त्रिविका १८ आंगिक क्याम्पसमा चुनाव विथोलियो, कुन क्याम्पसमा कसको तालाबन्दी ? – Nepal Press

त्रिविका १८ आंगिक क्याम्पसमा चुनाव विथोलियो, कुन क्याम्पसमा कसको तालाबन्दी ?

अनेरास्ववियुका अध्यक्ष समिक बडाल भन्छन्- हार्ने भएपछि सत्ता गठबन्धनले हामीले जित्दै आएका ठूला क्याम्पसमा तालाबन्दी गरे

काठमाडौं । चैत ५ गते एकैपटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोके पनि देशका ठूला आंगिक क्याम्पसमा विद्यार्थी संगठनकै कारण अवरोध सिर्जना भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पस र अन्य सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन घोषणा भएकोमा १८ वटा आंगिक क्याम्पसमा भने तालाबन्दीका कारण चुनाव नभएको हो । केही क्याम्पसमा भने बुधबार निर्वाचन भएको छ ।

देशकै सबैभन्दा ठूलो र धेरै मतदाता रहेको पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा सत्ता गठबन्धन विद्यार्थीले ताला लगाएर अदालतको सहायतामा निर्वाचन स्थगन गराएका छन् । धेरै विद्यार्थी पढ्ने र राजनीतिको केन्द्र मानिने कलेजमा तालाबन्दीका कारण निर्वाचन नभएको हो ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्नो संगठनले जित्दै आएका कलेजमा सत्ता गठबन्धनमा आबद्ध संगठनहरुले सत्ताको आडमा निर्वाचन बिथोलेको आरोप लगाएका छन् । उनले चुनाव हार्ने भएपछि गठबन्धनका संगठनहरुले विभिन्न बहानामा तालाबन्दी र अदालतमार्फत रोकेको आरोप लगाए ।

यता नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले भने आरआर क्याम्पसमा एमाले निकट अखिलले फर्जी भर्ना गरेकाले ताला लगाइएको भन्दै अन्यत्र अरु संगठनको समस्या भएको बताए ।

देशकै ठूला र महत्वपूर्ण मानिने पृथ्वीनारायण क्याम्पस पोखरा, आरआर क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्स क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पसलगायत १८ वटा आंगिक क्याम्पसमा निर्वाचन स्थगन भएको छ ।

यीमध्ये त्रिचन्द्र र ठाकुररामबाहेक सबैमा यसअघि एमाले निकट अनेरास्ववियुले जित्दै आएको थियो । तालाबन्दीका कारण स्थगित निर्वाचन चैत १२ भित्र गरिसक्न त्रिभुवन विश्वविद्यालयले सम्बन्धित क्याम्पस प्रशासनहरुलाई निर्देशन दिएको छ ।

स्ववियु निर्वाचनको घोषणापत्रमा आइन्दा विश्वविद्यालय र क्याम्पसहरुमा तालाबन्दी, हड्ताल नगर्ने प्रतिबद्धता जनाएका संगठनहरुले नै तालाबन्दीको अगुवाइ गरेको विश्वविद्यालयका पदाधिकारी बताउँछन् । चुनाव स्थगित भएका १८ वटा आंगिक क्याम्पसमध्ये पृथ्वीनारायण र पोखरा नर्सिङ अदालतको आदेशमा चुनाव नभएको हो भने नेपाल कमर्स क्याम्पस र धौलागिरी क्याम्पसमा विवादका कारण स्थगित भएको छ ।

अन्य १३ वटा क्याम्पसमा तालाबन्दी भएकोमा त्रिचन्द्रमा एमाले निकट अनेरास्ववियुले गरेको छ भने आरआरमा नेकपा एस निकट अखिलले गरेको छ । बाँकी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर