टुक्रे योजना र उपभोक्ता समिति निरुत्साहित गर्ने मुख्यमन्त्री शाहको दाबी – Nepal Press

टुक्रे योजना र उपभोक्ता समिति निरुत्साहित गर्ने मुख्यमन्त्री शाहको दाबी

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा यस अघि हुँदै आएका टुक्रे योजनामा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने बताएका छन् ।

सुदूरपश्चिम गाउँपालिका राष्ट्रिय महासंघको दोस्रो अधिवेशनमा मुख्यमन्त्री शाहले प्रदेशको विकासका लागि टुक्रे योजना नहाल्ने बताए । उनले उपभोक्ता समितिमार्फत भएका कामहरूमा बढि भ्रष्ट्राचार भएको भन्दै आगामी दिनमा प्रदेश सरकारले उपभोक्ता समिति मार्फत हुने कामहरू पनि निरुत्साहित गर्ने बताए ।

‘टुक्रे योजनाले प्रदेशको विकास हुँदैन । हामी त्यस्तो योजनामा बजेट खर्च गर्दैनौँ’ उनले भने ‘उपभोक्ता समिति मार्फत भएका कामहरूमा पनि धेरै गुनासा आएका छन् । उपभोक्ता समिति प्रथामा पनि हामी काम हुन नलिने योजनामा छौँ ।’

मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षबाट स्थानीय तहसँगको समन्वयमा आवश्यकताको आधारमा बजेट विनियोजन गर्ने लक्ष्य प्रदेश सरकारले दिएको जानकारी दिए ।

प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेश सरकार संघीय र स्थानीय दुवै सरकारसँग समन्वय गरेर अघि बढ्न चाहेको बताएका थिए । उनले प्रदेश सरकारले योजना निर्माण गर्ने र कार्यान्वयन स्थानीय तहले गर्ने गरि सरकारले योजना बनाइरहेको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले पनि अघिल्लो सरकारले गरेको राम्रो कामलाई निरन्तरता दिने र नराम्रो कामलाई निरुत्साहित गर्ने योजना सरकारको रहेको बताए । उनले योजना किनबेचको आरोप प्रदेश सरकारले धेरै झेलिरहेको भन्दै आगामी दिनमा त्यस्तो नहुने दाबी गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सबै गाउँपालिका प्रमुख र उपप्रमुख सहभागी भएका थिए । उनीहरुले प्रदेश सरकारसँग स्थानीय तहको सरकारको समन्वय निकै कम भइरहेको गुनासो गरे ।

कार्यक्रममा उपस्थित लम्की चुहा नगरपालिका प्रमुख सुशीला शाहीले जनताको आधारमा प्रदेशले बजेट विनियोजन गर्नु पर्ने बताइन् । विगतमा योजना किनेर ल्याएका थुप्रै घटना बाहिर आएको भन्दै उनले आगामी दिनमा यस्तो नगर्न समेत सरकारलाई अपिल गरेकी थिइन् ।

बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुवरले प्रदेश सरकारले उद्योग व्यवसायमा लगानी बढाउनु पर्नेमा जोड दिए । उनले उद्योग व्यवसाय मार्फत प्रदेश समृद्ध बनाउन सकिने बताए ।

दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर