आँचल शर्माको कटाक्ष : कत्ति न आफैंले मलाई जन्माए जसरी मेरो उमेरबारे ठोकुवा गरिरहेका छन् – Nepal Press

आँचल शर्माको कटाक्ष : कत्ति न आफैंले मलाई जन्माए जसरी मेरो उमेरबारे ठोकुवा गरिरहेका छन्

काठमाडौं । नायिका आँचल शर्माले तीन दिनअघि आफ्नो २५ औं जन्म दिन मनाइन्, जसको रापताप मिडियाहरुमा पनि राम्रै पुग्यो । परिवार, आफन्त र सीमित साथीभाइलाई बोलाएर उनले जन्मदिनको केक काटेकी थिइन् ।

अहिलेकी व्यस्त र सफल नायिकाको सूचीमा पर्ने आँचल विवाहित हुन् । तीन वर्षअघि उनले डाक्टर उदीप श्रेष्ठसँग लगनगाँठो कसेकी थिइन् । विवाहपछि उनको करिअर झन् उकालो लागिरहेको छ । नायिकाहरुले विवाह गरेपछि फिल्म पाउँदैनन् भन्ने मान्यता उनको हकमा लागू भएन ।

बारम्बार कन्ट्रोभर्सीमा परिरहने नायिका पनि हुन् आँचल । कहिले आफ्नो अभिव्यक्तिले त कहिले अन्य कलाकारहरुसँगको सम्बन्धले उनलाई गसिपहरुमा ल्याइराख्छ । त्यसो त कन्ट्रोभर्सी र कलाकारको सम्बन्ध भनेको नङ र मासु जस्तै हुने भएकाले यो उनका लागि ठूलो चिन्ताको विषय होइन ।

चलचित्र क्षेत्रमा अधिकांश नायिकाहरु हतपती आफ्नो उमेर खोल्न चाहँदैनन् । तर, आँचलले भने बर्थ डेको केकमै २५ अंक राखेकी थिइन् । यो विषयले पनि चर्चा पाइरहेको छ । आखिर किन आँचलले आफ्नो उमेर सार्वजनिक गर्न चाहिन् ? यो प्रश्न हामीले उनलाई नै सोध्यौं ।

– धेरै नायिकाहरु आफ्नो उमेर लुकाउँछन् । तर, तपाईंले खुलमखुला आफ्नो उमेरको जनाउ दिएर केक काट्नुभयो नि किन ?

मेरो जन्मदिनको समारोह म आफैंले आयोजना गरेको हैन । त्यो मेरो श्रीमानले गर्नुभएको थियो । त्यहाँ रहेका केकहरु पनि मैले अर्डर गरेको होइन । त्यो मेरो श्रीमान अनि मेरो बहिनीले ल्याएका थिए । र, मलाई आफ्नो उमेर लुकाउनु पनि छैन ।

– कतिले चाहिँ तपाईं २५ वर्षमात्रै हुनुभयो भनेर पत्याएका छैनन् नि ?

त्यत्रो परिवार, साथीभाइ र इस्टमित्रको अगाडि केक काट्दा उमेर ढाँटियो होला त ? मेरो परिवारबाट सरप्राइजका रुपमा आएको त्यो केकमा मैले ‘मेरो उमेर चाहिँ यति हाल है’ भनेर पनि पक्कै सिकाइनँ होला ।

मेरो जन्म २०५४ चैत ५ मा भएको हो । पहिला-पहिला केही वेबसाइटहरुमा २०५१ चैत ५ देखाएको थियो । त्यो मलाई नसोधिकन लेखेका हुन् ।

कतिपयले त उहाँहरुले नै मलाई जन्म दिएजस्तो गरेर आँचल २५ वर्ष होइन भनेर ठोकुवा गरेको देख्दा हाँसो लागेको छ । म त पासपोर्टलाई हल्का ब्लर गरेर उमेर यति भयो है भनेर सार्वजनिक गरौं कि भन्ने सोचमा पुगिसकें ।

मेरो जन्म २०५४ चैत ५ मा भएको हो । पहिला पहिला केही वेबसाइटहरुमा २०५१ चैत ५ देखाएको थियो । त्यो मलाई नसोधिकन लेखेका हुन् ।

– जन्मदिनको समारोहमा को-कोलाई बोलाउनुभयो त ?

मैले आफ्नो परिवार र बाहिरका केही साथीभाइहरुसँग मिलेर जन्मदिन मनाएकी हुँ ।

– हरेक वर्ष जन्मदिन आउँदा कस्तो महसुस हुन्छ ? आफूलाई कत्तिको स्पेसल फिल गर्नुहुन्छ ?

मलाई त जन्मदिन भन्नेबित्तिकै खुशी लाग्छ । अहिलेसम्म मेरो कुनै पनि जन्मदिन नमनाइ गएको मलाई याद छैन । युकेजीदेखि अहिलेसम्म जन्मदिन मनाइरहेको छु । त्यति सानो हुँदाको जन्मदिन पनि मलाई याद छ ।

त्यो बेला गिफ्ट पाइन्छ भन्ने चाहले जन्मदिन आउँदा खुशी लाग्थ्यो । तर, उमेरसँगै सोच बदलिन्छ । अहिले मान्छेहरु आउनुहुन्छ, भेटघाट हुन्छ र रमाइलो हुन्छ भन्ने हिसाबले जन्मदिन मनाइन्छ । समग्रमा, मलाई जन्मदिन सबैले मनाउनुपर्छ जस्तो लाग्छ ।

मलाई जन्मदिन आउँदा यति खुशी लाग्छ कि त्यो दिन मलाई घाम नै अर्को लागे जस्तो लाग्छ । मलाई केक काट्दा भने अलिकति लाज लाग्छ । तर, स्पेसल भने अवश्य महसुस हुन्छ । केक काट्ने समय सबैको ध्यान आफैंमा हुने भएकाले पनि लाज लागेको होला ।

मलाई त जन्मदिन भन्नेबित्तिकै खुशी लाग्छ । अहिलेसम्म मेरो कुनै पनि जन्मदिन नमनाइ गएको मलाई याद छैन । युकेजीदेखि अहिलेसम्म जन्मदिन मनाइरहेको छु । त्यति सानो हुँदाको जन्मदिन पनि मलाई याद छ ।

– जन्मदिनमा कस्ता खालका गिफ्टहरु पाउँदा खुशी लाग्छ ?

मलाई त्यो भौतिक चिजहरुमा यस्तो सामान अथवा गिफ्ट भइदिए हुन्थ्यो जस्तो लाग्दैन । आफ्ना आधारभूत आवश्यकता हामी आफैं पूरा गर्न सक्ने भइसकेका छौं । त्यसैले यो त्यो भन्ने छैन । मलाई १० रुपैयाँकै सामान पनि मज्जाले गिफ्ट पेपरमा प्याक गरेर दियो भने त्यो खोल्न रमाइलो लाग्छ । के छ भन्ने एउटा कौतुहलता हुन्छ । मलाई जसले जे ल्याइदिए पनि त्यो गिफ्ट खोल्न रहर लाग्ने हो । त्यहाँदेखि बाहेक भौतिक कुरा जे दिए पनि मलाई अमूल्य लाग्छ ।

– अस्ति जन्मदिनमा पहिलो गिफ्ट कसले दिनुभयो ?

जन्मदिनमा पहिलो गिफ्ट मलाई मेरो डिजाइनर मनिष राईले दिनुभएको थियो । उहाँले मेरो गिफ्ट ‘हेल्दी च्वाइस’ मा पठाइदिनु भएको थियो ।

फेरि श्रीमानको किन आएन भन्नुहोला । उहाँले मलाई नभनी सरप्राइज प्लान गर्नुभएको थियो । जन्मदिनको पार्टी पनि उहाँले नै आयोजना गर्नुभएको हो । उहाँले त्यही पार्टीमै उपहार दिनुभयो ।

– सरप्राइज प्लान भएको छ भन्ने सुइको पाउनुभएको थियो त ?

सुरुमा त थाहा थिएन । तर, पछि उहाँले फोन गरेर राम्री भएर आउ भन्नुभयो । त्यति भनेपछि केही न केही त पक्कै छ भन्ने छनक पाइहालें । त्यहीमाथि म उहाँको श्रीमती हो । फोन आएको थाहा हुन्छ । सल्लाह गरेको थाहा हुन्छ । (हाँस्दै) म थाहा नपाए जस्तो गरेर बस्छु, सरप्राइज सरप्राइज नै होस् भनेर ।

– दिनभरिमा कति फोन र म्यासेज आए ?

धेरै आए । यति ठूलो परिवार हुनुहुन्छ । त्यहीमाथि अहिले त दुईवटा परिवार जोडिनुभएको छ । मेरो माइत अनि घर । दुईवटा घरबाट मात्रै फोन आउँदा पनि धेरै हुने रहेछ ।

मेरो एउटा के चाहना छ भने मेरो जति नै उमेर बढे पनि म सधैं असल भइराख्न पाउँ । सफल कतिको भएँ या भइनँ, त्यो म मापन गर्न सक्दिनँ ।

– श्रीमानबाट कस्तो उपहार पाउनुभयो ?

(हाँस्दै) यो चाहिँ नभनौं होला । म त्यसै पनि कन्ट्रोभर्सीमा परिराख्छु । फेरि यो भन्दा पनि कन्ट्रोभर्सीमा नै पर्नसक्छु । उहाँले राम्रो उपहार दिनुभएको छ । तर, हाम्रो क्षेत्रमा जे कुरालाई पनि कन्ट्रोभर्सी बनाउने भएकाले मलाई भन्नै मन लागेन । यो चाहिँ प्राइभेट राख्छु ल !

– अहिलेसम्म जन्मदिनमा पाएको सबैभन्दा बहुमूल्य उपहार के हो ?

मलाई मेरो जन्मदिनमा उपस्थित हुनुभएको सबैले दिएको आशीर्वाद बहुमूल्य लाग्छ । भौतिक कुरा भनेको मसँग आज भए भोलि नहुनसक्छ । तर, हरेक वर्ष मेरा अग्रज व्यक्तित्वहरुले मनबाट दिनुभएको आशीर्वाद जस्तो ठूलो उपहार मलाई केही लाग्दैन ।

– विगतमा फर्केर हेर्दा आफूलाई कत्तिको सफल व्यक्ति सोच्नुहुन्छ ?

मेरो एउटा के चाहना छ भने मेरो जति नै उमेर बढे पनि म सधैं असल भइराख्न पाउँ । सफल कतिको भएँ या भइनँ, त्यो म मापन गर्न सक्दिनँ । केलाई सफलता भन्ने त्योबारे म अनविज्ञ छु । अहिले मसँग भएको कुरालाई सफलता भन्ने या असफलता भन्ने त्यो पनि मलाई थाहा छैन । त्यसैले सफलता र असफलताको भिन्नता म छुट्याउन चाहन्न । बस, जिन्दगीमा सधैं सबैसँग असल व्यवहार गर्न पाइयोस् । कसैको मन दुःखाउन नपरोस् । उमेर बढेसँगै ममा परिपक्वता बढोस्, त्यही हो ।

– आफ्नै नजरमा तपाईंका ३ गुण र ३ अवगुण के के छन् ?

मलाई मेरो गुण र अवगुण एउटै हो जस्तो लाग्छ । म अलि फ्याट्ट बोल्छु, जुन गुण पनि हो अनि अवगुण पनि । म बाहिर कतै निस्किँदा अलि शान्त बस्न रुचाउँछु, त्यो पनि दुइटै भित्र पर्छ । अर्को कुरा भनेको मलाई झूट मनपर्दैन चाहे त्यो बाहिरको व्यक्तिको होस् या आफ्नोको । चाहे त्यो घरभित्रको होस् या बाहिरको । मलाई झूटको पक्ष लिन मनपर्दैन । यो पनि गुण र अवगुण दुवैमा पर्छ ।

– तपाईंले जीवनमा गर्नुभएको सबैभन्दा ठूलो गल्ती के हो ?

मैले अहिलेसम्म त्यस्तो ठूलो गल्ती केही गरे जस्तो नै लाग्दैन । मलाई के लाग्छ भने जुनबेला मैले जे गरें त्यो मेरो मस्तिष्कले जति भ्यायो त्यति गरें । ती बीचमा गल्ती भए होलान् । तर, ती गल्तीहरुले नै आज मलाई यति सक्षम बनाएको छ । गल्ती नगरेको भए मैले जिन्दगीमा अहिले सिकेको छु, त्यति पनि सिक्ने मौका पाउदिनँ थिएँ होला । हरेक गल्तीले एउटा शिक्षा दिन्छ । त्यसैले अगाडिका दिनहरुमा मैले गल्ती गरेको थिएँ भने पनि मलाई कुनै पछुतो छैन । त्यस्तो बिर्सनै नसक्ने गल्ती गरेको मलाई याद पनि छैन ।

हरेक गल्तीले एउटा शिक्षा दिन्छ । त्यसैले अगाडिका दिनहरुमा मैले गल्ती गरेको थिएँ भने पनि मलाई कुनै पछुतो छैन । त्यस्तो बिर्सनै नसक्ने गल्ती गरेको मलाई याद पनि छैन ।

– भगवान अचानक प्रकट भएर तीनवटा वरदान माग्न भन्नुभयो भने के माग्नुहुन्छ ?

पहिलो, मेरो माइत अनि मेरो घरको कुनै पनि सदस्यलाई कहिल्यै नराम्रो नहोस् । दोस्रो, म सधैं खुशी हुन पाउँ । मलाई कहिल्यै रोग नलागोस् । र तेस्रो, जानीजानी कहिल्यै पनि कसैको मन दुःखाउन नपरोस् वा मेरो मनमा पापको सिर्जना नहोस् ।

– भविष्यका योजनाहरु के के छन् ?

म त्यसरी जिन्दगीमा कहिल्यै योजना बनाएर हिँड्दिनँ । जे हुन्छ वा जे आइपर्छ त्यसलाई भोगौंला भन्ने लाग्छ । ‘गो वीथ द फ्लो’ टाइपको । अहिले जसरी काम गरिरहेको छु, भविष्यमा पनि त्यसरी नै सक्रिय र फुर्तीका साथ काम गर्न सकौं । त्यति हो ।

– सन्तानको योजना के छ ?

हाम्रो सोच के हो भने आमाबुवा भएपछि पूरै आमाबुवा भएर सन्तानलाई हेर्न पाऔं । अहिले उदीपजी आफ्नै काममा व्यस्त हुनुहुन्छ । म आफ्नै काममा व्यस्त छु । हाम्रो भेट नै बिहान कि बेलुका हुन्छ । हामीले एक-अर्कालाई नै समय दिन सकेको छैन भने सन्तानलाई कसरी दिने ? यस्तो समयमा बच्चा पाएर के गर्ने ? छोराछोरीले आमाबुवाको मुख नै मज्जाले देख्न पाएनन् भने के मज्जा ?

त्यसैले हामीले अहिले हैन, अलि पछि सन्तान जन्माउने प्लान गरिरहेका छौं । जब हामी समय निकाल्न सक्छौं, त्यसपछि ओके भन्ने सोचमा छौं ।

– सन्तानको लागि परिवारबाट कतिको दबाब आउँछ ?

विवाह भएपछि घरपरिवारमा सन्तानको चाह हुनु र दबाब आउनु स्वाभाविक रहेछ । (हाँस्दै) त्यही भएर अचेल म यस्ता कुराहरु सुने पनि नसुने जस्तो गर्छु । मेरो माइतबाट दबाब आउँदैन । घरमा चाहिँ कहिलेकाहीं भनिरहनुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *