तिलोत्तमा गोल्डकप : सेमिफाइनलको समीकरण पूरा, बुधबार सुदूरपश्चिम र थ्रीस्टार भिड्ने – Nepal Press

तिलोत्तमा गोल्डकप : सेमिफाइनलको समीकरण पूरा, बुधबार सुदूरपश्चिम र थ्रीस्टार भिड्ने

रूपन्देही । बुटवलमा जारी २२औं संस्करणको तिलोत्तमा गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । मंगलबार प्रतियोगिताको पहिलो चरणको खेल सकिएसँगै सेमिफाइनलमा भिड्ने टीमहरुको छिनोफानो भएको हो ।

प्रतियोगिताको सेमिफाइनलमा सुदूरपश्चिम– ११, थ्रीस्टार क्लब, फ्रेण्डस् क्लब र मनाङ मर्स्याङ्दी क्लब पुगेका छन् । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा शनिबार सुरु भएको २२औं संस्करणको तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा आयोजक रुपन्देही–११ लाई पराजित गर्दै सुदूरपश्चिम–११ सेमिफाइनलमा पुगेको थियो ।

सोही समूहमा रहेको थ्रीस्टार क्लबले हिमालयन शेर्पालाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

अर्को समूहबाट फ्रेण्डस् क्लब र मनाङ मर्स्याङ्दी क्लब विजयी भएका हुन् । फ्रेण्डस्ले सशस्त्र पुलिस क्लबलाई पराजित गर्दा मनाङ मर्स्याङ्दीले नेपाल पुलिस क्लबलाई पराजित गरेको हो ।

मंगलबार भएको खेलमा नेपाल पुलिस क्लवलाई मनाङ मर्स्य्याङदीले २-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

खेलमा मनाङका प्रशन्न श्रेष्ठले पहिलो हाफको ३२औं मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । चेतनकुमार थारुले पहिलो हाफकै अन्तिम समयमा टीमका लागि अर्को गोल थपे । पहिलो हाफमा २-० ले अगाडि रहेको मनाङले दोस्रो हाफको सातौं मिनेटमा गोल खाएको थियो ।

नेपाल पुलिसका बुद्धबल तामाङले एक गोल फर्काए । तर, उनको गोलले पुलिसलाई हारबाट जोगाउन सकेन ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम-११ र थ्रीस्टारवीच बुधवार प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा फ्रेण्डस् र मनाङबीच बिहीबार हुनेछ ।

बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भैरहेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ ।

गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिएको संघले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न बुटवल उपमहानगरले ३५ लाख दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *