पोखरामा करणसहित ४ राष्ट्रिय खेलाडी सम्मानित – Nepal Press

पोखरामा करणसहित ४ राष्ट्रिय खेलाडी सम्मानित

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले सिनियर राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहित ४ राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । मञ्च र एकेडेमीले करणसहित यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य सुभाष भण्डारी, अर्जुन कुमाल र दिपकराज डुम्रेलाई नगदसहित सम्मान गरेको हो ।

गत चैत २ गते सम्पन्न लिग टु क्रिकेटमा नेपाललाई क्वालिफायर राउण्डमा पु¥याउन भूमिका खेल्ने करणलाई मञ्चले नगद २० हजार, यू–१९ विश्वकपमा पु¥याउन भूमिका खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी, अर्जुन कुमाल र दिपकराज डुम्रेलाई जनही नगद ५ हजार नगद र सम्मानपत्रसहित सम्मान गरेको हो ।

पोखरा क्रिकेट एकेडेमीले चारै जना खेलाडीलाई जनही नगद ५÷५ हजार प्रदान गरी सम्मानित गरेको छ । डुम्रे भने सम्मान कार्यक्रममा उपस्थिति हुन सकेका थिएनन् । करण बागलुङ, डुम्रे नवलपुर, सुभाष र अर्जुन कास्कीका हुन् ।

मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले खेलाडीले आफूलाई अघि बढाउन अनुशासान संगै प्रशिक्षकहरुको निर्देशनलाई पालना गर्दै अघि बढ्नु पर्ने बताए ।

उनले खेलकुदको माध्यमबाट पोखरालाई पर्यटनको हवको रुपमा विकास गर्न पोखरा विमानस्थलको जग्गालाई क्रिकेट स्टेडियमको रुपमा विकास गर्न आवश्यक रहेको कुरा औल्याए । कार्यक्रममा पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बविन कुंवरले नेपालले प्राप्त गरेको सफलताले गौरवान्वित भएको बताउँदै खेलाडीको सम्मानमा आफूहरु सरिक भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर