अयोग्य लडाकुलाई राहत अकुत रकम जम्मा पार्ने माओवादीको नियत : राप्रपा प्रवक्ता श्रेष्ठ – Nepal Press

अयोग्य लडाकुलाई राहत अकुत रकम जम्मा पार्ने माओवादीको नियत : राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । अयोग्य लडाकुलाई राहत उपलब्ध गराउने सरकारको पछिल्लो निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले राज्यकोषमा सञ्चित रकमको अभाव भइरहेको बेला गरिएको यो निर्णयले अर्थतन्त्रमा दुरगामी असर पर्ने भन्दै आलोचना गरेका छन् ।

मन्त्रिपरिषद बैठकले यही सोमबार अयोग्य लडाकुलाई जनही २ लाख राहत दिन कार्यविधि बनाउने निर्णय गरेको थियो ।

प्रवक्ता श्रेष्ठले लडाकुहरूलाई विगतमा गरिएको अर्बौं भत्ता दुरुपयोग र पारदर्शी नभएको भन्दै माओवादी नेतामाथि प्रश्न उठिरहेको बेला पुरानो हिसाब नदेखाई फेरि ठूलो रकम वितरणले आर्थिक अराजकताको पराकाष्ठा भएको सामाजिक सञ्जालमा लेखेका छन् ।

अयोग्य भनिएका लडाकुको अभिलेखबारे प्रश्न उठाउँदै श्रेष्ठले लेखेका छन्, ‘प्रधानमन्त्री स्वयंले गृह र अर्थ मन्त्रालय सम्हालेको, सरकारमा एकजना बाहेक माओवादीका मात्रै मन्त्री रहेको, राप्रपाको फरक मतका बाबजुद संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा पेश गरेको सरकारले राज्यकोषमा सञ्चित रकमको डरलाग्दो ढंगबाट अभाव हुँदै गएको समयमा गरिएको यो निर्णयबाट अर्थतन्त्रमा दूरगामी असर पर्ने निश्चित छ ।’

उनले थपे, ‘अयोग्य भनिएका लडाकु को, कहाँ र कुन अवस्थामा छन् भन्ने एकिन हुनसक्ने अवस्था छैन र यसको अभिलेख पनि छैन । यो फेरि पनि कुनै पार्टी विशेषले अकुत रकम जम्मा पार्ने र हिसाब नदेखाउने विगतको अभ्यासकै निरन्तरताको दोस्रो भाग हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर