विषयमा हामी पहिला पनि बसिसकेकाले प्रधानमन्त्रीलाई हाम्रो तर्फको सबै कुरा थाहा छ ।’

यस्तै, उनले बैशाख १० गते हुने उपनिर्वाचनको आगामी केन्द्रीय समितिको बैठकबाट परिचालन कमिटी गठन गरेर थाल्ने बताए ।

‘निर्वाचन आयोगले पनि भोलिसम्ममा निर्वाचनको कार्यतालिका सार्वजनिक गर्छ होला । त्यसैले हामीले पार्टीको आन्तरिक तयारी गरिसकेका छौँं’ प्रवक्ता ढकालले भने ।

चितवन २ मा सभापति उम्मेदवार हुँदै हुनुहुन्छ । त्यहाँ कस्तो तयारी हुँदैछ ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले चितवनमा निर्वाचनको लागि एउटा टीम बनाएका छौं । त्यहाँ त्यो टिमले काम गरिरहेको छ । उहाँ (रवि लामिछाने) पनि चितवन गइरहनुभएको छ । अब केही दिनमै उही बसेर निर्वाचनमा केन्द्रित हुनुहुन्छ ।’

उनले पार्टी सभापतिको लोकप्रियता मंसिरको निर्वाचनमा भन्दा नघटेको जिकिर गरे। ‘उहाँ चितवन गइरहनुभएको छ । पहिलाको र अहिलेको माहोलमा कुनै परिवर्तन आएको छैन। उहाँको पक्षमै नतिजा आउनेमा ढुक्क छौं’, उनले थपे ।

सत्ता गठबन्धनको साझा उम्मेदवार बनाउन पहल गर्नुहुन्छ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि हामी गठबन्धनमा छैनौँ। उहाँहरुले बुझेर छाड्दिनुभयो भने राम्रो नै हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर